६ जेष्ठ २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

‘युङफ्राउ’ भित्र यात्रा गर्दा

पुस्तक

साहित्यकार कृष्ण बजगाईंद्वारा रचित युङफ्राउ नियात्राको प्रकाशनको निम्तो आको दिनबाटै मेरा मनमा युङफ्राउबारे कौतुहलका लहरहर तरङ्गित भई रहेका थिए। जीवन, जगत र इतिहास र यी तीनवटै आयाममा आफ्नो अन्तरमनको चेतनाबाट प्रष्फुटित सन्देश प्रवाह गर्ने उहाँको साहित्यिक धारबाट म परिचित नै थिए। युङफ्राउमा पनि त्यही त्रिकोणात्मक आयामभित्रको उनको सन्देशको रसस्वादन गर्न म उत्साहित हुँदै एकाविहानै पद्मकन्या क्याम्पस बागबजारको सभाहलमा पुगेको थिएँ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा हुर्केको र यसको यसको भौगोलिक परिवेशको छाप हुन सक्दछ लेखकले स्वीट्जरल्याण्डको सर्वोच्च शिखर युङफ्राऊलाई आफ्नो नियात्राको सुमेरु पर्वत बनाउनु भएको छ र आफू कार्तिकेय कुमार झैं युङफ्राउ पर्वतको वरीपरी कल्पनारुपी मयुमार शयर गरिरहनुभएको छ। गणेशले व्यासका भावनाहरुलाई जयमा उतारेझैं वहाँले कल्पनारुपी सृजनाहरुलाई पुस्तककारमा सुन्दर वाक्य प्रवाहमा राख्नु भएको छ।

युङफ्राऊमा २७ वटा अध्याय छन्। एक्रोपोलिसमा एक विहानदेखि आरम्भ भई नेक्रोपोलिसमा एक साँझसम्म गएर नियात्रा टुंगिन्छ। एक्रोपोलिसको अर्थ सृष्टिसँग जोडिएको छ भने नेक्रोपोलिसको अर्थ मसानघाटसँग जोडिएको हुन्छ। एक्रोपोलिसमा विहानको वर्णन छ अनि नेक्रोपोलिसमा साँझको वर्णन छ । सृष्टि, स्थिति र प्रलयको चक्र यही हो। मानिसको जीवनचक्र र नियात्रा चक्रको नियम विहान, मध्यान्ह हुँदै सन्ध्याकालमा नियात्राले पनि विश्राम लिएको छ।

वर्तमान आधुनिक ज्ञानको जग प्राचीन ग्रीस हो। जुन दिन ग्रीसले आफ्नोपन त्याग्यो, त्यही दिन ग्रीसको आधिपत्य गुम्यो। ग्रीसले आफू को भन्ने बिर्से पनि पश्चिमी विश्वविद्यालयहरूले ग्रीसको ज्ञानको गुरुकूललाई अझै बिर्सिका छैनन्। एक्रोपोलिसमा एक विहानमा वर्णित देवस्थल, देव, तिनका खण्डहर र खण्डहरसँग जोडिएका वैभवशाली इतिहासको जुन जीवन्त वर्णन छ, त्यसले पाठकलाई दुई हजार वर्ष अघिको ग्रीस, इसाई धर्मविस्तार युग र मुस्लिम विस्तारका यी कालखण्डहरुमा शयर गराइदिन्छ।

शब्दको व्युत्पत्ति हेर्दा ग्रीक भाषा र संस्कृत भाषा फरक लिपिमा लेखिएका दुई भाषा हुन् जस्तो लाग्छ। एथेनाको संस्कृत नाम स्वस्थानीसँग तुलना गर्ने थुप्रै आधार छन्। पार्थियन पृथा अर्थात् पृथुपूत्री पृथा अर्थात् कुन्तीसँग तुलना गर्न सकिन्छ दुवै कुमारी आमामा रूपमा।

