५ माघ २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

तिब्बत चिनाउने उपहार

पुस्तक

प्रथम मानवशास्त्री तथा समाजशास्त्री डोरबहादुर विष्टको चर्चित अंग्रेजी किताब ‘रिपोर्ट फ्रम ल्हासा’ को नेपाली अनुवाद ल्हासाको खबर विगतमा ‘बेस्ट सेलर’ मध्ये एक थियो। नेपालको कूटनीतिक इतिहासमा दूरगामी महत्त्व राख्ने यो पुस्तकमा तत्कालीन विश्वको शीतयुद्ध र चीनमा जारी सांस्कृतिक क्रान्तिको समयमा नेपाली कूटनीतिज्ञले देखेको परिदृश्यलाई समेटिएको छ।

सांस्कृतिक क्रान्तिको दौरानमा सन् १९६८ तिर त्यहाँका चट्टानी पहाडहरूमा बुद्धका मूर्तिभन्दा माओका तस्बिर कुँदेको विषयले यो पुस्तक उल्लेख गरिएको छ। विगतमा बुद्धका जन्तर बोक्नेहरूभन्दा माओका रातो किताब बोक्नेहरू बढी भेटिएको विषयलाई पुस्तकमा समेटेर त्यतिबेला चीनमा के चल्दै थियो भन्ने समयको उपक्रमलाई चित्रण गरिएको छ।

पुस्तकमा समेटिएका यी र यस्ता चाखलाग्दा कौतूहलमिश्रित विषयकै कारण फेरि पनि यसको दायरा फराकिलो हुनेमा विश्वास गर्न सकिन्छ। अंग्रेजी र नेपाली दुवै भाषामा यसको प्रकाशन हुनु नै सुखद पक्ष रहेकाले पुस्तकको महत्त्व अझै बढेको छ। तत्कालीन समयमा चीनको सामाजिक, राजनीति र आर्थिक पक्ष बुझ्न यो पुस्तक बढी नै उपयोगी छ।

अंग्रेजी भाषामा लिखित पुस्तकलाई पत्रकार विराट अनुपमले नेपाली भाषामा रूपान्तरण गरेर किताबको नाम ‘ल्हासाको खबर’ राखिएपछि आएको पुस्तकभित्र समेटिएका विषय ध्यान दिने हो, नयाँ पुस्ताका लागि नेपाल–चीन–ल्हासाबिचको कूटनीति बुझ्न पनि मद्दत गर्नेछ।

विष्ट त्यहाँ कूटनीतिज्ञका रूपमा पुग्दा नै तिब्बतको विकास र आधुनिकतामा चीन जोड दिएको थियो। १२ लाख वर्ग किलोमिटरको सारा क्षेत्रलाई नै चुस्त आधुनिक प्रशासनका रूपमा सञ्चालनमा ल्याइएको विषयले हामी नेपालीहरूसँग तुलना गर्ने हो भने आजभन्दा ५५ वर्षअघि फर्कनुपर्ने हुन्छ। ५५ वर्षअघि नै चीन आधुनिक चीनको रूपमा रूपान्तरण भइसकेको थियो। आज विश्वको शक्तिशाली राष्ट्रमध्येको एक बनेको छ। मानिसहरूले तिब्बती सभ्यताबारे चासो राखिरहने त्यो एउटा औलोकिक अदृश्य र कौतहूल सिर्जना गरिरहने ठाउँ भएको मानवशास्त्री डोरबहादुर विष्टको पुस्तकले बताउँछ।

‘शिक्षित युवाहरू गाउँघरमा पुगेर गरिब र निम्नमध्यम किसानबाट पुनः शिक्षित हुन आवश्यक छ,’ माओको यो भनाइलाई विष्टले त्यतिबेला आफ्नो पुस्तकमा उल्लेख गरेको विषय अहिले नेपालको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक छ। नेपालमा पढेलेखेका युवायुवती गाउँ फर्कन अनकनाउने सन्दर्भमा विष्टको यो पुस्तकले गाउँ जान र किसानका कुरा सुन्न अहिलेको पुस्तालाई झकझक्याउन बाध्य  पार्नेछ।

ल्हासाको खबर पढ्दा त्यतिबेला ल्हासामा के के उत्पादन हुन्थ्यो, त्यतिबेला कुन कुन तहका उद्योग कलकारखान सञ्चालनमा थिए भन्ने पनि जानकारी हुन्छ। साथै नेपालतर्फ के के सामान निकासी हुन्थे? कुन कुन नाका सञ्चालनमा थिए? कसरी सञ्चालनमा आए? भन्ने पनि जानकारी दिनेछ। आधुनिक सहरहरूको विकास र आधुनिक कृषि परियोजनामा चीनले त्यतिबेला नै फड्को मारेको थियो भन्नेमा हामी जानकार हुनेछौं। चीन मामिलामा चासो राख्नेहरूका लागि यो पुस्तकले धेरै ऐतिहासिक तथ्यहरूलाई अभिलेखीकरण गरेको छ।

चीनले तिब्बतलाई आफ्नो मातहतमा लिएपछि जनतालाई आत्मनिर्भर बनाउन खोलिएका कारखाना र उद्योगहरूको अवस्था, हवाई तथा यातायातको सञ्चालन र सुविधा आदिले गर्दा  त्यसको मुहार बदलिएको विषयलाई समेटिएको छ।

आधुनिकतालाई अँगालेसँगै तिब्बती जीवनशैली पुरानै रूपमा रहन सक्दैनथ्यो भन्ने विषयलाई पुस्तकमा समेटिएको छ। मूलतः पश्चिमा विश्वले उत्पादन गरेको आधुनिक विचार संस्कृति र  सभ्यताबाट दुनियाको कुनै पनि देश भाग्न सक्दैनथ्यो। तिब्बत दुनियाबाट अलग भएर रहन सक्दैनथ्यो। तिब्बती जनताले गरिबी पछौटेपन सामान्तवाद र धार्मिक सत्ताको विरुद्धमा विद्रोह गर्थे। तर चीनले उद्योगधन्दा कलकारखाना खोलेर जनतालाई विद्रोहबाट जोगाएको विषयलाई पनि पुस्तकमा समेटिएको छ।

सांस्कृतिक चेतना पनि उच्च कोटिको रहेको विषयमा पुस्तकभित्र चर्चा गरिएको छ। ल्हासामा देखाइने चलचित्र सामान्यतया भद्र, शिक्षाप्रद, क्रान्तिकारी हुने, विलासिता र यौनउत्तेजक नहुने तर पनि युवामाझ सिनेमाघर लोकप्रिय रहेको तथ्यलाई पुस्तकमा समेटिएको छ।

पुस्तकमा २८ वटा विभिन्न शीर्षकका आलेखहरू रहेका छन्। ती सबै आलेखमा कुनै न कुनै नयाँपन पढ्न पाइन्छ। यसप्रकारले भन्ने हो ल्हासाको खबर मानवशास्त्री समाजशास्त्री डोरबहादुर विष्टले नेपालीका लागि छाडेको तिब्बती भूमि झल्काउने संस्कृतिको उपहार हो। 

प्रकाशित: २६ पुस २०८२ ०८:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App