coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कैदी–बन्दीलाई सीपमूलक तालिम

जिल्ला कारागार मनाङका कैदीबन्दीले दुईमहिने प्रशिक्षणका क्रममा बुनेका बस्ने मुढा। तस्बिरः नागरिक

लमजुङ– हिमाली जिल्ला मनाङको सदरमुकाम चामेबजारस्थित कारागारमा विभिन्न कसुरमा सजाय भोग्दै आएका कैदी–बन्दीलाई बाँस र निगालाका सामग्री बनाउने प्रशिक्षण दिइएको छ। कारागार बन्दी जीवन बिताउने ठाउँभन्दा बढी सुधारगृह भएकाले उनीहरूलाई आयमूलक काम गर्न सक्ने भएकाले प्रशिक्षण दिइएको हो।

जिल्ला घरेलु तथा साना उद्योग विकास समिति मनाङ र चामे गाउँपालिकाको सहकार्यमा कारागारमा बाँस, निगालोका सामग्री बनाउने दुईमहिने प्रशिक्षण दिइएको घरेलु विकास समितिका कार्यालय प्रमुख प्रदीप न्यौपानेले बताए। बस्ने मुढा, फूलदानी, निगालोको कुर्सी, टेबुलजस्ता सामग्री बनाउने प्रशिक्षण दिइएको उनको भनाइ छ।

सहभागीले निगालोबाट कुर्सी, टेबुल निर्माण गर्नुभन्दा बाँसकै मुढा र फूलदानीजस्ता सामग्री निर्माणलाई प्राथमिकता दिइएको कार्यालय प्रमुख न्यौपाने बताउँछन्। निगालोको तुलनामा बाँसका सामग्री निर्माण गर्न सहज, छरितो र बजारीकरणमा पनि सजिलो हुने हुँदा त्यसतर्फ उनीहरूको आकर्षण बढेको हुन सक्ने उनले बताए।

कारागारमा रहेका १६ जना कैदीबन्दीले विशेषगरी मुढा र फूलदानी बनाउने सीप सिकेका कारागारका चौकीदार सुधीर शाहीको भनाइ छ। अहिले भने केहीको जेल सरुवा गरिएकाले ११ जनाले कारागारमा सो सीपले आम्दानीसमेत गर्न थालिसकेका छन्।

चौकीदार शाहीका अनुसार कैदीबन्दीहरू आयमूलक सीप सिक्न पाएकोमा निकै खुसी भएका छन्। सजाय कटाइरहँदा वा कैद सजाय भुक्तान भएपछि पनि यो सीप राम्रो माध्यम हुने हुँदा उनीहरू खुसी भएको बताइएको छ। यसैबीच, बिहीबार कारागारमा औपचारिक कार्यक्रमका साथ प्रशिक्षण समापन गरिएको छ। चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै घलेले घरेलु कार्यालयले गाउँपालिकासँग समन्वय गरेर कैदीबन्दीलाई अत्यावश्यक सीप सिकाएकोमा खुसी व्यक्त गरे।

आगामी दिनमा स्वरोजगारमूलक, सीपमूलक र आत्मनिर्भर खालको तालिम गराउने विषयमा गाउँपालिकाको सधंै सहयोग रहने उनले बताए। कैदीबन्दीको मनोभाव र भविष्यप्रतिको चिन्ता गरेर घरेलु विकास समितिले नमुना कार्य गरेको समेत अध्यक्ष घलेले बताए।

सोही अवसरमा प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले आफ्नो कमजोरी र कसुर कटाएर फर्किंदा कारागारबाट जीवनपयोगी सीपसमेत लिएर जाने अवसर मिलेको बताए। सकारात्मक सोच र केही गरेर देखाउँछु भन्ने ऊर्जाका साथ आफ्नो काममा तल्लीन रहन र आम्दानी वृद्धि गर्न पनि प्रजिअ देवकोटाले कैदीबन्दीलाई आग्रह गरे।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक खड्ग खत्रीले पनि कारागारभित्र वा बाहिर गएपछि पनि सीपको सक्दो उपयोग गर्न सुझाव दिए। घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख न्यौपानेले सुरुमा ४५ दिनको प्रशिक्षण गराइएकोमा कैदीबन्दीको विशेष आग्रहमा थप गरी दुई महिनासम्म प्रशिक्षण गराइएको बताए।

कैदीबन्दीहरूको उत्साह देखेरै कार्यालयले सो अवधि थप गरेको उनले प्रस्ट पारे। कारागारमा उत्पादित सामग्रीको बजारीकरण र निर्माणका लागि आवश्यक सामग्री उपलब्ध गराउन कार्यालयका तर्फबाट भरपुर सहयोग गरिने उनले बताए। मनाङमा त्यस्ता सामग्रीको बजार राम्रो रहेको बताउँदै बजारीकरणमा समस्या नहुने समेत उनले बताए।

मनाङमा घरेलु विकास समिति र ग्रामीण विकास तथा अनुसन्धान केन्द्र काठमाडौं गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत चालू आवमा मनाङका चार सयभन्दा बढीलाई स्वरोजगार र आयमूलक सीपको प्रशिक्षण दिइने भएको छ। बाँस तथा निगालोका सामग्री बनाउने, कुकिङ, हाउस किपिङ, बेकरी, अचार बनाउने, होमस्टे गाउँमा फेब्रिक माला बनाउने, गुडिया तथा सजावटका सामग्री बनाउने, गलैंचा बुन्ने, ढाका बुन्नेजस्ता आम्दानी गर्न सक्ने सीप दिने क्रम जारी नै रहेको घरेलु विकासका कार्यालय प्रमुख न्यौपानेले जनाए।

प्रकाशित: ४ जेष्ठ २०७६ ०७:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App