ब्रिटिस ब्रोड कास्टिङ कर्पोरेसन अर्थात् बिबिसी संसारका हरेक मुलुकका लागि खबर प्रसारण गर्ने भरपर्दो र विश्वासिलो अन्तराष्ट्रिय संस्था हो। यसको प्रधान कार्यालय लन्डन सहरको मारिलिबोनमा छ। सही र तथ्य समाचार प्रसारण गर्ने संस्था भएकाले संसारका हरेक नागरिकलाई सूचनाको हक प्रदान गरेको छ। ख्यातिप्राप्त रेडियो पत्रकारहरू यो संस्थामा सेवा गर्छन्। संसारका हरेक देशका ताजा घटनालाई यथाशीघ्र सुसूचित गर्ने हुँदा बिबिसी खबर सुन्नेहरूको संख्या बढ्दो छ।
निष्पक्ष, निर्भीक र वस्तुपरक खबरका लागि ख्यातिप्राप्त पत्रकारहरूद्वारा सम्पे्रषित खबर नै आधिकारिक हुन्छ भन्ने मान्यता रही आएको छ। यसका लागि बिबिसी अग्रपंतिमा आउने हुँदा यो संस्था सूचना बुझ्ने र पाउनेहरूका लागि निजी संस्था जस्तै लाग्ने गर्छ। त्यसपछि सिएनएनलगायतका न्युज हाउसहरू पर्छन् जस्तो मलाई लाग्छ। लन्डन पुगेपछि केही ऐतिहासिक दर्शनीय स्थलहरू पुग्नुपर्छ भन्ने मेरो रहर थियो। जसमध्ये यो समाचार–घर पनि एक हो। गत कात्तिक २३ गते आइतबार छोरा सुश्रुतले साइत जुराएर यो ठाउँमा पुर्याएर सम्झनलायक काम गर्यो।
बिबिसीप्रतिको मोह
विद्यार्थीकालमा बिबिसी खबर हामी सबैका लागि अनिवार्य बौद्धिक मसला थियो। २०३५/३६ सालका विद्यार्थी हामीले त्यसबेलाको राजनीतिक परिवर्तनका लागि देशमा आन्दोलन गरेका थियौं। बिबिसीका त्यसबेलाका नेपाल संवाददाताले खबर पठाउँथे। त्यही खबर हामी दिनहँजसो सुन्थ्यौं। त्यसबेलाका वरिष्ठ पत्रकार मणि राणाको समाचार पठनशैलीले अझ सुनौं सुनौं लाग्थ्यो।
जनमत संग्रहताका समाजवादी नेता बिपी कोइरालाको आवाज र संक्षिप्त विचार सुन्न पाएका थियौं। यसैगरी २०४५/४६ सालको ऐतिहासिक जनआन्दोलनताका बिबिसीले हिन्दी भाषामा ‘हिमालयको गोदमे बैठा हुवा नेपालका ताजा खबर’ भनेर खबरहरू सविस्तार सुनाउने गर्थ्याे। तत्कालीन राजा वीरेन्द्रले संवैधानिक राजसंस्थाअन्तर्गत रहेर बस्न राजी छौं भनेर बिबिसीमा आवाज सुनाएको थियो।
सर्वोच्च कमान्डर गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको आवाज पनि सुनेको थिएँ। वामनेत्री स्व. साहना प्रधानले पनि जनआन्दोलन सफल भएपछि संक्षिप्त मन्तव्य संवाददाता भागीरथ योगीसँग दिनु भएको पनि याद छ। त्यसपछि रविन्द्र मिश्र, सुमन खरेलद्वारा प्रेषित खबरहरू पनि मेरो रोजाइका विषय थिए।
२०५२ सालमा रेडियो नेपालको घटना र विचार कार्यक्रममा सञ्चालक पुरुषोत्तम दाहालसँग काम गर्दा बिबिसी खबर अझ बढी सुन्ने गर्थें। घटना र विचार कार्यक्रम त्यसबेला वास्तवमा नेपालको बिबिसी खबरजस्तै निकै लोकप्रिय थियो। सञ्चार जगत्ले निकै फड्को मारे पनि बिबिसी सुन्ने मानिसको संख्यामा कमी आएको छैन। यसप्रतिको मोह बढ्दो छ।
