भारतीय मानवअधिकार अभियन्ता जसवन्त सिंह खालडाको जीवनमा आधारित चलचित्र ‘सतलुज’ ओटीटी प्लेटफर्ममा रिलिज भएको केही दिनमै हटाइएको छ। फिल्म २ जुलाई आटीटीमा रिलिज भएको थियो तर रिलिजको तीन दिनपछि हटाइएको हो।
भारतीय सन्चारसँगको कुराकानीमा उक्त चलचित्र निर्देशक हनी त्रेहानले ‘सतलुज’ को बारेमा खुलेर बोलेका छन्। उनका अनुसार चलचित्र २०२३ मै तयार भए पनि सेन्सर प्रक्रियाका कारण लामो समयसम्म रिलिज हुन सकेन। चलचित्र निर्माणभन्दा दर्शकमाझ पुर्याउनु नै सबैभन्दा ठूलो संघर्ष भयो। यसअघि चलचित्रको नाम (पहिले पञ्जाब ९५) थियो तर सेन्सर बोर्डको आपत्तिपछि चलचित्रको नाम परिवर्तन गरिएको र तीन वर्ष भन्दा बढी समय रिलिजको लागि पर्खे पनि सेन्सर प्रमानपत्र प्राप्त गर्न कठिन भएको निर्देशकको भनाइ छ।
चलचित्रका मुख्य कलाकार दिलजीत दोसाञ्झले कथावस्तु सुनेको करिब ४५ सेकेन्डमै चलचित्रमा काम गर्न सहमति दिएको निर्देशकले सुनाएका छन्। उनका अनुसार दिलजीतले पारिश्रमिकभन्दा पनि कथाको उद्देश्य र सन्देशलाई प्राथमिकता दिएका थिए।
निर्देशकले यो चलचित्रमा कुनै राजनीतिक पक्षको समर्थनका लागि नभई न्याय, मानवअधिकार र मानवीय संवेदनशीलताबारे संवाद सुरु गर्ने उद्देश्यले निर्माण गरिएको स्पष्ट पारे।
चलचित्रको प्रारम्भिक नाम ‘घल्लूघारा’ राखिएको थियो। पछि नाम परिवर्तन गरेर ‘पञ्जाब ९५’ र अन्ततः ‘सतलुज’ राखियो। भारतीय सेन्सर बोर्डले विभिन्न दृश्य तथा संवादमा धेरै कट र संशोधन गर्न सुझाव दिएको थियो, जसका कारण भारतमा सिनेमाघर प्रदर्शनको अनुमति प्राप्त हुन सकेन। पछि ओटीटीमा रिलिज भए पनि चलचित्र तीन दिनमै हटाइयो। हटाउनुको आधिकारिक कारण भने सार्वजनिक गरिएको छैन।
चलचित्र हटाइएपछि दिलजीतले मानवीय संवेदनशीलता र सहिष्णुताको कमी देखिएकोमा दुःख व्यक्त गरेका छन्।
‘सतलुज’ पञ्जाबका मानवअधिकार अभियन्ता जसवन्त सिंह खालराको जीवनमा आधारित छ। जसवन्त सिंह खालराले सन् १९८४ देखि १९९४ सम्म पञ्जाबमा हजारौँ अज्ञात शवहरूको अन्त्येष्टिसम्बन्धी घटनाको अनुसन्धान गरेका थिए। सन् १९९५ मा उनको अपहरण गरिएको थियो र त्यसपछि उनी कहिल्यै फेला परेनन्। चलचित्रमा दिलजीत दोसाञ्झले जसवन्त सिंह खालराको भूमिका निर्वाह गरेका छन्।
यो घटनाले भारतमा अभिव्यक्ति स्वतन्त्रता, चलचित्र सेन्सरशिप र ऐतिहासिक विषयवस्तुमा आधारित चलचित्रको प्रदर्शनसम्बन्धी बहसलाई पुनः चर्चामा ल्याएको छ।
प्रकाशित: २३ असार २०८३ ११:५१ मंगलबार





