केही वर्षअगि नेपालमा पाकिस्तानका प्रसिद्ध सायर, कवि, गजलकार अहमद फराज आएका थिए। फराज पाकिस्तानमा मात्र नभएर हिन्दुस्तानमा समेत सम्मानका साथ गाइने एक कलाकार हुन्। उनका गजल भारतमा जगजित सिंह, चित्रा सिंह, लता मंगेशकर, पंकज उदास, अनुप जलोटा, चन्दन दास, आशा भोसलेले गाएका छन्। पाकिस्तानमा उनको स्थान फैजकै बराबर मानिन्छ।
फैज अहमद फैज जियाउल हकको समयमा देश निकाला भएर बाहिर बाहिरै बसे तर उनको चर्चा सदैव कायमै रह्यो। उनका गजलहरू मेंहदी हसनका कारणले धेरै लोकप्रिय भएका छन्। मेंहदी हसनले गाएको ‘गुलों में रङ भरे बाद ए नौबहार चले’ गजल गायनमा एउटा इतिहास नै बन्यो।
फैजको जस्तै फराजका गजल पनि मेंहदी हसनले सम्मानपूर्वक गाएका छन्। मेंहदी हसनले गाएको फैजका ‘रन्जिस ही सही दिल ही दुखाने के लिए आ’, ‘अब के हम बिछेड तो ख्वाबों में मिले’ उत्कृष्ट गजलमध्ये पर्छन्। यिनै गजलले हिन्दी गजलमा दुष्यन्त कुमार वा शमशेरबहादुर सिंहपछि क्रान्ति नै ल्याए भन्न सकिन्छ। नेपालमा पनि यी गजलले प्रभाव पारेको देखिन्छ। गजल रेस्टुराँ र बारहरूमा यी गजल खुब गुन्जिए।
फराजकै कारण मेंहदी हसनले आफ्नो गजल गायनमा शब्द र सन्दर्भलाई एक विशेष ध्यान दिन थाले। मेंहदी हसनकै कारण गजल उत्कृष्ट र सम्मानित विषय हुन पुग्यो। पश्चिमी मुलुकमा कम चल्ने यो विषयले एसियामा विशेषतः (दक्षिण एसियामा) भव्य प्रभाव पार्यो। विशेषतः सन् १९७०, ८० र ९० दशकका युवालाई हिप्पी युगबाट गजलतिर ल्याउनमा मेंहदी हसन र जगजित सिंहको प्रत्यक्ष योगदान छ भन्ने बुझिन्छ। यसको असर नेपालका युवामा झन् बढी देखियो।
नेपालमा भारतबाट जगजित सिंह, अनुप जलोटा, पंकज उदास, राजेन्द्र मेहता, निता मेहता कार्यक्रम गर्न नेपालमा निम्त्याइए। जगजित सिंह त तीन पटकसम्म कार्यक्रम गर्न नेपाल आए। हरेक पटक नेपाल आउँदा उनले नेपाली गीत पनि गाए।
जगजित, चित्रा सिंहजस्तै अनुप जलोटा पनि दुई पटक नेपालमा आएर कार्यक्रम गरे। यसले नेपालको साहित्यको गजल विधालाई अलग किसिमले मलजल भयो। नेपालमा गजल लेखिन थाल्यो । गायकगायिकाले गजल गाउन थाले। यो सन्दर्भ यहींबाट मात्र सुरु भएको हो भन्न सकिन्छ।
पाकिस्तानमा मेंहदी हसनपछि गुलाम अली चर्चित मानिन्छन्। गुलाम अली पनि व्यक्तिगत रूपमा दुईपटक आफ्नो गजल सो गर्न आए तर तेस्रोपटक आफ्ना छोरानातिसित प्रस्तुतीकरण दिन आए। यो अर्कै कुरा, त्यतिबेलासम्म उनको साख गिरिसकेको थियो। तेस्रोपटक नेपाल आउँदा उनले आफ्नो बचेखुचेको अलिकति इज्जतलाई पनि चुरचुर गरेर गए भन्छन्, सङ्गीतका अनुरागीहरू।
