दसैं मनमा उमङ र खुसी बोकेर आउने चाड। शरद ऋतुको स्वच्छ नीलो आकाश, सेता कपासका डल्ला जस्ता बादलहरू अनि चारैतिर ढकमक्क फुलेका फूलहरूको सौन्दर्यले मनै लोभ्याउने मौसम! दशैं आउँदा गाउँघरमा रौनक छाउँछ, शहरमा नयाँ लुगा र मीठा परिकारको चर्चा हुन्छ।
परन्तु यसपालि २०८२ सालको दशैं, यस्तो भएन। झमझम झरीले भिजेको दशैं। जहाँ हेर्यो, त्यहाँ हिलो। वर्षभरिको थकान मेट्ने र परिवारसँग रमाउने सपना बोकेर फर्केकाहरूलाई यसपालिको दशैंले स्वागत गरेन। शरदको उज्यालो र न्यानोपनको सट्टा आकाश धुम्म भयो। पानीका अविरल थोपाहरूले दशैंको रङ नै पखालपुखुल पारेर धोइदिए। मनहरूमा उब्जिने खुसी र उत्साहलाई त्रास, विध्वंस र भयले छोपिदियो।
दशैंको समयमा खेतमा पाकेको धान काट्ने बेला! किसानको मनमा दशैं मनाउने र पाकेको धान धन्क्याउने दोहोरो खुसी हुन्छ तर यो पटकको लगातारको वर्षाले कतिपय किसानको पाकेको धान खेतमै सखाप भयो। उनीहरूको मनमा दशैंको उमङ्ग होइन, निराशा र पीडा भरियो।
दशैंको बेला टाढा-टाढाबाट घर फर्किनेहरूको ताँती हुन्छ। यस पटकको लगातारको वर्षाले बाटोहरू भत्कायो, पहिरो गयो र कतैकतै त बाढीले बस्ती नै बगायो। दशैंको समयमा भेटघाटको आशा बोकेर हिंडेकाहरू बीच बाटामै अलपत्र परे।
न भर्खरै आएको बाटोतिर फर्किन सक्नु, न जानुपर्ने गन्तव्यतिर जान सक्नु! दशैंको टीका र जमरा लगाउने बेलामा उनीहरूले आफ्नो परिवारसँग कतिले भेट्न पाए, कतिले भेट्न पाएनन्। दशैंको खुसी र उमङ्ग नै पीडामा परिणत भइदियो।
यसपालिको दशैंले हामीलाई धेरै कुरा सिकायो। प्राकृतिक प्रकोप र विपत्तिले हाम्रो खुसी र उमङ्गलाई एकै क्षणमा खोस्न सक्छ भन्ने कुरा बुझायो। यो दशैं, टीका, जमरा र मीठा परिकारको दशैं मात्र रहेन, यो त विपत्ति, पीडा र निराशाको दशैं बन्यो। तैपनि यसले हामीलाई सधैं प्राकृतिक सौन्दर्य र खुसी मात्र हुँदैन, कहिलेकाहीँ दुःख र विपत्ति पनि आउँछ भन्ने कुराको महसुस गरायो।
अब अर्को दशैं आउँदा, हामीले यो दशैंलाई सम्झिरहने छौं। जहाँ खुसी र पीडा, हाँसो र आँसु, उमङ्ग र निराशा एकैसाथ आए र गए। यसपालि २०८२ सालको दशैं हाम्रो जीवनमा एउटा अविस्मरणीय पीडा बनेर बसिरहने छ।
यसपालिको दशैंमा आकाश आफैं उदास देखियो । शारदीय ऋतुमा फैलिने नीलो उज्यालो हराएर, आकाश धुम्म भएर बस्यो। मानौं प्रकृतिले आफ्नो आँसु थाम्न सकेको छैन। त्यो धुम्म आकाश बादलको पर्दा मात्र थिएन, त्यो त त्रास, भय र विध्वंसको भारी पाकेको प्रतीक थियो। त्यसले जलमग्न जमीन बनाएर सारा खुसी समाप्त पारिरहेको थियो।
धान झुकेर सुनौलोपन देखाउने बेला थियो तर धानका बालाहरू खुसीमा होइन, बोझमा थिचिए जस्तै लाग्थे। चौतारीमा पिङ टाँगियो तर बाबियोको डोरीमा भिजेको पानीले हाँसोका तरङ्ग हल्का पारिदियो। जात्रा - उत्सवको बाजा बज्ने बेला थियो तर सहर र गाउँभरि मौनताको तरङ्ग फैलिएको थियो।
दशैं जुन प्रायः घर फर्किने उत्साहसँग जोडिन्छ, यसपालि बाढी र पहिरोले बाटोमै रोकेर राख्यो। कसैको यात्रा अधुरो रह्यो, कसैको घरमै खण्डहर भयो। टिका-जमराभन्दा पहिले आँसु र खरानीले आँगन छोपिदियो। उत्सवलाई अँगाल्ने मुटुहरू पीडाले व्यथित भए।
तथापि यस्तै अन्धकारमा पनि दशैंको साँचो आत्मा हराएको थिएन। धुम्म आकाशभित्रै कतैकतै झल्किएको झुल्कोले सम्झाइरहेको थियो -दशैं रमाइलो र भोजको नाम होइन, यो त दुःखबीच पनि आशा खोज्ने ‘आत्मबल’ हो।