कवि र लेखकहरूले अरूले भन्दा धेरै पहिले र धेरै टाढासम्म देख्छन्। नेपाली मन्दिरहरू पनि कालान्तरमा ग्रीसका देवस्थलहरूझैं खण्डहरमा परिणत हुने खतरा लेखकले औल्याउनुभएको छ।  नेपालको भविष्य पनि पनि त्यही दिशामा जान थालेका  संकेत प्राप्त हुन थालेका छन्।

लेखकसँगै म पनि डायोनाइसिसतिर लम्किन्छु। पुस्ताले बडो आस्था र विश्वासका साथ खडा गरेका महान् आस्थाका धरोहरहरू पछिल्ला पुस्ताहरूले ध्वस्त गरेका विकराल परिदृश्यहरूको विशद् वर्णन छ दोश्रो अध्यायमा छ। विश्वको रङ्गमञ्च, नाटक, थियटर र नाट्यशास्त्रसँग सम्वन्धित अनेक तथ्य, तथ्यांकहरू यस नियात्रामा छन्। थियटरको प्रसङ्ग वरिपरि ग्रीक देव डायनाइसिससँग जोडिएका थुप्रै विषय, प्लेटोको कला सम्वन्धी अवधारणा र दृष्टिकोण लगायत नाटकको इतिहास सम्वन्धी जिज्ञासाको पनि उत्तर भेटिन्छ, यस अध्यायमा। ओडियन अफ हेरोड एटिक्सको वर्णनले पाठकलाई करिव २ हजार वर्षअघि त्यही बसेर नाटकको रसस्वादन गरिरहेको अनुभूति दिन्छ। पाठकलाई लेखकसँगै बगाउने गजवको अद्भूत कलाको प्रयोग राम्ररी भएको छ यस दोस्राे अध्यायमा पनि।

तेस्राे अध्यायमा लेखकले पाठकहरूलाई ओलम्पस पर्वतमा पुर्‍याउनुभएको छ। द्वादश आदित्यको झल्को दिने ग्रीस देवगणबारे लेखकले प्राचीन ग्रीसको धर्म परम्परासँग पाठकलाई यसरी आफैसँग डोर्‍याएर लैजानुभएको छ। ग्रीस र रोमन साम्राज्यको अन्तरघुलन र ग्रीस सभ्यताको विकासको चरमोत्कर्ष कालको वर्णन यस अध्यायमा छ जहाँ सामुहिक स्नान गृहको पनि मनग्य चर्चा छ।

हाइस्कुल पढ्दा सुकरातबारे थुप्रै गाथा र कथा कण्ठस्थ गरिएका थिए। हेमलक नामक विष पिएर भौतिक जीवनभन्दा विचार प्रधान हो भन्ने सन्देशवाहक सुकरातलाई थुनेको जेलभित्र चियाउँदाका वर्णनहरूले पाठकहरूलाई सुकरातबारे रहेका आधाअधुरा कहानीबाट माथि उठाएर सुकरातको वास्तविक परिचय दिएको छ। सुकरात के कस्ता थिए भन्ने थुप्रै तर्कवितर्क समाजमा विद्यमान छन् तर युङफ्राउले सुकरातबारे त्यत्ति बेलैको समाजको एक सदस्य जस्तो भएर बुझाउन सकेको छ। लेखकको लेखकीय क्षमता भनेकै यही हो कि उहाँले तपाईलाई कहिले ग्रीसमा पुर्‍याउनुहुन्छ, कहिले २ हजार वर्षअघि, कहिल्यै ३ हजार वर्षअघि। सुकरात ताल्कालीन परिवेश र घटनाक्रम, स्थान वर्णनलाई यति जीवन्त रूपमा प्रस्तुत गरिएको छ कि म पनि कृष्ण बजगाईं बन्धुसँग छेउमा उभिएर सुकरातलाई अनुभव गरिरहेको छु।

