३१ असार २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

मनेका पौडेलको ‘मेरा चौरासी वर्ष’ लोकार्पण

साहित्यकार अञ्जना पौडेल खनालकी आमा ८७ वर्षीया मेनका पौडेलको ‘मेरा चौरासी वर्ष’ पुस्तक लोकार्पण भएको छ।

प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्राडा शैलेन्दु प्रकाश नेपालले पुस्तककाे लाेकार्पण गरेका हुन्।

उक्त कार्यक्रममा छ संस्थाबाट स्रष्टा मेनकालाई दोसल्ला र अभिनन्दनपत्र प्रदान गर्दै सम्मान अर्पिएकाे छ।

मर्स्याङदी वाङ्मय प्रतिष्ठान, शताब्दी साहित्य प्रतिष्ठान, ठाकुर छाँगा स्मृति प्रतिष्ठान, तीर्थ स्मृति प्रतिष्ठान र एसिया प्यासिफिक स्कुलको सहकार्यमा भानुजयन्तीकाे अवसर पारेर कार्यक्रम गरिएकाे हाे।

लाेकार्पित पुस्तकमा लमजुङको ऐतिहासिकस्थल दुराडाँडाकी पौडेलकाे ८४ वर्षसम्म भोगेका भोगाइ समेटिएकाे छ।

कार्यक्रमका अतिथि नेपालले नेपाली भाषा समृद्धि तुल्याउन भानुकाे भूमिका अतुलनीय रहेको बताए। त्यस्तै प्राडा सर्वराज आचार्यले भानुभक्तले नेपाली भाषाको विकास, विस्तार र लोकप्रियतामा पुर्‍याएको याेगदानकाे प्रशंसा गरेका थिए। उनले मोतिराम भट्टले भानुभक्तको कृति चिनाएर उल्लेख्य काम गरेकाे पनि बताए।

त्यस्तै मन्तव्यकाे क्रममा प्राडा भागवत ढकालले भानुभक्तले भाषिक एकीकरण गरेको बताए।

मर्स्याङदी वाङ्मय प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेले नेपाली भाषा र साहित्यको इतिहासमा भानुभक्त आचार्यको योगदान कदरयाेग्य भएकाे बताए।

कार्यक्रममा सोमनाथ घिमिरे र डा. उत्तम पौडेलले कृतिकाे समीक्षात्मक टिप्पणी गरेका थिए।

साहित्यकार अञ्जनाले पाैडेलले आमाको जीवन भोगाइको पुस्तक पढिदिन आग्रह गर्दै भनिन्, ‘आमाको यो पुस्तक आमाको जीवनी मात्र होइन त्यो समयदेखि यो समयसम्मको ऐतिहासिक दस्तावेज पनि हाे। आमाले जसरी लेख्नुभयो, मलाई सुनाउनुभयो, मैले सम्पादन गरिदिएको मात्र हो।’

कार्यक्रममा ८७ वर्षीया मेनकाले आफ्ना अनुभवकाे साथ कविताकाे  केही पंक्ति सुनाएकी थिइन्।

उक्त अवसरमा दुई लाख रुपैयाँको अक्षयकोष स्थापना गरेर आमाबुबाको नामबाट आउँदो सालबाट भानुजयन्तीका अवसरमा ‘कमल– मेनका प्रतिभा पुरस्कार’ बाट विभिन्न प्रतिभा, गरिब तथा जेहेन्दार विद्यार्थी र कमजोर आर्थिक अवस्था भएका व्यक्तिलाई वितरण गर्ने घोषणा मेनकाका छोराछोरीकोतर्फबाट गरिएको छ।

उक्त कार्यक्रममा शान्ति शर्मा, विष्णुभक्त अधिकारी, कृष्ण गुरुङ, आशबहादुर तामाङ लगायतले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। त्यस्तै एसिया प्यासिफिक स्कूलका विद्यार्थीले भानुभक्तकाे केही कविता वाचेका थिए।

प्रकाशित: ३१ असार २०८३ ११:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App