२२ पुस २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

‘साइनो वाङमय चौतारी नेपाल’ ले मनायाे वार्षिकोत्सव

साइनो वाङमय चौतारी, नेपालले वार्षिक उत्सव मनाएकाे छ। डा.सीता सुवेदीको अध्यक्षता र प्राडा रमेशप्रसाद भट्टराई प्रमुख आतिथ्यमा वार्षिक उत्सव सम्पन्न भएकाे हाे।

प्रमुख अतिथि भट्टराईले वरिष्ठ साहित्यकार माेहन दुवाल, युवाकवि प्रकाश समीर तथा कवि कमला भण्डारी ढकाललाई दाेसल्ला र सम्मानपत्रले सम्मान गर्दै साइनो कवितामा रहेको मौलिक नेपालीपनकाे प्रशंसा गरेका थिए।

केएमसि स्कुलमा भएको उक्त कार्यक्रममा भट्टराईले कविता विधा सङ्कटमा परेको बेला आएको लघुकविता साइनोले व्यञ्जना शब्दशक्तिको सहयाेग लिएर पाठकलाई साहित्यिक स्वाद दिन सक्नुपर्ने सुझाए।

सम्मानित स्रष्टा वरिष्ठ साहित्यकार माेहन दुवालले साहित्यकारहरूले समाजलाई नैतिक मूल्यसहित सही बाटाे देखाउन सक्नुपर्ने सुझाव दिंदै सम्मान गर्ने साइनो वाङमय चौतारी नेपाललाई धन्यवाद दिए।

अर्काे सम्मानित स्रष्टा प्रकाश समीरले साइनो नवीन शिल्पशैलीकाे कविता हाे तर यसले  परिष्कृत भई कवित्व ग्रहण गर्न सक्नुपर्छ, शब्द मात्र साइनो हाेइन यसमा बिम्बप्रतीकले चाेटिलाे बनाउनु आवश्यक भएकाे बताए।

समालोचक अमृता शर्माले साइनो नेपाली वाङमयप्रेमीकाे साझा सम्पदा भएकाले यसकाे विकासमा ध्यान दिनुपर्ने जिम्मेवारी हामी सबैको  भएको तर्क गरिन्।

साइनो कविताका प्रवर्तक डा. छायादत्त न्यौपानेले साइनो कविता लेखन आफूले सुरु गरेकाे भए पनि यसकाे विधागत उन्नयनमा धेरैकाे उल्लेख्य भूमिका रहेकाे बताए।केशव ज्ञवाली, बालकुमार क्षेत्री, खेमलाल पाेखरेल, डां सीता सुवेदी, धातानन्द शर्मा, शेखर अर्याल, सुरेन्द्र शाही, महानन्द ढकाल, डा.टङ्क पन्थ, कमला भण्डारी, माेहन दुवाल, प्रवीण जाेसी, आशाकुमारी तिम्सिना, शान्तिराम भट्टराई जस्ता धेरै स्रष्टाकाे  याेगदान रहेकाे उनले बताए।

साइनो कविताका प्रवर्तक डा. छायादत्त न्यौपानेले आरम्भ भएको छाेटाे समयमा साइनो कविता विश्वका २५-२६ देशका सर्जकमा लाेकप्रिय भइसकेको पनि बताए।

कार्यक्रममा ‘शृङ्खला’ मासिक साइनो विशेष अंकको पनि लोकार्पण गरिएको थियो। उक्त लाेकार्पित कृतिबाट केशव ज्ञवाली, आशा तिम्सिना, सुरेन्द्र शाही, शान्तिराम भट्टराई, घन थापा लगायतका १० स्रष्टाले साइनो कविता वाचन गरेका थिए।

यसैगरी संस्था तथा  कार्यक्रमकी अध्यक्ष डा.सीता सुवेदी पन्थीले उपस्थित सबैलाई धन्यवाद दिंदै साइनोले विश्व साहित्यमा उपस्थिति जनाउन सफल भएको बताइन्। संस्थाका उपाध्यक्ष बालकुमार क्षेत्रीकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम संस्थाका सचिव शेखर अर्यालकाे सञ्चालनमा भएको थियाे।

प्रकाशित: १९ श्रावण २०८२ ११:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App