५ श्रावण २०८३ मंगलबार
image/svg+xml
समाज

विराटनगरको होटलमा बसेका एक भारतीय युवकको मृत्यु

विराटनगरस्थित एक होटलमा कोठा लिएर बसेका एक भारतीय युवकको शङ्कास्पद मृत्यु भएको छ।

मोरङको विराटनगर महानगरपालिका-१० मा रहेको शुभ होटलमा बसेका भारत बिहार, सहरसाका २४ वर्षीय प्रिन्स कुमारको शनिबार राति मृत्यु भएको हो।

मोरङ प्रहरीका प्रवक्ता एवम् डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार प्रिन्स शनिबार राति ११ बजेतिर होटलको कोठामै अचानक बिरामी परेका थिए।

उनलाई तत्काल उपचारका लागि विराटनगरकै न्युरो अस्पताल लगिएको भए पनि चिकित्सकले अस्पताल पुर्‍याउनासाथ मृत घोषणा गरेका थिए।

डीएसपी मिश्रले भने, ‘घटनाको विस्तृत अनुसन्धानका लागि वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी लोकेन्द्रसिंह गुरु र जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर अभिषेक श्रेष्ठको नेतृत्वमा टोली खटिएको छ।’

प्रिन्सको मृत्यु के कारणले भएको हो भन्ने विषयमा हालसम्म कुनै ठोस आधार फेला नपरेको प्रहरीले जनाएको छ। उनी को सँग र कुन प्रयोजनका लागि विराटनगर आएका थिए भन्नेबारे पनि प्रहरीले सोधपुछ र प्रमाण सङ्कलन गरिरहेको छ।

प्रहरीका अनुसार मृतकको शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाइने तयारी भइरहेको छ। ‘मृत्युको यकिन कारण पोस्टमार्टम रिपोर्टपछि मात्र खुल्नेछ,’ डीएसपी मिश्रले भने।

घटनाको सम्बन्धमा अन्य आवश्यक विवरणहरू सङ्कलन गर्ने कार्य जारी रहेको प्रहरीको भनाइ छ।

प्रकाशित: ३१ जेष्ठ २०८३ १६:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App