झापाको हल्दीबारीमा श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।
३३ वर्षीया उर्मिला भण्डारीको हत्या गरेको आरोपमा हल्दीबारी गाउँपालिका-५ कन्चनश्री बस्ने ४४ वर्षीय गोकर्ण भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
मंगलबार राति गोकर्णले श्रीमती उर्मिलामाथि धारिलो हतियार ‘बाम्पोक’ प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। श्रीमतीको हत्या भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी कन्चनश्रीबाट खटिएको टोलीले उनलाई तत्कालै पक्राउ गरेको थियो।
प्रहरीका अनुसार घरायसी विवादका क्रममा गोकर्णले उर्मिलामाथि प्राणघातक प्रहार गरेका थिए। घटनास्थलमा पुगेको प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि पठाएको छ।
यस घटनाका सम्बन्धमा प्रहरीले थप तथ्य र कारण पत्ता लगाउन आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। पक्राउ परेका भण्डारीलाई कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी भइरहेको छ।
प्रकाशित: ६ जेष्ठ २०८३ १५:३६ बुधबार





