नेपालीहरू नपुगेको सायद विश्वको कुनै मुलुक छैन होला। रोजगारी र अवसरको खोजीका लागि नेपालीहरू बिदेसिने क्रम रोकिएको छैन। अवसरको खोजीमा निस्केका कतिपय नेपाली हिजो पनि बिदेसिने र उतै घरजम गरेर बस्ने गरेका थिए। भुटान, बर्मा, सिलोङ, कालिङपोङ, मलेसिया, थाइल्यान्ड लगायत देशमा नेपालीभाषीहरूको करिब तीन–चार पुस्ता पुरानो बसोबास रहेको छ। यसकै विस्तारित रूप अहिले अमेरिका, क्यानडा, युरोपका विभिन्न मुलुक मात्र नभई दक्षिण अफ्रिकामा समेत नेपाली भाषी र नेपाली जातिको बसोबास छ।
विश्वभर छरिएर रहेका नेपाली जाति र भाषीको पितृभूमिचाहिँ नेपाल नै हो। भुटानबाट लखेटिएका नेपालीभाषीहरूको शरणार्थी जीवन पनि नेपालकै विभिन्न जिल्लामा बितेको थियो।नेपालीभाषी भएकै कारण भुटानबाट लखेटिएर झापाको शरणार्थी शिविरमा बसेका र तेस्रो देश अमेरिका पुनर्वासमा पुगेर सफल व्यवसायी बनेकामध्ये एक हुन्– डिल्ली अधिकारी। उनै डिल्ली अधिकारी यतिबेला ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को अन्तिम सो सञ्चालनका लागि काठमाडौंमा छन्। अन्तर्राष्ट्रिय स्तरका ती दुई रियालिटी सोको आयोजक ‘इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ का अध्यक्ष हुन् उनी। व्यक्तिगत पहलमा करोड–करोड राशीको पुरस्कार दिलाउने र विश्वभरका नेपालीलाई पितृभूमिमा ल्याउने काम सामान्य होइन। उनी असमान्य काममा लागेको लामो समय भएको छ। रियालिटी सो सञ्चालन गरेको दुई वर्ष भइसकेको छ।
गैरनाफामूलक रियालिटी सो र गीतसंगीतका माध्यमबाट संसारभर छरिएका नेपालीमूलका नागरिकलाई नेपालसँग जोड्ने परिकल्पनाका कारण उनी चर्चामा आएका छन्। दर्जन बढी मुलुक क्यानडा, अमेरिका, युके, पोर्चुगल, थाइल्यान्ड, हङकङ, जापान, दुबई, कतार, अस्ट्रेलिया, भारतको सिलिगुडी र मुम्बई एवं नेपालका बिर्तामोड, नेपालगन्ज, पोखरा र काठमाडौंमा गरिएको अडिसनबाट छानिएका प्रतिभाहरू सबैलाई काठमाडौंमा ल्याएर अन्तिम विजेता घोषणा गरिने यो प्रोजेक्ट अत्यन्त खर्चिलो मात्र छैन, असजिलो पनि उत्तिकै छ।महिनौं लाग्ने, अनेकन् झमेला आइलाग्ने र काम गर्दागर्दै अपजसहरू आइलाग्ने भएकाले चुनौतीपूर्ण छन्।
अहिले ‘भ्वाइस’ र ‘डान्स’ दुवै विद्याका विजेतालाई एक–एक करोड रुपैयाँ पुरस्कार छ भने फस्ट रनर अपलाई २५ लाख, सेकेन्ड रनरअपलाई १० लाख र टप टेनमा पर्ने सबैलाई एक–एक लाख रुपैयाँ नगदसहित पुरस्कारका राशी रहेको छ। जसले गर्दा यो कार्यक्रमप्रति प्रवासी नेपालीहरू आकर्षित भएका छन्। विदेशमा स्थायी ठेगाना भएका तर नेपालमा भिसा लिएर बस्नुपर्ने करिब एक हजार नागरिक यही कार्यक्रमका लागि नेपाल आएका छन्।
