तुले रोहानी अर्थात् तुले पाइजा। जे भने पनि एउटै पात्र हो– तुले। म्याग्दीको पाखापानी गाउँका मगर जातिको एक प्रतिनिधि पात्र । साथै गरिबीले पिल्सिएका गाउँलेहरूको पनि एक प्रतिनिधि पात्र। करेन लेकको खर्कमा भैंसी पाल्ने उही तुले रोहानी अर्थात् तुले पाइजा। आफू गरिब भए पनि गाउँलेको दुःखसुखमा साथ दिने। गाउँलेको समस्यामा सहयोग गर्न तत्पर हुने र गाउँलेलाई अन्याय पर्दा आवाज उठाउने साह्रै असल मान्छे तुले। अन्नको अभावमा भोक सहेर बाँच्न विवश गाउँलेलाई पाखो फाँडेर आवाद गर्ने बुद्धि सिकाउने बुद्धिमानी तुले।
टकसारका लागि तामा बोक्ने गाउँलेलाई ठेकेदारले ज्याला नदिँदा घोडामा बोकाएर ल्याइएका तामा नै खोस्नसक्ने तुले पाइजाको आँटले ऊ साधारण मान्छे होइन भन्ने छनक दिन्छ । तुलेले पाखो आवाद गरेर गाउँलेलाई अन्नपात उत्पादन गर्न मात्रै सिकाएन, भाटीका डम्मरे साहुको पुरानो तमसुक च्यातेर गाउँलेलाई ऋणमुक्त पनि पारे। त्यसैले तुलेको कामबाट अनुगृहीत भएका गाउँलेले भन्न थाले, ‘तुले त हाम्रा लागि राजा नै हो। भगवानै हो। सात पुस्तादेखिको ऋणबाट एकै चुट्कीमा सारा गाउँलेलाई मुक्त गरिदियो।’ तर असल मान्छे कसैकसैका लागि आँखी पनि बन्दोरहेछ। तुलेलाई नसहने पनि रहेछन् गाउँमा।
दङनाम गाउँका बहादुरसिंह गर्बुजाकी छोरी रूपीलाई सुवेदारले ताकेको थियो तर नजानिँदोगरी तुलेसँग मायापिरिम गाँसेकी रूपीले तुलेसँगै बिहे गरेपछि तुले सुवेदारको आँखाको तारो भइहाल्यो। आफ्नो उद्देश्यमा असफल भएका सुवेदार घाइते सर्पझैं भएर तुलेलाई टोक्नका लागि मौका पर्खिन थाले। कतै पाखो आवाद गर्दै हिँड्ने, कतै भाटीका डम्मरे साहुको पुरानो तमसुक च्यात्दै हिँड्ने तुलेलाई अनेक खोचे थापेर फसाउने काममा सुवेदार लागिरहे । तुलेकै उक्साहटमा कामीहरूले वन फँडानी गरेको हो भन्ने बयान दिन लगाएर तुलेलाई कारबाहीको दायरामा ल्याउन सुवेदार नरसिंह मल्ल लागिपरिरहे।
‘जाली फटाहाको अन्याय अत्याचारबाट गाउँलेलाई जोगाउने, शोषण र अतिचारबाट गाउँलेलाई जोगाउने, छिमेकीहरूको बलमिचाइँसँग लडिदिने, सबै आपत्विपत्बाट गाउँलेको रक्षा गर्ने तुलेलाई गाउँलेले रक्षक मान्थे। आफ्नो मनको राजा मान्थे। गाउँलेका मनका राजा तुलेलाई राजाको अन्यायबाट जोगाउन गाउँले आफैं लाग्छन्।
‘हो, हो, लड्नुपरे लड्नुपर्छ । मर्नु परे मर्नुपर्छ। तुले हाम्रो ज्यान हो। तुलेबिना पाखापानी उसै मर्छ। रानु मरेको मौरीको बथानको जस्तो चिलबिल हुन्छ हाम्रो।’ यस्तै भन्दै गाउँले तुलेलाई जोगाउन कम्मर कस्छन्। ‘उही ख्याल, उही साँचो । तुले हाम्रो राजा हो। तुलेले जति गाउँको हेरविचार अरू कसैले गरेको छ र ?’ भन्दै गाउँले तुलेको पक्षमा ढाल बनेर उभिन्छन्।