ग्रीसको गुरु शिष्य परम्पराका तीन प्रवाह सुकरात, प्लेटो र एरिस्टोटल हुन्। गुरु र शिष्य भए पनि यी तीन दार्शनिकले आफ्नै मत प्रतिपादन गरेका छन् जो गुरुसँग मिल्दैनन्। पूर्वीय गुरु शिष्य परम्परा अलि पीडादायी, अहंकारमिश्रित र कतै कतै पूर्वाग्रही र संकुचित देखिन्छ। पूर्वीय गुरु शिष्य परम्परामा गुरु बढी क्रुर देखिन्छन् तर ग्रीस परम्परामा त्यो छैन। नियात्रामा अरस्तु अर्थात् एरिस्टोटलका कार्यहरू, दर्शन, घटनाक्रमहरूलाई सटिक र  ठोस रूपमा प्रस्तुत गरिएको छ।

अरस्तुका इतिवृत्तान्त बुझ्न अन्त कतै जानु नै पर्दैन युङफ्राउ पढे पुग्छ। वर्तमान आधुनिक विज्ञानमा अवलोकन, वर्गीकरण र सूक्ष्म अनुसन्धानका प्रणेताका रूपमा उनको ख्याति छ। अरस्तुको लाइसियममा लेखकले एक चक्कर लगाइरहँदा त्यहाँको पुस्तकालय, व्यायामशाला, पाठशाला र प्रवचन कक्षतिर पुर्‍याइदिन्छ। लाग्छ, पाठकहरू अरस्तुका पछि पछि प्रस्थान गरिरहेका छन्। फेरि दर्शन आफैँमा जटिल विषय हो। दर्शनलाई सर्वसाधारणमा बुझाउन दर्शनलाई भित्रैदेखि मर्मसहित बुझेको अध्यताले मात्र सक्दछ। ज्ञानको जति गहिराइमा पुग्यो त्यत्ति नै लेखकले पाठकलाई सरल भाषामा बुझाउन सक्छन्। लेखकले अरस्तुका दर्शनहरूलाई यति सरल भाषामा बुझाउँदै गर्दा सजिलै अनुमान लगाउन सकिन्छ कि अरुस्तुलाई कति गहिराइमा गएर लेखकले बुझ्नुभएको रहेछ भन्ने।

यसपछि लेखकले एथेन्सका देवताका छिमेकीतर्फ पनि आफ्ना पाठकलाई कौतुहल बनाउँदै आफैँसँग डोर्‍याएर लैजानुभएको छ। एथेन्सका देवताका छिमेकीको चर्चा गर्दै बेलायती लेखक लर्ड वायरनका रणनीतिक पक्षहरूलाई लेखकले उजागर गर्नुभएको छ। आफ्ना पाठकलाई एकैचोटि वर्तमान ग्रीस, प्राचीन ग्रीस र काठमाडौंका गल्लीहरूमा एकैचोटि घुमाउन सफल हुनुभएको छ युङफ्राउका लेखक। विभिन्न आक्रान्ता खेपेर खडा गरेका चोरासिक स्तम्भबारे पाठकलाई यथार्थ जानकारी छ। जसरी अबाेध बालक यात्रामा जाँदा हरेक नयाँनयाँ पाइलामा उत्साहित हुँदै जान्छ, यसरी नै लेखकले हरेक अध्यायमा पाठकलाई लेखकीय कला सृजित गुरुत्वाकर्षणबाट तान्दै जानुभएको छ।