लन्डनमा तीन महिना बस्दा सुश्रुतले सकभर बिबिसीको अंग्रेजी खबर छुटाउँदैन। बाबुको यो बानी मलाई साह्रै मन पर्यो। २०४२ सालको सत्याग्रहका बेला कारागार जीवन बिताउँदा होस् या २०४६ सालको जनआन्दोलन होस्, यसैगरी २०६२/६३ सालको जनआन्दोलनमा थुनिँदा किन नहोस्, सही समाचार सुन्नका लागि बिबिसी नै मेरो सच्चा साथी बन्यो। काठमाडौंमा बस्दा यदाकदा टलिभिजनमा बिबिसीको खबर सुन्दै आएको छु।
नोभेम्बर ११ को सम्झना
समाज परिवर्तनका लागि विश्वका हरेक मुलुकमा विविध घटनाहरू घटे। बेलायत र अमेरिकालगायत मुलुकमा पनि घटनाक्रम घटे। प्रथम र दोस्रो विश्वयुद्धताका लाखौं मानिसले ज्यान गुमाए, कैयौं सैनिक सहिद भए। तिनै वीर योद्धाको सम्झनामा बेलायत सरकारले प्रत्येक वर्ष नोभेम्बर ११ का दिन बिहान ११ बजे एक मिनेट मौनधारण गर्छ। यतिसम्म कि एयरपोर्टमा पनि एक मिनेटका लागि जहाजहरू बन्द हुन्छन्। सैनिकहरूको हार्दिक सम्मानका लागि ११ नोभेम्बरको ठिक अगाडिको आइतबार बेलायतका मुख्य मुख्य ठाउँमा रहेका सैनिक सालिकमा सैनिकहरूले पुष्पगुच्छा अर्पण गर्ने गर्छन्।
लन्डन ब्रिजअगाडि रहेको बेलायती महारानीको ऐतिहासिक दरबार प्राङ्गणमा पनि सहिदको सम्झनामा पुष्पगुच्छा अर्पण गर्ने परम्परा रहेछ। बिबिसीको प्राङ्गण पुगेपछि हामी बाबु, आमा र छोरा त्यहाँ पनि पुग्यौं। यसबारे अर्को लेखमा चर्चा गर्नेछु।
बिबिसी प्राङ्गणको दृश्य
छुट्टीको दिन परेकाले गाडी पार्किङ गर्न त्यति गाह्रो परेन। उत्तरतिरको एक खाली ठाउँमा पार्किङ गरेर पैदल नै बिबिसीको कार्यालयतिर लाग्यौं। दक्षिणी मोहडामा फैलिएको सो ऐतिहासिक सिसाको भवन हतारले गन्दा आठ तलाको थियो। मूल ढोकामा सुरक्षाकर्मी थिए। जसमध्ये राजस्थान भारतको मलेका चौहान नामकी बहिनी पनि सुरक्षाकर्मीको पोसाकमा थिइन्। उनको अंग्रेजी लवज सुनेर र अनुहार देखेर तपाईंको घर भारत या पाकिस्तान हो? भनी सोधेँ। अनि थप जानकारी प्राप्त भयो। उनका अनुसार भित्र पस्नका लागि दुई महिना पहिले नै सूचना गर्नुपर्छ रे। साथै बिबिसीको संवाददाताको कार्ड भए भित्र जान पाइहाल्छौ भनिन्। त्यो प्रशासनिक भवन हो।
