नजरलाई लागेपछि
साउन
किन पहिरिनु हरियो
सारी
हरियाली प्रकृतिमै सुहाउँछ
ए मान्छे!
फुकालेर हरियो
पछेउरा
पहिर्याइदेऊ
बाँझा गरालाई
उसै पनि
निन्याउरो छ अनुहार
स्पर्श गर्ने हात जति
पर्देसिएर
तिमी पहिर्यादेऊ
बाँझा गराका
शिरमा हरियो सिरफुल
झुण्डयाइदेऊ उजाड गलामा
तारा झैं हरियो नौगेडी
लगाइदेऊ हरियो साडी
बाँधिदेऊ तुना हरियो चौबन्दीको
जसरी बान्छ फर्सीको मुन्टाले
अनि हेर्नु
कसलाई सुहाउँदाे रहेछ
हरियो रंग
तिमीलाई कि
बाँझा गरालाई!
प्रकाशित: १० श्रावण २०८२ ११:२६ शनिबार