अगोरा शब्दले सम्मिलन भन्ने अर्थ राख्दछ। ग्रीस सभ्यताको एउटा स्तम्भ अगोरा पनि हो। पाँच हजार वर्षको इतिहास छ, यस परम्पराको। एथेना देवीको जग, पानाथेरिया, पानाथेनाइन रङ्गशाला द स्टोना अफ एटालोस, चर्चमा परिणत हेफिएरस मन्दिरका कथा व्यथा र वेदनासँग पाठकलाई साक्षात्कार गराउँदै लेखकले पाठकलाई सम्राट हेड्रियन लाइब्रेरी र गेटतर्फ लैजान्छन्। विजेता रोमन सम्राटले ग्रीस जनतालाई शिक्षित बनाउन भव्य पुस्तकालय निर्माणको प्रसंग छ। शिक्षित जनता नै शासनका बलिया खम्बा हुन् भन्ने मान्यता पश्चिमी संसारमा छ तर जनतालाई जति अन्धकारमा राख्यो त्यत्ति शासन लम्बिने विकृत अभ्यासमा पूर्व छ तर जनता जति अशिक्षित हुन्छन् तिनलाई बाहिरियाहरूले बहकाउन त्यत्ति नै सजिलो हुन्छ र शासनको आयु घट्छ भन्ने हेक्का पूर्वले कहिल्यै राख्न सकेको छैन। पुस्तकालय खोल्न प्रतिबन्ध लगाइने मुलुकमा त्यस्ता सम्राटको प्रसङ्ग भेट्दा लेखक आफैँ पनि छक्क परेका छन्। ग्रीसमा इसाई पन्थ प्रवेश गरिसकेपछि यी सबै अभ्यास र चरित्रहरू हराउन पुगे।

ग्रीसका अन्य धरोहर जस्तै गरी इसाई र इस्लामको प्रवेशले ध्वस्त गर्‍याे। ग्रीस पश्चिमी विश्वविद्यालयका कक्षाकोठा र पुस्तकालयमा मात्र अस्तित्वरत हुन पुग्यो। खण्डहरहरू हेर्न त ग्रीसमा त्यत्रो भीड छ भने ती धरोधरहरू साँच्चै नै जीवन्त रहेको भयो ग्रीसमा कत्रो भिड लाग्थ्यो होला। लेखकले यसतर्फ सङ्केत गर्नुभएको छ।

सिन्टाग्मा स्वायरमा रमझममा लेखकले आधुनिक ग्रीस  र प्राचीन ग्रीसको संगम चोकको रोचक वर्णन गरेका छन्। सुकरात, प्लेटो, अरस्तु र अलेक्जेण्डर दि ग्रेट जन्मेको स्थान पो रहेछ त्यो। भन्छन् कुनै माटोमा धेरै महानले पाइला टेक्छन्। राजा ल्याएको र फालेको प्रसंग पनि छ त्यहाँ तर राजा ल्याएकोमा लेखक त्यत्ति सन्तुष्ट देखिँदैनन्। वास्तवमा यो चोकको नाम संविधान चोक रहेछ।

ग्रीसले बिर्से पनि युरोपले जोगाइदिएको अर्को ग्रीस इतिहास हो ओलम्पिक खेल। आजभन्दा २६ सय वर्ष पहिलेका इतिहास छ ओलम्पिक खेलको। लेखकले त्यहाँ घुम्दा ओलम्पिक खेलको शुरूवात, प्रतिबन्ध, पुनरोदयको मात्र वर्णन गरेका छैनन् परन्तु पाइथेनाइक रङ्गशाला र एथेना देवीको पुजाको खुसीयालीमा खेलकुद कार्यक्रमको आयोजनाको रोचक प्रसंग पनि छ।

प्रिमिथियसले स्वर्गबाट आगो ल्याएर मानव सभ्यतामा नयाँ युग ल्याएको अवसरमा ओलम्पियामा उत्सव मनाउन थालेको प्रसंग छन्। ऋग्वदेको पहिलो ऋचा नै अग्निको आह्वानमा छ। हेरादेवीका मन्दिरमा सूर्यको किरणबाट महिलाले मात्र अग्नि प्रज्वलित गरी पूजा गर्ने परम्पराको निरन्तरता नै ओलम्पिक टर्च भएको, वाणिज्य सीमाना, सडक, यात्री, खेलाडी, साहित्य फआदिका देवता हर्मिज जो जिउसका पूत्र र ओलिम्पिन देवताका दुत रहेको रोचक जानकारी नियात्रामा छन्।