त्यसको पश्चिम दक्षिणमा अर्को टासिएको त्यस्तै भवन छ, उत्तरी मोहडामा फर्किएको जुन रेडियो, टेलिभिजन र समाचार सम्पादन कक्षको भवन रहेछ। त्यहाँ पनि सुरक्षाकर्मीले पहरा दिइरहेछन्। अक्षर आउने गरी सबै ठाउँका तस्बिर पनि लियौं। सुरक्षाकर्मीसँग लिन खोज्दा जताततै सिसिटिभी जडान छन्, हुन्न, जागिर जान्छ भन्दै थियो एसियन मूलको जस्तो देखिने सो ३५, ४० वर्ष उमेरको जस्तो देखिने सुरक्षाकर्मी। त्यस दिनको मौसम केही बदली थियो, हावा चलेको थियो तर जिज्ञासाले भरिएको यो मनमा गर्मी बढेको थियो। पश्चिम र दक्षिणमा पनि भित्तामा प्रस्ट देखिने गरी बिबिसी बिल्डिङ लेखिएको थियो। जताततै सुरक्षाकर्मी खडा थिए।
भुइँमा राष्ट्रका नामहरू
भवनअगाडिको आँगन मसिनो स्लेटले मिलाएर छापेको थियो। टेक्दाखेरि मैलो लाग्लाजस्तो सफा थियो। ती स्लेटमा विश्वभर बिबिसीका स्टेसनहरू जडान गरिएका देश र ती देशका ठाउँहरूको नाम लेखिएको रहेछ। सुरुमा कुल्चिँदा लेखेको होला? जस्तो लागेको थियो पछि मलेका चौहानलाई सोध्दा उनले यी कुरा जानकारी गराइन्।
सुश्रुतले पहिले नै यसबारे अनुमान गरेको रहेछ। मूल ढोकाअगाडि जापानको होकाइडो त्यसपछि माइल्यान्ड, बेबियार, पोर्टमोरियान, वाइल्सलगायतका देशका र ती देशका बिबिसी स्टेसन भएका ठाउँहरूको नाम प्रत्येक स्लेटमा स्पष्ट रूपमा लेखिएको देख्यौं। नेपाल कहाँ होला? भनी हेर्दै जाँदा पूर्वउत्तर फर्केको भवनको दाहिने साइडमा ‘काठमाडौं’ लेखेको रहेछ।
‘माटो भन्नु मुटु रै’छ’ भनेझैं काठमाडौं लेखेको छेउमा बसेर हामीले तस्बिर लियौं। आहा! मेरो नेपाल, हाम्रो देश, प्यारो राजधानी काठमाडौं, कति माया लाग्दो रहेछ। सबै राष्ट्रका ठाउँमा नामहरूमध्ये ४२ स्थानका नाम त गनेँ, गन्न बाँकी नै रहे। कस्तो नौलो तरिका? पत्रकारहरूको सोचाइको स्तर कति माथि रहेछ? अझ बिल्डिङभित्र पुगी अवलोकन गर्न पाए नयाँ नयाँ कुरा देखिने रहेछन् जस्तो लाग्यो।
स्रष्टाप्रतिको सम्मान
उत्तरतिरको बिल्डिङको भित्तानजिकै र दक्षिणतिरको बिल्डिङको ठिकअगाडि कवि ‘जर्ज अर्वेल’को पूर्णकदको सालिक छ। उनी कुन मुलुकका कवि या दार्शनिक विचारक हुन्? त्यहाँ उल्लेख गरेको छैन।
प्रजातन्त्रको जननी बेलायतको माटोमा सिर्जना उम्रेका छन्। विचारहरू बाँढिएका छन्। घरका भित्तामा इतिहास कुँदिएका हामी पाउछौं। यहाँ सबै थरी स्रष्टाहरूलाई हेर्ने दृष्टिकोण सम्मानजनक छ। यही सम्मानको व्यवहार पाउनका लागि विश्वका कवि, कलाकार, लेखकहरू बेलायतमा बर्सेनि ओइरिने गर्दा रहेछन्। बिबिसी आँगनीअगाडिको यो सालिकले यही कुरा दर्साउँछजस्तो लाग्यो। म जहाँ जहाँ पुगेँ, आवश्यक परेको खण्डमा आफ्नो परिचय दिँदा ती व्यक्ति र संस्थाले गरेको सम्मान साच्चिकै मर्यादित थियो।
अझ सरल ढंगले प्रस्तुत हुँदा हृदयदेखि नै माया दर्साउँछन् उनीहरू। ती व्यक्तिको सालिक अगाडि बिबिसीको बिल्डिङको भुइँमा उभिएर मेरो जन्मभूमि सुदूरपश्चिमको लोकभाका देउडागीतका केही हरफ गाएँ, आफूलाई धन्य सम्झेँ।