यो व्यावसायिक हिसाबले चलेको प्रोजेक्ट होइन, नाफा कमाउने वा निजी स्वार्थ परिपूर्ति गर्ने उद्देश्यले गरिएको छैन।यो जातीय एकताका लागि हो। गीत संगीतका माध्यमबाट संसारभरका नेपालीलाई नेपालसँग जोड्ने उद्देश्यले गरिएको हो। गीतसंगीतका माध्यमबाट हाम्रो मौलिकतालाई जगेर्ना गरौं, आफ्नोपनलाई जोगाएर राखौं भन्ने उद्देश्य रहेका कारण कार्यक्रम सञ्चालनमा ल्याएको अधिकारी बताउँछन्।
नेपालीपन बचाउन र हामी नेपाली बाध्यतावश विश्वका जुन देश पुगे पनि पुर्ख्याैली नासो भुल्नु हुन्न भन्ने सन्देश दिन र नेपाली कला, संस्कृति एवं भाषा भावी पिँढीलाई पुस्तान्तरण गर्ने उद्देश्य राखेर सो गरिएको उनको धारणा छ। विश्वभरि नेपाली जातिको परिचयलाई बचाइराख्नु सबैको दायित्व हुने उनको धारणा छ। ‘हामी को हौं? हाम्रो परिचय के हो? हाम्रा पुर्खाले बनाइदिएको संस्कार–संस्कृति के रहेछ? हाम्रो वास्तविक जातीय परिचय के हो? जस्ता राष्ट्रिय सन्दर्भ भावी पिँढीलाई बुझाउन जरुरी छ। संसारभर छरिएका नेपालीलाई नेपालसँग कसरी जोड्न सकिन्छ? नेपाल देश के हो र कसका लागि बनेको हो? हामी पछाडिको पुस्तालाई के पुस्तान्तरण गर्ने? कमसेकम हाम्रो पन, भाषा, संस्कार, संस्कृति, रीतिथिति, मौलिकता भावी पुस्तालाई दिन सकौं भनेर हामी लागिरहेका छौं,’ उनको धारणा छ।
भुटान सरकारले नेपाली भाषी नागरिकलाई देश निकाला गर्यो। सन् १९९० को दशकमा करिब ६७ नेपालीभाषीले ज्यान गुमाएका थिए।सयौं नेपालीभाषीलाई जेलमा राखियो। त्यही क्रममा डिल्ली अधिकारीसहित एक लाखभन्दा बढी नेपालीभाषीहरू नेपालमा शरणार्थी जीवन बिताउन बाध्य भए।
नेपालमा शरणार्थी जीवन बिताएर सन् २०१० को अन्तिमतिर अमेरिका पुगेका उनले जिरो इन्भेस्टमेन्टमा घरबाटै होम केयर व्यवसाय सुरु गरेका थिए। अधिकारीले अहिले अमेरिकाका कैयौं राज्यमा होम केयर, होम हेल्थ, स्किल सर्भिसेस, फार्मेसी, रियल स्टेट (लेन्डिङ कम्पनी) आदिमा व्यापारिक साम्राज्य खडा गरेका छन्। भुटानी समाजमा व्यवसायको मेरुदण्डका रूपमा खडा भएको छ। त्यहाँ उनले करिब १३ हजारलाई प्रत्यक्ष अप्रत्यक्ष रोजगारी दिएका छन्।
‘जीवनको बिन्दुमा पुगेपछि शान्ति, सन्तुष्टि र आनन्द आवश्यक छ। भौतिक सुखसुविधाको त एउटा सीमा हुन्छ।वास्तवमा मानिसले निजी स्वार्थभन्दा सिंगो समाज र सिंगो जातिको हित र कल्याणबारे सोच्नुपर्छ,’ अधिकारी भन्छन्।
