२६ मंसिर २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

निरञ्जना चन्द ‘निरू’ को ‘वनफूलको विद्रोह’ लाेकार्पण

सभ्यता अन्वेषण केन्द्रले कवयित्री निरञ्जना चन्द ‘निरू’ को ‘वनफूलको विद्रोह’ कवितासंग्रहकाे लाेकार्पण गरेकाे छ।

नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति तथा वरिष्ठ साहित्यकार गङ्गाप्रसाद उप्रेतीकाे प्रमुख आतिथ्य र साहित्यकार प्राज्ञ शशि लुमुम्बूकाे अध्यक्षतामा कार्यक्रम भएकाे हाे।

प्रमुख अतिथि गङ्गाप्रसाद उप्रेती, प्राज्ञ लुमुम्बू, विशेष अतिथिहरू प्राडा जीविन्द्रदेव गिरी, प्रा. जगत्प्रसाद उपाध्याय प्रेक्षित, प्राडा हेमनाथ पौडेल, प्राडा देवी नेपाल र कवयित्री विमला तुम्खेवाले संयुक्त रूपमा कृतिको लाेकार्पण गरेका थिए।

लाेकार्पणपछि बोल्दै प्रमुख अतिथि उप्रेतीले कवयित्री चन्दको लेखनशैली समकालीन समाजका यथार्थ, मानवीय संवेदनशीलता र भावनात्मक गहिराइको सशक्त प्रस्तुति भएको उल्लेख गरे।

उनले २०७८ सालमा नेपाल प्रज्ञाप्रतिष्ठानले आयोजना गरेको कविता महोत्सवमै चन्दको काव्य–क्षमताप्रति आफू प्रभावित भएकाे उल्लेख गर्दै भने, “चन्दका कवितामा मार्मिकता छ, तिख्खरता छ र पाठकको अन्तरमन चिर्ने शक्ति छ।”

उनका अनुसार ‘वनफूलको विद्रोह’ शीर्षकले नै प्रकृति–प्रतीक मार्फत स्वतन्त्रता, विद्रोह, अस्तित्व र सामाजिक न्यायको आवाज काव्यात्मक ढङ्गले उठान गरेको संकेत गर्दछ।

कार्यक्रममा प्राडा गिरी, प्रा. उपाध्याय, प्राडा पौडेल, प्राडा नेपाल तथा तुम्खेवाले कवयित्री चन्दका कविताका जीवनका उतारचढाव, संवेदना, सामाजिक यथार्थ र मानवीय अनुभूतिका विविध आयामबारे प्रकाश पारे।

समारोहमा कवयित्री चन्दले आफ्नाे कविता लेखनयात्राबारे प्रकाश पारेकी थिइन्।

कवयित्री निरू सिम्ता–साहुखोला (सुर्खेत) जन्मस्थल र बर्दिया कर्मथलो भएकी एक सक्रिय र चर्चित समकालीन कवयित्री मानिन्छन्। यसअघि प्रकाशित साइनो (२०७६), निरूको निरूपण (२०७७) तथा पत्रपत्रिकामा फुटकर कविताका माध्यमबाट उनले काव्य–मञ्चमा पहिचान स्थापित गरिसकेकी छन्।

२०७७ को लुम्बिनी प्रदेश कविता प्रतियोगितामा पहिलो, २०७८ को प्रज्ञाप्रतिष्ठान राष्ट्रिय कविता महोत्सवमा तेस्रो तथा २०८० को साहित्य सदन राष्ट्रिय कविता महोत्सवमा दोस्रो स्थान हासिल गर्दै उनी निरन्तर साहित्यिक यात्रामा स्थापित हुँदै छिन्।

रत्न पुस्तक भण्डारले छापेको कृतिको मूल्य रु. ३९५ रहेको छ।  

प्रकाशित: २६ मंसिर २०८२ १०:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App