श्री जानकी माता, नेपाली धार्मिक संघ, कोलकाताद्वारा प्रकाशित 'च्याङ्बाको चेतना विशेषाङ्क-सम्झना' को लोकार्पण भएको छ।
साहित्यिक पत्रकार संघ तथा जरा फाउन्डेसन, नेपालको संयुक्त आयोजनामा कोलकाताबाट प्रकाशित 'सम्झना' पत्रिका लोकार्पण गरिएकाे छ।
अनामनगरस्थित डालो रेष्टुरेन्टमा भएकाे उक्त कार्यक्रमसाहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षता र राजनीतिक विश्लेषक प्राडा सुरेन्द्र केसीकाे प्रमुख आतिथ्यमा भएकाे हाे।
अन्य आमन्त्रित व्यक्तित्वहरू कलकत्ताका पूर्व महावाणिज्यदूत सुनीलकुमार पौड्याल, सामाजिक तथा धार्मिक अभियन्ता धर्मराज बराल, संघका व्यवस्थापक तथा समाजसेवी भीमबहादुर श्रेष्ठ, सम्झनाका प्रधान सम्पादक गणेशकुमार प्रधान, परराष्टविद् तथा जरा फाउन्डेसनका सल्लाहकार नारायण मैनाली, व्यवस्थापक गुञ्जदास श्रेष्ठ तथा गायक आनन्द कार्कीको उपस्थिति थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आमन्त्रित व्यक्तित्व प्रा.डा सुरेन्द्र केसीले हामी नेपाली जहाँ पुगे पनि आफ्नो परम्परा र धर्ममा कायम रहेको बताए।
कलकत्तामा बस्ने नेपालीहरूको प्रसङ्ग उल्लेख गर्दै उनले कलकत्ता, दार्जिलिङका नेपालीहरूमा भाषिक र धार्मिक एकता रहेको बताए।
भाषिक एकताको प्रसङ्गमा उनले हाम्रा आदिकवि भानुभक्त आचार्यको पनि चर्चा गरेका थिए। हरेक मान्छेमा धार्मिक भावना हुनुपर्नेमा उनको जोड थियो।
कार्यक्रमका सभापति साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले कलकत्ताबाट आएका सामाजिक तथा धार्मिक अभियन्ताहरूको स्वागत गर्दै जरा फाउन्डेसन तथा साहित्यिक पत्रकार संघको संयुक्त आयोजनामा उपस्थित सबैलाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए।
त्रिपन्न वर्ष पूरा गरी चौबन्नौँ वर्षमा प्रवेश गरेको संघले गरिआएका कार्यबारे प्रकाश पार्दै कलकत्तामा बसेर सामाजिक र धार्मिक कार्यमा समर्पित श्री जानकी माता नेपाली धार्मिक संघ र संघको क्रियाकलापको उनले प्रशंसा गरेका थिए।
च्याङ्बाको चेतना नाटकका लेखक गणेशकुमार प्रधानले आफ्नो लेखन र निर्देशनबारे प्रकाश पार्दै कलकत्तामा संघले गरिआएका कार्यबारे बोलेका थिए।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै गुञ्जदास श्रेष्ठले श्री जानकी माता नेपाली धार्मिक संघको परिचयसहित संघले गरिआएका कार्यबारे संक्षेपमा प्रकाश पारेका थिए।
धार्मिक अभियन्ता धर्मराज बराल, परराष्टविद् नारायण मैनाली तथा गायक आनन्द कार्कीले शुभकामना मन्तव्य राख्दै संघको योगदानबारे चर्चा गरेका थिए।
कार्यक्रममा सम्झना पत्रिकामा प्रकाशित कवितामध्येबाट कवि सुमन थापा सङ्गमले आफ्नो गीति रचना सुनाएकी थिइन्।
आनन्द कार्की, धर्मराज बराल, फत्तकुमार श्रेष्ठ, दिर्गकुमार श्रेष्ठ, नारायण श्रेष्ठ, टिकादास श्रेष्ठ, डा. योगेश वैद्य, हिमनाथ पौडेल, शृङ्खलाका सम्पादक प्रवीण जोशी तथा शारदा मासिकका प्रधान सम्पादक विमल भौकाजीलाई सम्मानपत्र प्रदान गरिएको थियो।
साहित्यकार सुभाषचन्द्र पौडेल 'भीमफेदीया' काे अनुसार सञ्चालन कवि दिव्य गिरीले गरेका थिए।
प्रकाशित: ६ जेष्ठ २०८३ ०६:४८ बुधबार