अन्ततः तुलेविरुद्ध राज्यविद्रोहको आरोप लाग्छ। पाखापानी गाउँका जनता र गोर्खाली सेनाबिच युद्ध हुन्छ। दुई दिनसम्म युद्ध चल्छ। युद्धमा हातमा तरबार लिएर लडेको तुले गोर्खाली सेनाको आक्रमणबाट घाइते हुन्छ र मर्छ। उसको मृत्युपछि रूपीमाथि आँखा गाडिरहेको सुवेदार नरसिंहले मौका छोपेर रूपीलाई बलात्कार गर्छ। गर्भमा तुुलेको निसानी बोकेकी रूपी बलात्कारकै कारण मरणासन्न हुन्छे र अन्ततः मर्छे । तुलेको निसानी पनि मेटिन्छ। उसको घरको निसानी पनि मेटिन्छ। त्यसपछि एउटा कथाको जन्म हुन्छ। ‘कुनै जमानामा पाखापानीमा तुले पाइजा नामका राजा थिए रे। देउरालीमाथि साततले दरबार बनाएर बस्थे रे।’
मदन पुरस्कार विजेता ‘महारानी’ उपन्यासका लेखक चन्द्रप्रकाश बानियाँद्वारा लिखित उपन्यास ‘तुलु राजा’ को कथासार यत्ति नै हो। ऐतिहासिक कथावस्तुमा आधारित यो उपन्यास इतिहासको आख्यानीकरण पनि हो। आफ्नो जन्मथलोसँग सम्बन्धित इतिहासलाई आख्यानीकरण गर्ने क्रममा एकपछि अर्को ऐतिहासिक उपन्यास लेख्नुलाई लेखकको जन्मथलोप्रतिको अगाध प्रेमको रूपमा लिन सकिन्छ। ‘तुलु राजा’ लाई शिखा बुक्सले प्रकाशन गरेको हो। बानियाँका यसअघि मदन पुरस्कार प्राप्त उपन्यास ‘महारानी’ सँगै ‘ऐतिहासिक पर्वत राज्य’ (ऐतिहासिक गैरआख्यान), ‘खस जाति र कुल पूजा’ (गैरआख्यान), ‘मृत्युसंस्कार मन्थनः इतिहास र वास्तविकता’ (गैरआख्यान), ‘भौज्याहा’ (गैरआख्यान), ‘माकुराको पुनर्जन्म’ (संस्मरण), ‘चौबिसी राज्य पर्वत’ (ऐतिहासिक गैरआख्यान) लगायतका कृति प्रकाशित छन्।
चन्द्रप्रकाश बानियाँकृत उपन्यास ‘तुलु राजा’ एउटा राजाको साहसिक र मार्मिक कथा हो। तर दरबारको राजाको होइन, मनको राजाको कथा। म्याग्दीको पाखापानी गाउँका गाउँलेका मनका राजाको कथा समेटिएको उपन्यास ‘तुलु राजा’मा पाखापानीको इतिहाससँगसँगै त्यहाँको तत्कालीन समाज पनि प्रतिविम्बित भएको छ। तत्कालीन समयको आवाज र समाजको पीडालाई उपन्यासले प्रतिविम्बित गरेको छ। अलिकति प्रेम, अलिकति डाहा र जलन, अलिकति ईष्र्या र बदलाको भावना, छलकपट, षडयन्त्र, दाउपेच आदिले उपन्यासमा द्वन्द्वात्मकताको स्थिति प्रबल छ र यही द्वन्द्वात्मकताले उपन्यासलाई रोचक पनि बनाएको छ। तुले र रूपीका प्रेमप्रसङ्गले मन रोमाञ्चित बनाउँछ। रूपी, तुले र सुवेदारको त्रिकोणात्मक प्रेम र आशक्तिले कथानकलाई रोचक बनाएको छ। टकसारका लागि तामा र धाउ बोकेको ज्यालाले जीवनयापन गर्नुपर्ने पाखापानीका जनताको कथाले गरिबीको अवस्थालाई चित्रण गरेको छ। यो चित्रले त्यो बेलाको आर्थिक अवस्थालाई झल्काएको छ।
‘पाखापानी, म्याग्दी जिल्लाको उत्तरीभेकमा अवस्थित एउटा सुपरिचित मगरबस्ती। संवत १८९७ श्रावणमा त्यस गाउँमा एउटा कहालीलाग्दो हत्याकाण्ड मञ्चन हुन्छ। राज्यविरुद्ध विद्रोह गरेको निहुँमा तत्कालीन गोर्खाली सेनाले पाखापानीमा चढाइँ गर्छ। दुई दिनसम्म घनघोर युद्ध हुन्छ । रक्तपात मच्चिन्छ । गोर्खा राज्य विरुद्ध राहुगाड प्रश्श्रवणक्षेत्रका मगरहरूले किन विद्रोह गरे ? त्यसको कारण के थियो ? परिणाम के भयो?
