१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

नेपाल मुक्तक प्रतिष्ठान, कोशीले अर्पियाे चार स्रष्टालाई पुरस्कार

नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेशले मुक्तक दिवसको अवसर पारेर चार साहित्यकारलाई पुरस्कार अर्पिएकाे छ।

कार्यक्रमका प्रमुख अतिथि प्राडा टङ्कप्रसाद न्यौपाने, विशेष अतिथि प्राज्ञ विवश पोखरेल, वरिष्ठ साहित्यकारहरू बलराम पोखरेल, प्राध्यापक कविराज न्यौपाने, सरला चापागाई, प्राज्ञ गंगा सुवेदी, पुरस्कार दाताहरू र आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेल लगायतले चार साहित्यकारलाई पुरस्कार अर्पिएका हुन्।

प्रतिष्ठानले नेपाली साहित्य, समालोचना, अनुवाद र प्राज्ञिक क्षेत्रका अत्यन्त प्रभावशाली र बहुआयामिक व्यक्तित्व प्राडा गोविन्दराज भट्टराईलाई नरनाथ-नन्दकुमारी पोखरेल स्मृति पुरस्कार (रू. १५ हजार) अर्पिएकाे छ।

नेपाली कविता, समालोचना, बालसाहित्य र अनुसन्धानको क्षेत्रमा निरन्तर क्रियाशील रहेर नेपाली साहित्यको प्रवर्द्धनमा योगदान पुर्‍याएकी साहित्यकार प्राज्ञ डा. कौशिला रिसाललाई नन्दलाल दाहाल स्मृति साहित्य पुरस्कार (रु.१५ हजार) अर्पिएकाे छ।

त्यस्तै पाँच दशकभन्दा लामो समयदेखि लेखन, सम्पादन र कुशल संस्थागत नेतृत्वमार्फत नेपाली वाङ्मयको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका वरिष्ठ साहित्यकार मधु पोखरेललाई छमनादेवी रामप्रसाद पोखरेल स्मृति पुरस्कार (रु. ११ हजार) र नेपाली मुक्तक साहित्यका एक समर्पित र विशिष्ट साधक शिव अधिकारी (इलामे जेठो) लाई माधव-नर्मदा पोखरेल स्मृति साहित्य पुरस्कार (रु. ११ हजार) अर्पिएको छ।

कार्यक्रममा सशक्त कविहरू - विन्दु दाहाल मुकदर्शक, नानुमैया दाहाल, गोपाल निर्भीक र लक्ष्मी पोखरेलले पुरस्कृत स्रष्टा एवं द्रष्टाहरूको व्यक्तित्व र कृतित्वबारे परिचयात्मक मन्तव्य प्रस्तुत गरेका थिए।

उक्त कार्यक्रममा प्रमुख अतिथि प्राडा टङ्कप्रसाद न्यौपानेले नेपाली साहित्यको उन्नयन र विकासमा यस प्रकृतिका कार्यक्रमहरूले दरिलो खम्बाको रूपमा काम गर्ने बताए।

सचिव मदन भण्डारीले सञ्चालन गरेकाे उक्त कार्यक्रममा कोशी प्रदेशका स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको थियो।

त्यस्तै आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेलले नेपाली मुक्तकको अनुसन्धानात्मक विकासका लागि अन्य साहित्यक विधाहरूसँगसँगै समान तहमा मुक्तकको अध्ययन चिन्तन मनन र गहन छलफल हुनुपर्दछ भन्ने तर्क प्रस्तुत गरे।

प्रकाशित: १८ माघ २०८२ ०८:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App