मान्छेका असीमित चाहनालाई अभाव र परिधिभित्र सीमित गर्न सकिँदैन। अठोटसाथ लम्किएका पाइला र त्यसप्रतिको आफ्नै विश्वास सफलताको कारक भएकाले नेपालमा भुटानी शरणार्थी भएर रहँदा होस् वा अमेरिकामा पुनर्वास भएपछि समय अभाव हुँदा पनि सामाजिक काममा उनको लगाव देखिन्छ। उनी सामाजिक काममा सधैं जोडिएका छन्। अमेरिकादेखि नेपालसम्म सामाजिक कामको चर्चा अधिक छ।तर उनी आफैं मैले यो काम गरेको छु भनेर अगाडि आएको देखिँदैन।
भुटानले देश निकाला गरेपछि उनले आफ्नो राष्ट्रियता नै गुमाए।पुर्खाहरू नेपालकै थिए, नागरिकता भने नेपालको थिएन। नेपालबाट राष्ट्रियता नभएकै कारण पुनर्वासका लागि अमेरिका पुगेका थिए। भाषाको समस्यादेखि आफ्नो भन्ने कोही नभएको मुलुकमा काम गर्नु र व्यापार व्यवसायमा स्थापित हुनु अर्को चुनौती थियो।
सन् १९९० को सुरुवाती चरणमा भुटान सरकारले नेपालीभाषीलाई होच्याउने, अपहेलित गर्ने र भाषा–संस्कृतिमाथि नै प्रतिबन्ध लगाउन थाल्यो। ‘एक भाषा, एक संस्कृति’ नीतिका नाममा जोङखा भाषा लाद्न सुरु गरेपछि नेपाली भाषा र संस्कृति मानिरहेका नेपालीभाषीहरूले कडा प्रतिरोध गरे। देश निकालामा परेपछि नेपालका विभिन्न शिविरमा जन्मेहुर्केकाहरू अहिले तेस्रो मुलुक पुनर्वास भई विश्वका धेरै मुलुकमा छरिएर रहेका छन्। उनीहरू सबैलाई कला, साहित्य र संस्कृतिमार्फत एउटै मालामा उन्ने काममा उनै अधिकारी लागेका छन्। ‘नेपाली जाति, भाषा र संस्कृतिको भूमण्डलीकरण भएको छ, नेपालसँग भावनात्मक साइनो छ, त्यो साइनोलाई विश्वभरिका नेपाली सम्बन्धमा जोड्न चाहन्छन्। त्यसका लागि कला संस्कृति र भाषा नै हो,’ उनी भन्छन् ।
नेपालीभाषीका लागि योगदान गर्दै आएको इन्ट्रा फाउन्डेसनले सञ्चालन गर्दै आएको ‘रियालिटी सो’मा गैरआवसीय नेपालीका सन्तानहरूको उल्लेख्य सहभागिता छ। नेपालबाट विभिन्न अवसरको खोजीमा बिदेसिएका नागरिकहरूको यस्ता कार्यक्रमप्रति निकै आकर्षण छ। तर गैरआवासीय नेपाली संघले भने यस्तो विषयमा कुनै चासो राखेको छैन। गैरआवासीय संघले आफैं कार्यक्रम गरेको छैन तर भइरहेको कार्यक्रमप्रति पनि कुनै चासो राखेको छैन। ‘गैरआवासीय नेपालीका सन्तानहरू कार्यक्रममा सहभागी छन् तर संघको भने चासो छैन।यसमा मलाई कुनै गुनासो छैन, काम महत्त्वपूर्ण हो,’ अधिकारी भन्छन्।
नेपालप्रति आस्था र सम्मान साँचेर राखेका उनीहरूलाई नेपालसित जोड्ने, उनीहरूको ज्ञान तथा सिप प्रयोग गर्ने र उनीहरूलाई सांस्कृतिक रूपमा सुसूचित गर्ने आफ्नो कर्तव्य सम्झेका अधिकारीलाई नेपाल सरकारले पनि आर्थिक रूपमा कुनै अभिभावकत्व प्रदान गरेको छैन। ‘नेपाल सरकारसँग कुनै आर्थिक दायित्वको बोझ बोकाउने उद्देश्य छैन। नैतिक रूपमा हाम्रो कार्यक्रमप्रति माया देखाउनुभएको छ। राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्रीहरू