उपन्यासकार चन्द्रप्रकाश बानियाँ ‘महारानी’ उपन्यासका लागि मदन पुरस्कार विजेता उपन्यासकार हुन्। ‘तुलु राजा’ मा पनि उनले ऐतिहासिक पृष्ठभूमि उपन्यास लेख्ने आफ्नो क्षमता र दक्षताको जोडदार प्रदर्शन गरेका छन्। यद्यपि ऐतिहासिक धरातलमा लेखिएको उपन्यासमा सामाजिकता बढी घनीभूत भएको महसुस हुन्छ। तत्कालीन समय, समाज र संस्कृतिको चित्रणले उपन्यास बढी सामाजिक यथार्थतर्फ ढल्किएको देखिन्छ। इतिहासलाई गौण बनाएर पात्र, प्रवृत्ति र परिवेशको चित्रणमा उपन्यास बढी केन्द्रित भएको महसुस हुन्छ।
ऐतिहासिक लिखतहरूमा केही नकारात्मक पात्रको रूपमा चित्रित गरिएका पात्र तुलेलाई सकारात्मक पात्रको रूपमा प्रस्तुत गर्ने उपन्यासकारको ध्येयले अन्ततः उपन्यासको कथावस्तुले फरक आयामलाई पक्रेको छ। ऐतिहासिक लिखतमा खराब र अहंकारी पात्रको रूपमा चित्रित गरिएका तुलेलाई इमानदार र असल पात्रको रूपमा चित्रण गरिएको छ उपन्यासमा । तुले भनेर हेपिएका पात्रलाई तुलु भनेर प्रेमभाव प्रकट गरिएको छ। गाउँले सबैका प्रिय भएका कारण प्रेमले ‘तुलु राजा’ भनिएको छ। शासक अथवा प्रशासकको अन्याय र अत्याचारले सिधा र इमानदार व्यक्तिलाई पनि विद्रोही बनाउँछ भन्ने प्रमाण हो तुले। तुलेलाई सोझो, इमानदार र अन्यायविरुद्ध लड्ने विद्रोही पात्रको रूपमा चित्रण गरिएको छ। उपन्यासमा सरल भाषाशैलीको प्रयोग गरिएको छ र सहज प्रवाह छ। बोधगम्य छ। सरलता र सहजता नै सुन्दरता बनेको छ। पठन आनन्ददायक छ। यति हुँदाहुँदै पनि उपन्यासमा पात्र, प्रवृत्ति र परिस्थितिको भन्दा कताकता परिवेशको वर्णन बढी भएजस्तो लाग्छ । मूलकथाले भन्दा उपकथाले बढी स्थान ओगटेजस्तो पनि लाग्छ। कथावस्तु मूलकथामा बढी केन्द्रित बनाएको भए उपन्यासको आयतन अलि घट्ने थियो र पठनको अवधि छोटो र छरितो हुने थियो।
प्रकाशित: २६ वैशाख २०८३ ०९:०४ शनिबार




-600x400.jpg)
