ब्राजिलमा भएको हेलिकोप्टर दुर्घटनामा चर्चित गायक ओलिभर ट्रीको ३२ वर्षमा निधन भएको छ। रियो डी जेनेरियोमा दुई हेलिकोप्टर आकाशमै एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा कुल ६ जनाको ज्यान गएको बताइएको छ।
मृतकमध्ये अमेरिकी गायक, र्यापर तथा संगीत निर्माता ओलिभर ट्री, अर्जेन्टिनी युट्युबर तथा कमेडियन ग्यास्पर प्रिम (गैस्पी), लुकास विग्नेल, लुकास ब्रिटो चाभेस तथा पाइलटहरू एलेक्जेन्ड्रे सूजा र चार्ल्स मार्सिल्याक रहेका छन्।
दुर्घटनाको समयमा ओलिभर ट्री अन्तर्राष्ट्रिय संगीत भ्रमणमा थिए। उनले जुन ६ मा साओ पाउलोमा प्रस्तुति दिएका थिए भने आगामी कार्यक्रमहरू पोर्चुगल, स्पेन, अस्ट्रिया, अमेरिका र चीनमा तय भएका थिए।
ओलिभर ट्री आफ्नो वैकल्पिक, पप र इलेक्ट्रोनिक संगीतको मिश्रणका लागि परिचित थिए। उनका ‘लाइफ गोज ऑन’ र ‘मिस यू’ जस्ता गीतहरूले विश्वव्यापी लोकप्रियता हासिल गरेका थिए। उनको जन्म १९९३ जुन २९ मा अमेरिकाको क्यालिफोर्नियास्थित सान्टा क्रुजमा भएको थियो।
न्यूज एजेन्सी एएनआइका अनुसार आइतबार रियो डी जेनेरियोमा दुई हेलिकोप्टर आकाशमै ठोक्किएपछि दुवै विमान दुर्घटनाग्रस्त भएका थिए र घटनास्थलमा आगलागी समेत भएको थियो। दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन सम्बन्धित निकायहरूले अनुसन्धान सुरु गरेका छन्।
रियो डी जेनेरियो राज्य प्रहरीका अनुसार घटनास्थलको परीक्षण सम्पन्न भइसकेको र विस्तृत फरेन्सिक रिपोर्टको प्रतीक्षा भइरहेको छ। मृतकहरूको औपचारिक पहिचानका लागि थप परीक्षण पनि गरिनेछ।
ओलिभर ट्रीले सन् २०१० मा आफ्नो संगीत यात्रा सुरु गरेका थिए। सन् २०१७ मा उनको गीत भाइरल भएपछि उनको लोकप्रियता बढेको थियो।
प्रकाशित: १ असार २०८३ ११:३५ सोमबार