तथा अन्य प्रतिष्ठित महानुभावहरूले कार्यक्रमप्रति जुन भावना प्रकट गर्नुभयो, साथ दिनुभयो र सहभागिता जनाउनुभएको छ, त्यो हाम्रा लागि प्रिय छ, माया भाव छ,’ अधिकारी भन्छन्। तर विश्वमा छरिएर रहेका नेपालीहरूलाई भाषिक र सांस्कृतिक रूपमा एउटै मालामा उन्ने उपाय नेपालको राज्य–संयन्त्रसँग अभाव रहेको भने प्रस्ट हुन्छ।
‘अमेरिकामा रहेका नेपालीहरूको एउटा समूह यो चिन्तनमा लाग्यो । समूहले पुसतिर अवधारणा फुरायो– एउटा साझा संस्था गठन गरौं, संसारभरिका नेपाली जातिलाई आपसमा पनि जोडौं र नेपालसँग पनि जोडौं।र अहिले यो अवस्थामा आएको छ,’ अधिकारी भन्छन, ‘अब यसलाई जोगाउने उपायको खोजीमा छु।’
नेपाली राहदानीवाहक वा भर्खरै नागरिकता त्यागेर विदेशी नागरिक भएकाहरूको भन्दा धेरै विस्तारित छ नेपाली समुदाय।पुस्तौंअघि नेपालबाट बाहिर गएका वा नेपाली सरहदबाहिरै रहेका नेपालीहरू नेपालसँग सम्बन्ध गाँस्न चाहन्छन्। बहालवाला नेपाली नागरिक र भूतपूर्व नेपाली नागरिकको परिभाषामा नेपालीहरू संगठित नभएका होइनन्। तर, विश्वभरि रहेका नेपाली जातिको विशाल जनसंख्यालाई समेट्ने साझा संस्था थिएन। जस्तो, भुटानमा रहेका वा भुटानबाट नेपाल हुँदै बाहिर गएका नेपालीहरूको ठुलो संख्यालाई कहाँ अटाउने? म्यानमार (बर्मा) र भारतका विभिन्न भूभागमा रहेका गोर्खाली परिचयमा रहेका नेपालीलाई कसरी जोड्ने? ‘सम्पूर्ण नेपाली जातिको चाहना भावनात्मक रूपमा पुर्खाको (वा आफ्नो) जन्मभूमिसँग जोडिने हो। उनीहरूले नेपालसँग माग्ने एउटा मात्रै कुरा छ, तिमीहरू नेपाली मूलका हौ भनिदिए हुन्छ । उनीहरू आफ्नो गच्छेअनुसार नेपाललाई योगदान दिन चाहन्छन्,’ अधिकारीले भने।
मूलतः नेपाली सांस्कृतिक, सामाजिक विरासतलाई प्रोत्साहित गर्दै एकताको सञ्जाल विस्तार गर्ने यो समूहको लक्ष्य छ । ‘नेपाल र विश्वका सम्पूर्ण नेपाली जातिको विकास र प्रगतिलाई टेवा पुर्याउन सकिन्छ कि भन्ने सोच राखिएको छ। नेपाली मूलका अर्थात् नेपाली जातिका समुदायको जागरुक संस्थाका रूपमा उनीहरू यसलाई स्थापित गर्न चाहन्छन्। नेपाल मूल थलो भई वर्षौंअघि वा पुस्तौंअघि विश्वका विभिन्न मुलुकमा अस्थायी वा स्थायी बसोबास गरेका वा बाध्यतावश अर्को मुलुकमा शरण लिन पुगेका नेपाली जातिका व्यक्ति र समूह यो अभियानमा छन् । नेपालमा बसोबास गरेका र नेपालबाहिर बसोबास गरेका, नेपालका नागरिक वा कुनै पनि देशका नेपाली मूलका नागरिकलाई आपसमा जोड्न खोजेका छन् उनीहरूले । ‘कुन देशमा हामी बस्छौं, कुन देशको नागरिकता लिन्छौं भन्ने कुरामा हाम्रो सरोकार छैन। हामी उहाँहरू नेपाली मूलका हुनुहुन्छ कि हुनु हुन्न भन्ने हेर्छौं,’ अधिकारीले भन्छन्।