समुद्र पर्वत, युद्ध टाढाबाट हेर्दा मात्र सुन्दर देखिन्छन् व्यहोर्दा कठिनै हुन्छ भन्ने पूर्वीय नीतिशास्त्रमा उल्लेख छ। ग्रीसमा पनि यो प्रसङ्ग रहेछ अर्थात् किनारमा बसेर हेर्दा समुद्र खुब राम्रो देखिन्छ व्यहोर्दा त कष्टकर नै हुँदो रहेछ। हाइड्रा, पोरोस र अनि इजिना टापुका इतिहास पढ्दा कताकता हाम्रा पुराणका कथासँग मिल्दाजुल्दा देखिन्छन् र रिस उठेपछि श्राप दिएर पत्थरमा परिणत गरेका जस्ता कथा उता पनि रहेछन्। देवता र भूमिकन्याबिचका प्रेममा कथा पनि रहेछन् । कताकता दुवैतिरका शास्त्रका मूल एकै हुन कि जस्तो भान लेखकले गराउनुभएको छ।

ग्रीसको रोमाञ्चकारी नियात्रापछि लेखक मयुररूपी वाहनमा युङफ्राउ नामक स्वीस सुमेरु पर्वतको परिक्रम गर्दै स्वीटजरल्याण्ड आइपुग्नुहुन्छ। कुनै समय दावाग्नीका माझ जङ्गलमा वस्ती योग्य भई शुरु भएको यो देश तटस्थताको पर्याय मानिन्छ। हामी पनि बन्न सक्थ्यो एशियाको तटस्थ देश तर हाम्रो प्राज्ञिक स्तर, संस्कार अनि चेतना पुगेन र यताउत्ति भौतारिरहेका छौं। लिगअफ नेशनको भवन नै संयुक्त राष्ट्रसंघको भवन भएको नयाँ जानकारी पनि छ नियात्रामा। लिग अफ नेशन झैं संस्था भीमसेन थापाले पनि स्थापना गर्न खोजेका थिए नेपालमा। राम्रो प्रस्तावलाई डाहा गरेर तुआउने एशियाली रोगको शिकार यो त्यो प्रस्ताव।

जेनेभा ताल नपुगे पनि रेलमा बसेर अंङ्गुर टिप्न नगए पनि लेखकले पाठकलाई जेनेभा तालतिर मात्र पुर्याएका छैनन् परन्तु अङ्गुरका भाइनयार्ड तिर पनि डोर्याएका छन् र इपेस वाइनको चुस्कीको अनुभव दिलाउन सफल भएका छन् । फेवाताल, राराताल अनि दैलेखतिर केवुलकार चढी भाइनयार्ड अनि नेपाली वाइनको वातावरण यतातिर पनि बनाए हुँदा हो भन्ने मनमा लहड पनि उत्पन्न गराउन लेखक सफल हुनुभएको छ।

रुसो भन्नेबित्तिकै धेरै कुरा भनिरहन पर्दैन । मष्तिष्कभन्दा मनलाई सोध भन्ने उनका विचारहरू विश्वप्रसिद्ध छन्। पूर्वी सभ्यतामा पनि थुप्रै रुसो छन्। परन्तु पूर्वी सभ्यता आफ्ना रुसोहरूलाई सम्मान गर्न चाहँदैन। दार्शनिकलाई कसरी सम्मान गर्नुपर्दछ, लेखकको सभ्य समाजमा कस्तो  र कति हुन्छ भन्ने सन्देश यस अध्यायमा लेखकले अप्रत्यक्ष रूपमा दिन खोजेका छन् । विद्वानलाई डाह गरेर लखेट्ने अनि अनपढलाई हेला गरेर लखेट्ने नेपाली प्रवृत्तिमा रुसोका प्रसंगहरू आफैँमा महत्त्वपूर्ण छन्।

