साहित्यकार ममता मृदुलले सम्पादन गरेकाे ‘अनुभूतिका विविध प्रवाहमा’ पढ्ने अवसर पाएँ। पुस्तक हातमा परेपछि एकैसासमा २२० पृष्ठ पढ्न उत्साहित भएँ। यस कृतिमा ३५ कवि, विद्वान तथा साहित्यप्रेमीहरूले अधिकारीको साहित्यिक यात्रा, सिर्जनाशीलता, विचारधारा र सरल व्यक्तित्वबारे बहस, विमर्श र भावनात्मक अभिव्यक्तिहरू प्रस्तुत गरेका छन्।
उनका तीन दर्जनभन्दा बढी कृतिको गहिरो समीक्षा र मूल्यांकन गरिँदै यस पुस्तकमा नेपाली साहित्यको एउटा विम्ब उजागर गरिएको छ। पुस्तक अनुसार अधिकारी नेपाली साहित्यका एक अमिट चिन्ह हुन्। उनलाई बिर्सनु साहित्यप्रतिको अपमान गर्नु जस्तै हो।
यस पुस्तकले एउटा यस्तो खाले ‘भावनात्मक अभाव’ पूरा गरिदिएको छ, जुन न त सबै पुस्तक पढेर मात्र सम्भव हुन्थ्यो न त ती सबै लेखकसँग साक्षात्कार गरेर। उक्त पुस्तक पढ्ने अवसर नमिलेको भए म नेपाली साहित्यको एक क्षेत्रबाट धेरै पर हुन्थे।
‘अनुभूतिका विविध प्रवाहमा’ पुस्तक मात्र होइन, विश्वराज अधिकारीको व्यक्तित्व र कृतित्वलाई एकै थलोमा अनुभूत गराउने माध्यम हो। यसलाई पढ्दा उनका सिर्जनासँग मात्र होइन, उनको आत्मासँग पनि संवाद भएको अनुभूति हुन्छ।
अधिकारीका साहित्यिक योगदान, सौम्य व्यक्तित्व, मृदु भाषा र विचारको गहिराइ यस कृतिमा बारम्बार प्रतिध्वनित हुन्छ। व्यक्तिगत उठबसको सीमित अवसरभन्दा गहिरो चिनजान यस पुस्तकले गराएकाे छ।
अन्त्यमा उनको अविच्छिन्न साहित्यिक यात्रा अझ समृद्ध होस् भन्ने शुभकामना व्यक्त गर्दछु। सबै साहित्यप्रेमी पाठकलाई यो पुस्तक पढेर विश्वराज अधिकारीरूपी गहिरो साहित्य सागरमा डुबुल्की मार्न आग्रह छ। यो कृति पढेपछि अधिकारीका साहित्यिक व्यक्तित्वबारे जानकारी हुनका साथै उनको बारेमा लेख्ने अनेक साहित्यकारको महत्त्वपूर्ण विचार पनि अवगत गर्ने अवसर प्राप्त हुन्छ।
- चिरञ्जीवी ढुङ्गाना
प्रकाशित: २८ असार २०८२ १२:२४ शनिबार





-600x400.jpg)