आगामी फागुन २१ को निर्वाचनमा विदेशमा भएका नेपालीहरुलाई मताधिकार दिनुपर्ने मागसहित ज्ञापनपत्र बुझाइएको छ। साथै, अन्तरजिल्ला मतदानको माग गर्दै पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठसहितले निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएका हुन्।
सर्वोच्च अदालतबाट २०७४ सालमा विदेशमा रहेका नेपाली नागरिकहरुलाई पनि निर्वाचनमा भाग लिन पाउने गरी व्यवस्था गर्नु भन्ने निर्देशनात्मक आदेश दिएको भन्दै यस्तो व्यवस्था गर्न भनिएको छ। निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता र अद्यावधिक कार्यविधि बनाउने लगायतका तयारी गरेको पनि पत्रमा उल्लेख छ।
विदेशी दूतावासहरुले पनि चासो देखाई, निर्देशन आए विदेशमा मतदान गर्न सक्छौं भनेको दाबी गरिएको छ।
त्यस्तै, नेपाल भित्रै रहेर पनि गृह मतदान केन्द्रमा पुग्न असमर्थ मतदातालाई अस्थायी केन्द्रबाट मतदान गर्ने कानुनी प्रावधान कार्यान्वयनमा जोड दिन माग गरिएको छ। निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले खटिएको ठाउँबाट मतदान गर्ने गरेको भन्दै सबैका लागि उक्त व्यवस्था गर्न भनिएको छ।
बायोमेट्रिकबाट मतदाता पहिचान र विद्युतीय भोटिङ मेसिनबाट लगायतका प्रविधि प्रयोग गरेर अन्तरजिल्ला र विदेशबाट मतदान गर्न मिलाउन आयोगसँग अपिल गरिएको हो।
प्रकाशित: २६ मंसिर २०८२ १३:३९ शुक्रबार