कार्तिकेय कुमारझैं कल्पनारूपी मयुरमा सवार हुँदै लेखक स्वीट्जरल्याण्डको सुमेरु पर्वत युङफ्राउ वरिपरि आइपुग्नुहुन्छ। हिमालमा रेल, केवलकार अनि ग्रिण्डलवेल उपत्यकाका प्रसंगहरूले नेपालमा कहाँ रेल हुन्छ र विकट पहाडी भूभागमा भन्नेहरूलाई गलितै जवाफ दिएको छ। युङफ्राउको वर्णन कालिदाशले हिमालयबाट वगेकी गंगाको वर्णन गरेझैं छ, उपमाहरूसहित।

नियात्रारूपी मयुरमा आफू मात्रै हैन पाठकलाई पनि शयर गराउँदै लेखक लाउटरब्रनन्तिर आइपुग्नु हुन्न, युङफ्राउको प्रवेशद्वारमा। एइगर, मोंच र युङफ्राउ हिमालबाट वेष्टित लाउटरब्रनन् उपत्यकातिर टहल्दा, झरनाहरूको रसस्वादन गरी रहँदा हाम्रातिरका यस्तै उपत्यकाहरू किन यस्ता हुन सकेनन्न भन्ने पाठकमा चिन्ता पनि उत्पन्न हुन्छ। उताका शासकप्रति सम्मान र यताका शासकप्रति एकैचोटी घृणा उत्पन्न हुन्छ। लेखकले यो कुरा कतै व्यक्त गर्नु भएका छैन तर पाठकमा भाव उत्पन्न गराउन सफल भएका छन्।

आइन्स्टाइनको नाम नसुनेको को होला र? पढेर हाती ठूलो भएको होला र? नपढेर कमिला सानो भएको हो र? भन्ने तर्कशास्त्रीहरूको बाहुल्य भएको देशमा कविहरू पनि शासककै प्रशस्तिगानमै व्यस्त छन् । परन्तु कविले सरस्वतीका साधकको प्रशस्तिलाई कतै छोडेका छैनन् । सापेक्षताको सिद्धान्तका केही पक्ष पूर्वीय दर्शनमा नभएका हैनन्। अंक, शून्य, गणित पनि पूर्वमा जन्मेको हो।  परन्तु राज्यशक्तिले ज्ञान र ज्ञानले राज्यशक्तिको संरक्षण गर्न नसक्दा भित्रिएको अराजकताले पूर्वमा ज्ञान परम्परा ध्वस्त भयो यसलाई पश्चिमी विश्वविद्यालयले जोगाएर राखे । यही परम्पराका उपजहरू हुन् आइन्स्टाइन। लेखकले यहाँ पनि पाठकलाई बर्न अनि आइन्स्टाइनसँग साक्षात्कार गराउनुभएको छ तर उनमा अगाडि समाजवादी लेपन लगाउन भने जरुरी थिएन । शीर्षक हल्का भयो भित्र गहकिला विषयहरू भए पनि । जुरीचमा पनि लेखकले पाठकलाई उत्तिकै नजिकबाट साक्षात्कार गराउन सफल भएका छन्, त्यहाँको आधुनिकता, प्राकृतिक सुन्दरता आदिको साक्षात्कार सहित।

मयुररूपी वाहनमा सुमेरु पर्वतको यात्रा गर्दै गर्दा लेखक लिस्बोनमा भास्को डि गाामालाई भेट्न आइपुग्नुहुन्छ। भारतलाई युरोपसँग जोड्ने पात्र उनै हुन्। दक्षिण पश्चिमी भारतमा उनी पछिका पोर्चुगिच चिनाहरू प्रशस्तै भेटिन्छन्। उनले भारतको इतिहास मात्र बदलेनन् परन्तु नयाँ दिशातिर लैजान बाध्य पार्ने गोरेटो खोले। उनी पछि डच आए, बेलायती आए, फ्रेन्च आए। नियात्रामा लेखकले भास्को डि गामा, लिस्बोन अनि कता कता पन्ध्रौँ शताव्दीतिर पुर्‍यान सफल हुनुभएको छ।