जमरा यसपालि हरियो मात्र भएन, संघर्षको प्रतीक पनि बन्यो। टिका यसपालि सौभाग्य मात्र भएन, आँसु पुछ्ने सम्झना पनि बन्यो। ढोल-मादल यसपालि नाचको ताल मात्र भएन, जीवन बाँड्ने धैर्यको आवाज पनि बन्यो।
धुम्म आकाशले सौन्दर्य लुटे पनि, त्रासले मन भिजाए पनि, विध्वंसले घर भत्काए पनि, दशैं फेरि मनाइयो, पीडाभित्रै आशा जगाएर। किनकि दशैंको सार त त्यो हो -अन्धकारमा ‘दीप’ देख्ने आँखा, खरानीभित्र ‘मुस्कान’ खोज्ने साहस र भयलाई जित्ने आत्मबल।
खल्लो दशैंको धुम्म आकाशमा चंगा उडेन। बादलले विविध आकृति र रङको सौन्दर्य प्रदर्शन गरेन बरु पानीको प्रवाह निरन्तर झारिरह्यो, पानी परिरह्यो।
अन्ततः यसपालिको दशैं शारदीय आकाशजस्तो खुलेन। फेस्रो र फिक्का भयो। जुन आकाश प्रायः शुद्ध नीलोपनमा नुहाएर धानबालीमाथि सुनौलो किरण बर्साउँथ्यो। जुन आकाशले पिङमा झुम्ने बालबालिकाको हाँसोको तालसँगै गाउँघरलाई रमाइलो रङ दिन्थ्यो। त्यो आकाश यसपालि धुम्म भयो। मानौं, प्रकृतिले नै उत्सवलाई च्यापेर राखिदियो। उज्यालो पर्वमा अँध्यारो कुइरीमण्डल बादलले छोपिराख्यो।
धानको बाला झुकेको बारी रमाइलो होइन, बोझले थिचिएको जस्तो देखिन्थ्यो। हावा र पानीले ढालेर पाकेको बाला सोत्तर पारिदियो। चौतारी सुनसान, जहाँ ढोल–मादलको धुन गुञ्जिनुपर्ने थियो, त्यहाँ त्रासको मौनता छाएको थियो। हावासँगै बोकिएको सन्देश विध्वंस र भयको मात्र थियो। कालो बादल, गड्याङगुडुङ र कतै चट्याङको गर्जनले सात्तो खान्थ्यो।
परन्तु यसपालिको दशैं, दशैं जस्तो बन्न सकेन। दशैं त आशाको प्रतीक हो, घर फर्किने यात्रुको उत्साह हो, टिका–जमरा लगाउँदा स्वतः झल्किने जीवन्त खुसी हो तर बल्लतल्ल घर पुग्नेहरू फर्किन पाएका छैनन्। अविरल पानी, बढेको बाढी र जोखिमको सूचनासँगै यात्रा रोकिएको छ। अलपत्र, अन्यौल अवस्थामा प्रकृतिसँग प्रार्थना गरिरहेका छन्। दशैं सकिँदा पनि प्रकृति झन् किन यति क्रुर बनेको भन्दै प्रश्न गरिरहेका छन्।
यसपालिको दशैंमा अग्निज्वाला र खरानीको खाकबाट आशा उमार्दै पारिवारिक मिलनमा हाँसौँला भन्ने चाहना पनि व्यर्थ खेर गयो। सबै योजना भुइँमा चकनाचुर भयो। बाढीले बाटो बगायो, पहिरोले घर लग्यो, कसैको आँगनमा टिकाभन्दा पहिले आँसुको दाग पोतियो। बाढीसँगै कति निर्दोष ज्यान परमधाम गए। कति घाइते भएर पीडा सहन बाध्य भए।
यसरी मृत्युको शोक, भोक, त्रास र दुखाइको असह्य चोटबीच मनाइएको दशैं खल्लो नहुने त कहाँ? जहाँ मान्छेका अनुहारमा खुसीको रौनकभन्दा बढी पीडाको छायाले घ्वाप्लाक्क छोपिदियो।
यद्यपि त्यो छायामै पनि कतै न कतै हल्का उज्यालो थियो - बालबालिकाको मुस्कान, मधुरो बलिरहेको चुलो र छिमेकीले हातेमालो गर्दै एक अर्काको आँसु पुछ्ने संस्कारमा।
साँचो दशैं यसपालि चन्द्रमासँग चम्केन, मादलको तालसँग नाचेन तर मान्छेहरूको धैर्यसँग मुस्किलले टल्कियो। त्रास र विध्वंसको खरानीभित्रै पनि जीवन टिकाइ राख्ने थोरै धैर्य र शक्ति पलायो।
यसरी धुम्म आकाशले शारदीय सौन्दर्य खोसे पनि, दशैंको मूल आत्मा - आशा र आत्मबल अझ गहिरो भएर हृदयमा रह्यो। यसपालिको दशैं यस्तै भयो।
प्रकाशित: १८ आश्विन २०८२ १३:५४ शनिबार





