सोचिरहन्छु
आफ्नै रगतले सिँचेका
आफैंले प्राण भरेका
सन्तान अनि घरपरिवार छाडी
एक्लै यात्रामा निस्कनेहरू
कहाँ जान्छन् होला?
सबैसबै छाडी सुटुक्क जाने
त्यो ठाउँ कस्तो होला?
सबै भन्छन्
देवलोक गए
स्वर्गलोक गए
सोचिरहन्छु
स्वर्गमा घर कस्तो होला?
आँगन कस्तो होला?
देवदेवी रहने
त्यो देवलोक कस्तो होला?
भन्छन्
स्वर्णिम फूलहरूको बगैंचा हुन्छ
अप्सराहरूको राज्य हुन्छ
सोचिरहन्छु
प्रियजन नै छाडेर जाने
प्रियजनको याद नै बिर्साइदिने
त्यो राज्य कस्तो होला?
त्यो जीवन कस्तो होला?
गुरुङ शास्त्र भन्छ
एक थोक छरी नौ थोक फल्ने
बिहान रोपे साँझ फल्ने
सुखै सुख
र
आनन्दै आनन्दको लोक ‘सिमी नासा’
शान्ति र आनन्द मात्रै हुने
साँच्ची, त्यो लोक कस्तो होला?
सोचिरहन्छु
छाडी जाने आफ्नाको पीडामा
रोईरोई थाकेका
सिकिस्त आँखा
बिछोडको प्रहारले
कलेटी परेका ओठ
काँचुली फेर्न नसकेको
खुसी
माया,ममता, मानप्रतिष्ठाको
बेपर्वाह गर्दै
एकपटक पनि फर्केर नहेर्ने
त्यो लोक कस्तो होला?
एकपटक पनि फर्केर नआउने
त्यो लोक कस्तो होला?
प्रकाशित: ७ भाद्र २०८२ ११:५५ शनिबार





