मध्यपुर ठिमीस्थित दबुली नेपालका संरक्षक गणेशराम लाछि यस वर्षको ‘सुदर्शन–कपिला सिरपा’बाट सम्मानित भएका छन् । नेपाल भाषा तथा सांस्कृतिक संघ ‘झी पुचः’ विराटनगरले शुक्रबार विराटनगरमा आयोजना गरेको विशेष समारोहमा लाछिलाई दुई लाख रुपैयाँ राशिसहित सम्मान प्रदान गरेको हो ।
नेपाल भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा पुर्याएको योगदानको कदर गर्दै लाछिलाई सम्मान प्रदान गरिएको जनाइएको छ । समाजसेवी सुदर्शनबहादुर श्रेष्ठ र उनकी धर्मपत्नी कपिला श्रेष्ठको नाममा स्थापना गरिएको ‘सुदर्शन–कपिला ट्रष्ट’मार्फत प्रदान गरिने यो सम्मान नेपाल भाषा, कला र संस्कृतिको संरक्षणमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वलाई प्रदान गरिँदै आएको छ ।
लाछिलाई कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुलीले दोसल्ला ओढाएर नगद दुई लाख रुपैयाँ र सम्मानपत्र प्रदान गरेका थिए । समारोहलाई सम्बोधन गर्दै मन्त्री पराजुलीले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता बोकेको देश भएको उल्लेख गरे । उनले विभिन्न जातजातिको भाषा, संस्कृति, कला र परम्पराले नेपालको पहिचानलाई समृद्ध बनाएको बताए । कार्यक्रमका आयोजक झी पुचःका अध्यक्ष शरद श्रेष्ठले गणेशराम लाछिले नेपाल भाषा, नेवारी कला तथा सांस्कृतिक परम्पराको संरक्षणमा दीर्घकालदेखि निरन्तर योगदान दिँदै आएकाले उनलाई सम्मान गरिएको जानकारी दिए ।
उनले झी पुचःले नेवारी संस्कृति र परम्पराको संरक्षणमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको पनि बताए । यसअघि उक्त सम्मान वरिष्ठ संस्कृतिविद सत्यमोहन जोशी, भारतको सिक्किमस्थित नेवार गुठी तथा पोखरास्थित नेवा खल कास्कीलाई प्रदान गरिएको थियो । झी पुचःले नेपाल भाषा, संस्कृति र कलामा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई हरेक दुई बर्षमा दुई लाख रुपैयाँ नगद राशी र ५० हजार रुपैयाँको मौलिक कलात्मक सिरपा प्रदान गर्दै आएको छ ।
प्रकाशित: २९ फाल्गुन २०८२ १९:२९ शुक्रबार





