२६ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
कला/साहित्य

कस्तो घाम लाग्ला नयाँ सडकमा शुक्रबार

कविता

टीका लगाउन बिर्सेकी

प्रौढा पिपलबोट

इतिहासका पानाले हम्कन्छे

उदास नयाँ सडकलाई

नयाँ सडक

भाँचेर औँला

साँचेर बाचा

पात्रोमा खोज्छ सुखद् शुक्रबार

कस्तो घाम लाग्ने हो

नयाँ सडकमा शुक्रबार

एक पुरानो भवन

आङमा घामको स्पर्श छैन

उता इलाम, भोजपुरबाट

एक मुठी न्यानो ल्याइदिनू

नयाँ सडकले घाम ताप्छ।

हरदिन नयाँ सपना देख्छ–

नयाँ सडक

उसको निधारमा कुन भावीले लेखिदियो

हर दिन नयाँ जुत्ताले– 

सेता÷काला जुत्ताले टेकिनुपर्ने नियति,

जुत्ताका चापलाई

सङ्गीतमा अनुवाद गरेर

बाँचेको छ पिपलबोट

साँचेको छ सपना

आउँदो शुक्रबार

कस्तो घाम लाग्छ नयाँ सडकमा

पिपलजस्तै निलो, हरियो भएर

उदाइदिनू घाम

हर घाममा बाँचेर

सास फेर्छ नयाँ सडक

एउटा पुरानो सालिक–

उभिन्छ, नयाँ सडकमा

इतिहासको लम्बुकोट भिरेर

हुन सक्छ, शुक्रबारको घाममा

सालिक मुसक्क हाँस्छ!

आहा, पूर्वको घाम कति न्यानो!!

प्रकाशित: २६ वैशाख २०८३ १३:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App