भारतीय टेलिभिजन अभिनेत्री नारायणी शास्त्रीले हालै एक आश्चर्यजनक खुलासा गरेकी छन्। विगत २५ वर्षदेखि टेलिभिजनमा सक्रिय रहेकी उनी ‘क्युँकि सास भी कभी बहू थी’, ‘कुसुम’ र ‘कोई अपना सा’ जस्ता चर्चित टेलिभिजन धारावाहिकमा अभिनय गरिसकेकी छन्।
शास्त्रीले हालै टेलिभिजन उद्योगमा कलाकारहरूबीच लागूपदार्थको प्रयोगबारे खुलासा गरेकी छन्। उनले आफैंले पनि जीवनमा विभिन्न प्रकारका नशालु पदार्थ प्रयोग गरेको स्वीकार गरेकी छन्। साथै, उनले टेलिभिजन उद्योगका पार्टीहरूमा ड्रग्सका लागि छुट्टै बजेट छुट्याइने गरेको र कतिपय अवस्थामा कलाकारहरू नशाको प्रभावमा भएकाले सुटिङसमेत रद्द गर्नुपरेको दाबी गरेकी छन्।
हालै सिद्धार्थ काननको पोडकास्टमा बोल्दै शास्त्रीले अभिनेता सुशान्त सिंह राजपूतको मृत्युबारे पनि टिप्पणी गरिन्। उनले भनिन्, 'उनले किन आत्महत्या गरे, त्यो मेरो बुझाइभन्दा बाहिरको कुरा हो। तर मलाई लाग्छ, ड्रग्स एउटा कारण हुन सक्छ। पहिले हाम्रो उद्योगमा पार्टीका लागि मदिराको बजेट छुट्ट्याइन्थ्यो, अहिले ड्रग्सको बजेट बनाइन्छ।'
उनले थप भनिन्, 'तपाईंलाई यो मन परोस् वा नपरोस्, तर म आफैं पनि ड्रग्सका लागि छुट्टै बजेट हुने कुरा देखेर अचम्ममा परेकी थिएँ। त्यसैले धेरै वर्षदेखि मैले पार्टीमा जान छोडेकी छु। पहिलेका जस्ता गीत बजाएर नाच्ने पार्टीहरू अहिले हुँदैनन्, अहिले पार्टीको स्वरूप नै पूर्ण रूपमा बदलिएको छ।'
उनको अनुसार टेलिभिजन उद्योगका ठूला पार्टीहरूमा खुला रूपमा ड्रग्स प्रयोग नगरिए पनि साना पार्टीहरूमा भने खुला रूपमा लागूपदार्थ प्रयोग हुने गरेको छ। उनले भनिन्, 'सबैलाई थाहा छ कि धेरै मानिसहरू नशा गर्छन्। म व्यक्तिगत रूपमा कसले गर्छ भन्ने जान्दिनँ, तर म त्यस्ता ठाउँहरूमा पुगेकी छु जहाँ मानिसहरूले ड्रग्स प्रयोग गरिरहेको आफ्नै आँखाले देखेकी छु।'
उनले थप भनिन्, 'म आफूलाई अत्यन्त पवित्र देखाउन खोजिरहेकी छैन। मैले जीवनमा विभिन्न प्रकारका नशा प्रयोग गरेकी छु, तर केवल अनुभवका लागि-यसले कस्तो असर गर्छ भनेर बुझ्न। किनभने यदि ड्रग्सको लतमा फसियो भने जीवनमा केही गर्न सकिँदैन।'
कोकिनबारे बोल्दै उनले भनिन्, 'कोकिनको लत लाग्छ। मलाई लाग्छ, कोकिनले हाम्रो उद्योगलाई नै खाइरहेको छ। यो संसारभर फैलिरहेको समस्या हो, किनकि धेरै मानिसहरू ड्रग्स प्रयोग गर्छन्। म ड्रग्स नगर्ने मानिसहरूलाई धेरै कम चिन्छु। म नियमित रूपमा यस्तो गर्दिनथेँ, तर त्यस्ता ठाउँमा जाँदा मानिसहरूलाई ड्रग्स प्रयोग गरिरहेको देखेर म छक्क पर्थें।'
जब उनलाई कलाकारहरूले सेट वा भ्यानिटी भ्यानमै ड्रग्स प्रयोग गर्छन् कि भनेर सोधियो, उनले भनिन्, 'म कसैको नाम लिन चाहन्नँ, तर यस्तो धेरै हुन्छ। हाम्रो सुटिङ पनि कलाकारहरू काम गर्न सक्ने अवस्थामा नभएकाले रद्द भएको छ। महँगा कलाकारहरू सेटमा उपस्थित हुन्छन्, तर सुटिङ हुन सक्दैन, किनकि केही मानिसहरू उभिनसमेत सक्ने अवस्थामा हुँदैनन्। मेरा पछिल्ला दुईवटा शोमा यस्तो भएन, तर अघिल्ला परियोजनाहरूमा यस्तो धेरै भएको थियो।'
शास्त्रीले आफ्नो विवादास्पद भनाइबारे स्पष्ट पार्दै आफू ड्रग्सको लतमा नरहेको बताइन्।
प्रकाशित: ८ श्रावण २०८३ १३:०७ शुक्रबार