बिबिसीका प्रबन्धक र समाचार प्रमुखको राजीनामा
घटना भनौं या परिघटना, एउटा राजनीतिक समाचार सम्प्रेषण गरेबापत यो संस्थाका प्रबन्धक टिम डारिएले त्यही दिन राजीनामा दिनुपर्यो। विगत २० वर्षदेखि उनी यो संस्थाको प्रबन्धक भएर सेवा गरेका रहेछन्। सन् २०१९ ताका अमेरिकी राष्ट्रपतिले वासिंटन डिसीस्थित क्यापिटल बिल्डिङमा युवाहरूलाई भड्काएर तोडफोड गर्न लगाएको आरोप लगाएको थियो। सोबारे अमेरिकी अदालतमा उजुरी पर्दा तत्कालीन राष्ट्रपति निर्दोष ठहरिएका थिए।
यही समाचारलाई केही परिमार्जन बिबिसीले प्रसारण गरेको रहेछ। समाचार परिमार्जन गरेको विषय पाँच वर्षपछि बाहिरियो। त्यही कारण नैतिकताका आधारमा प्रबन्धक टिम डारिएले दिउँसो सवा एक बजे पदबाट राजीनामा दिएछन्। साथै समाचार प्रमुख डेबोराले पनि त्यही पदबाट राजीनामा दिएछन्।
यो खबर साढे दुई बजे लन्डन ब्रिज र दरबार घुम्ने क्रममा अगाडिको आँगनमा घुम्दा छोरा सुश्रुतले थाहा पाएछन् र हामीलाई जानकारी गराए। संस्थाको मर्यादा कायम गर्न जिम्मेवार व्यक्ति कति इमानदार हुन्छन् भन्ने कुरा बेलायतको पत्रकारिताको घटनाले पुष्टि गर्छ।
नोभेम्बर ९ तारिक अर्थात् कात्तिक २३ गतेको यो बिबिसी भवन घुम्दाको घटनाले दिमाग घुमाएको जस्तो भएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पलाई पत्रकारका दुस्मनको संज्ञा दिन्छन्, कतिपय पश्चिमा बौद्धिक वर्गहरू।
बिबिसी भवन वरिपरिको दृश्य
यो ऐतिहासिक र विश्वको सार्वजनिक सूचना प्रवाहको संस्थाको ठिक अगाडि अग्लो टावरमा घण्टाघर देखिन्छ। हामी त्यहाँ पुग्दा दिनको १ बजेको थियो। भवनको पश्चिमतिर बिच सडकमा दुई जना बालबालिकासहितको प्रथम विश्वयुद्ध १९१४–१९१८ र दोस्रो विश्वयुद्ध १९३९–१९४५ लेखिएको शिक्षाविद् ‘क्युनिटन हग’को आकर्षक सालिक छ। त्यो सालिकको पश्चिममा ठुलो भवनको छानामा झन्डा फहराइरहेको हाई कमिसन अप कान्या लेखिएको कार्यालय देखिन्छ।
पूर्वतिर ब्रिटिस टेलिकमको बडेमानको कार्यालय टाढैबाट देखिने गरी उभिएको छ। उत्तरतिर चौडा सडक छ, बिबिसी बिल्डिङ लेखिएको देखिन्छ भित्तामा। जहाँ काठमाडाैं कोटेश्वर घर भएकी बहिनी सुजिता सन्जेल स्वागतकक्षमा देखा पर्छिन्। लघुसुची गर्ने क्रममा उक्त होटलभित्र प्रवेश गर्दा उनीसँग परिचय भयो। बिबिसी कार्यालय जाने मेरो अभिलाषा छोराले पूरा गरिदियो। त्यसपछि साढे दुई बजे हामी लन्डन ब्रिजको पूर्वी भाग घुम्न गयौं।
प्रकाशित: २७ मंसिर २०८२ ०७:०३ शनिबार