गुलाम अली नेपालमा निकाह फिल्मको गीत ‘चुपके चुपके रातनिद आँसु बहाना याद है’बाट चर्चित भएका हुन्। जसरी पंकज उदास गजल ‘सबको मालुम नहीं मै सराबी नर्ही’बाट चर्चित भएका थिए। तर यी दुवैलाई नेपालमा चिनिनुमा हिन्दी फिल्मकै देन थियो। पंकज उदासलाई ‘नाम’ फिल्मको ‘चिठी आई है चिठी आइ है’बाट जनसाधारणले चिनेका हुन् तर उनी काठमाडौंमा कार्यक्रम गर्न आउँदा उनका गजल नै बढी लोकप्रिय थिए।
गुलाम अलीले नेपालमा आउँदा दीपक जङ्गमको सङ्गीतमा र पछि न्ह्यु बज्राचार्य, श्याम तमोटका गीत पनि गाए। पंकज उदासले नेपाली फिल्ममा शम्भुजित बाँसकोटाको सङ्गीतमा ‘अधुरो लाग्यो, अपूरो लाग्यो’ जस्तो गीत पनि गाए।
पंकज उदास र गुलाम अलीले जस्तै अनुप जलोटा र जगजित सिंहले पनि पछि नेपाली गीत गाएका छन्, विशेषतः फिल्म र गैरफिल्मी गीतहरू। तर मेंहदी हसनले शुद्ध रूपमा नेपालमा आएर नारायणगोपालको सङ्गीतमा र एउटा आफ्नै सङ्गीतमा एउटा गीत गाए। जुन लाइभ रेकर्ड भयो। पछि मेंहदी हसनले पाकिस्तान फर्केर चाँदनी शाहका रचनाका करिब छ वटा गीत दीपक जङ्गमको सङ्गीतमा रेकर्ड गराए।
मेंहदी हसनले चुनेकी गीतकार चाँदनी शाह त्यतिबेला नेपालकी रानी थिइन्। उनको रचनाको गीत उर्दूमा रेकर्ड भएर पनि सार्वजनिक रूपमा बज्न पाएन। यसको रचना गर्भ अब दीपक जङ्गमबाहेक कसैलाई थाह नहोला।
गजल गायनमा आफ्नै उचाइ कायम गरेका मेंहदी हसनले नेपालका मवीवि शाह, चाँदनी शाह र कालीप्रसाद रिजालका मात्र गीत गाएका छन्। उनले आफ्नो स्वरमा भारतका प्रसिद्ध गीतकार राजिन्दर कृष्ण, आनन्द वक्षीबाहेक अरूका गीत गाएका छैनन्। अहिलेका प्रसिद्ध गीतकारद्वय गुलजार र जावेद अख्तर त उनका फ्यान नै हुन्।
मेंहदी हसन आफ्नो युगका यस्ता गायक हुन्, जसले गजललाई दरबार र कोठीबाट बाहिर ल्याए अनि क्यासेट र सिडीमार्फत् जनसाधारणको बेडरुमसम्म पुर्याउने दुस्साहस गरे। उनले पश्चिम जगत्मा प्रचलित नभएको गजलजस्तो विधालाई पहिलो पटक सन् १९७३ मा लन्डनस्थित रोयल अल्बर्ट हलमा प्रस्तुत गरे। त्यहाँ दक्षिण एसियाका कलाकारको यस किसिमको पहिलो प्रस्तुति थियो। यसपछि लता मंगेशकरले पनि रोयल अल्बर्ट हलमा कार्यक्रम गरिन्।
मेंहदी हसनले संसारको जुनसुकै मञ्चमा गाए पनि दुई गजलकार फैज अहमद फैज र अहमद फराजलाई कहिल्यै छोडेनन्। सलिम साहिदको सङ्गीतमा मेंहदी हसनले फैजको गजल ‘गुलों में रंग भरे बाद–ए–नौबहार चले, चले भी आओ कि गुलशन का कारोबार चले’ गाए भने फैजकै शब्दमा ‘तुम आए हो न सबे–इन्तजार गुजरी है, तलास में है सहर, बार–बार गुजरी है’ गाए। यो पछिल्लो गजलको सङ्गीत पनि सलिम सहिदकै थियो। फैजका तीनैवटा गजलसङ्ग्रह ‘नक्स ए फरियादी’, ‘दस्तै सबा’, ‘जिन्दाँना’लाई उनले लोकप्रिय नै बनाए।