ढुङ्गाको पानीजहाज चढ्दा अध्यायभित्र छिर्नुअघि यता रामायणको ढुङ्गाको सेतुको झल्झल्को दिन्छ। परन्तु ढुङ्गाको पानीजहाज नाविकहरूको सम्झनामा बनाइएको कृत्रिम पानी जहाज हो भन्ने भित्र गएपछि मात्र थाहा हुन्छ। यहाँ पनि लेखकले जोरोमी मोनस्ट्री टागस नदी किनारा, मोनुमेन्ट अफ डिस्कोभरिजतिर लैजान्छन्। शासकका मात्र सालिक हुने देशका हामी आविष्कारकर्ता, अन्वेषकर्ताका सम्मानमा यस्ता मोनुमेन्ट अफ डिस्कोभरिज बन्नु अचम्म लाग्छ। कुमार कार्तिकेयझैं मयुरमा सवार हुँदै युङफ्राउको परिक्रमा गर्ने सिलसिलामा लेखक सिन्ट्राको रोमान्टिक कला र मुर्स क्यासल अनि पेना प्योलेसतिर पाठकलाई घुमाउन लैजान्छन् त्यहाँका हावापानी, इतिहास र परिवेशसँग एकाकार गराउँदै छ।

आफ्नो परिवेशको अन्तीम विन्दुलाई मानिसले अर्को संसारमा जाने विन्दु भनी परिभाषित गर्छन्। पोर्चुगलमा पृथ्वीको अन्तिम छेउ हुने कुरै भएन तैपनि एउटा ठाउँलाई मानिदिए र अन्तिम भयो। शीर्षक पढ्दा लेखक कतै अन्टाकर्टिका अनि नर्वेको माथिल्लो भागमा पो पुग्नुभयो कि भन्ने लाग्छ तर उनी स्वीस सुमेरु पर्वत युङफ्राउकै परिक्रमा गरिरहनुभएको छ। कार्तिकेय पिताका आदेशमा परिक्रमा गरिहेका थिए भने उनी आफ्ना मनमा आदेशमा। अनि पुग्नुहुन्छ आमाल्दाका क्रिष्टो रेईलाई भेट्न अनि बेलायतका  क्याम्पिङ र क्यासलमार्फत बेलायतमा पाठकलाई घुमाउनुहुन्छ र घुम्दै घुम्दै रविन हुडलाई पनि भेटाउन लैजानुहुन्छ र वेष्टमिन्ष्टर आबेको पोयट्स कर्नरमा पुर्‍याउनुहुन्छ।

अन्तिम धुव्रसत्यलाई पहिल्यै अनुभव गरी जीवन र जगत् बुझ्दै न्यायपूर्वक जीवनयापन गर्नु पूर्वीय मान्यता हो। श्मशानमा गए पछि मानिसलाई वैराग्य उत्पन्न हुन्छ, आशक्ति हराउँछ र एकैछिन भए पनि रिस, रागबाट ईर्ष्या, क्रोध, बदला जस्ता भावबाट मुक्त हुन्छ, जसलाई घाटे वैराग्य भन्छन्।  भगवान शिव त्यसै श्मशानमा बसेका हैनन्। त्यही वैराग्य प्राप्ति गर्न शिवको अनुशरण गर्दै नेक्रोपोलिसमा एक साँझ बिताएपछि लेखकको युङफ्राउरूपी सुमेरु पर्वतको परिक्रमा पूरा गरी घर फर्किनुहुन्छ। नियात्रारूपी अमृत बाँड्दै पाठकलाई पनि घर फर्काउनुहुन्छ।  

प्रकाशित: ६ जेष्ठ २०८३ ०९:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App