पुर्खाको देश छोड्नुपरे पनि वा प्रवासमै जन्मेर पुस्तौंपुस्तासम्म बिताउनुपरे पनि आफ्ना पुर्खाको देशप्रति माया, स्नेह, चिन्ता, चासो र शुभ चिन्तन अझ बढी नै हुने गरेको जानकारी दिँदै उनीहरू नेपाललाई सांस्कृतिक कार्यक्रम बनाउन चाहन्छन्। आफ्नो पुर्खाको देशको आर्थिक, सामाजिक, सांस्कृतिक र सर्वांगीण विकासमा मद्दत पुर्याउने उनीहरूको चाहना छ ।
प्रवासमा बस्ने नेपाली जातिका लागानीकर्तालाई नेपालमा लगानीको वातावरण बनाउन, लगानी प्रोत्साहन गर्न र लगानीको उचित प्रतिफल आफ्नै पितृभूमिको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा लगाई सामाजिक काम गर्न उनीहरू तयार छन्। संसारकै सर्वोच्च शिखर सगरमाथा भएको मातृ, पितृभूमि नेपालको पर्यटन विकासमा उनीहरू योगदान दिन तयार छन्। मूलतः प्रवासी नेपालीको हकहित, अधिकार र आपसी सद्भावका लागि भए पनि नेपाली जातिको इतिहास, संस्कृति र भाषालाई जुगौंसम्म कायम राख्ने मूलभूत उद्देश्यले स्थापित भएकाले यसलाई नेपालको कानुनअनुसार, गैरआवासीय नेपाली कानुनअनुसार नेपालको परराष्ट्र मन्त्रालयमा दर्ता गर्न चाहन्छन्। यो सांस्कृतिक अभियानले नेपालसँग नेपालको नागरिकता माग्नेछैन । नेपाली जातिलाई नेपालसँग जोड्नका लागि कुनै प्रकारको नेपाली पहिचान खुल्ने परिचयपत्र नेपाल सरकारका तर्फबाट जारी होस् भन्ने इन्ट्रा फाउन्डेसनको चाहना छ ।
नेपाली भाषा, कला, संस्कृतिको दूतका रूपमा संसारभर यो अभियानले काम गर्नेछ । भावी पुस्तालाई समेत नेपालसँग जोड्दै नेपाली भाषा, कला र संस्कृतिको जगेर्ना, प्रचारप्रसार, विकास र संवर्धन गर्नुका साथै नेपाली जाति जहाँ रहे पनि संकटका बेला जातीय एकतासहितको सहकार्य गरी सामाजिक सेवा गर्नेछ । प्रवासमा रहेका नेपाली जाति आर्थिक रूपमा सुदृढ र सम्पन्न छन् । ४० भन्दा बढी देशमा नेपालीभाषीहरू सेनामा कार्यरत छन्। उनीहरूको राजनीतिक उद्देश्य पटक्कै छैन। उनको बुझाइमा यी नेपाली जातिका मानिस हुन् भनेर परिचय नेपाल सरकारले दियो भने उनीहरू खुसी हुनेछन् ।
भारतले संसारभरिका भारतीय मूलका मानिसलाई जोडेको छ । नरेन्द्र मोदी सरकारका पालामा भारतीय डायस्पोरा उत्साही छ । नेपाली भाषीहरू पनि यस्तै उत्साही हुन चाहन्छन्। विश्वका ६२ देशको सुरक्षामा नेपाली मूलका नागरिक कार्यरत रहेछन् । सबैलाई एकआपसमा जोडौं, प्रकारान्तरले यो नेपालको समृद्धि र शक्तिका लागि आधारस्तम्भ हुने फाउन्डेसनका अध्यक्ष अधिकारीको बुझाइ छ।
प्रकाशित: ७ भाद्र २०८२ ०८:०३ शनिबार