साबिक मेजर मुहम्मद इस्हाकका अनुसार फैजका प्रायः रचना रुदादे कफस हुन्। रुदादे कफसको अर्थ हुन्छ– कारागार वृत्तान्त। इस्हाकका अनुसार उनलाई सन् १९५१ मार्च ९ देखि सन् १९५५ सम्म पाकिस्तानका विभिन्न जेलमा उनी थुनिएका थिए। सन् १९५३ मा रावलपिन्डी केसमा उनलाई सिन्धको हैदराबाद जेलमा थुनिएको थियो। त्यही उनले जेलको इँटामा नङले कोट्याउँदै ‘सबे इन्तिजार’ भन्ने गजल लेखेका थिए।
फैजका धेरै रचनालाई चर्चामा ल्याउनमा मेंहदी हसनको जस्तै इकबाल बानो, बेगम अख्तर, नूरजहाँ आदिको योगदान छ।
सन् १९११ फ्रेबुअरी १३ मा सियालकोटास्थित काला कादरमा जन्मेका फैज गजलमा एक सम्मानित नाम हुन् र सदा सम्मानित नै रहे। फैजभन्दा तीस वर्ष साना अहमद फराज सन् १९३१ को जनवरीमा जन्मेका थिए। अहमद फराज गजलमा रोमान्टिसिज्म भित्र्याउने एक हस्ती हुन्। मिर, गालिब, मोमिन र दागको परम्परालाई पछ्याउँदै फराज आए। उनकै गजल गुलाम कादिरको सङ्गीतमा मेंहदी हसनले गाएका छन्–
‘अब के हम बिछडे तो सायद कभी ख्वाबों में मिलें
जिस तरह सुखे हुए फूल किताबों में मिलें’
गजलमा यसप्रकारको मिसरा वा सेर बिरलै पाइन्थ्यो। यही गजलको मक्ता (जहाँ कलमकारको नाम वा उपनाम उल्लेख हुन्छ) मा उनको शैली हेरौं,
‘अब न वो मै हुँ ना तु है ना वह माजी है फराज
जैसे दो सख्स तमन्ना के सरांबों में मिलें’
फराजकै अर्को गजल मेंहदी हसनले गाएका छन् आफ्नै सङ्गीतमा। पछि आफैंले गाएको गजलको सेर यस्तो छ -
‘रंजिस ही सही दिल ही दुःखाने के लिए आ
आ फिर से मुझे छोड के जाने के लिए आ’
यो गजल यति लोकप्रिय भयो, पछि यसले आशा भोंसलेदेखि हरिहरन, अरिजित सिंह, श्रेया घोसाल, प्रतिभा सिंह बघेल, प्रजक्ता शुक्रेसम्मले गाएका छन्। यो फैजको कलम र मेंहदी हसनको गायनको एउटा युगको शक्ति हो भन्न सकिन्छ।
अहमद फराजको सन् २००८ मा निधन भयो भने सहन्साह–ए–गजल मेंहदी हसनको सन् २०१२ मा पाकिस्तानमै निधन भयो। तर दुवैलाई सदा सदा सम्झिन्छन् पाकिस्तान, भारत र नेपालका सङ्गीतका श्रोताहरूले।
उनका बारेमा हिन्दीभाषी कवि अशोक बाजपेयीले लेखेका छन् - हामी यहाँ यो याद गर्न सक्छौं कि पाकिस्तान बनेपछि त्यहाँका अहिलेसम्मका सबभन्दा ठुला कवि फैज अहमद फैजलाई भारतमा लोकप्रियता र प्रतिष्ठा मिलेको छ। त्यसको एउटा कारण निश्चित नै कवितामा उनको शीर्षस्थानीयता हो भने अर्को कारण राजनीतिक शत्रुता र द्वन्द्वका बाबजुद पनि कविताका रसिक, हिन्दी, उर्दूका अनुयायीले फैजलाई मन पराएका छन्, जसरी अहमद फराजलाई पनि त्यही स्थान दिएका छन्।
प्रकाशित: २१ भाद्र २०८२ ०९:१८ शनिबार





