नेपाली आधुनिक गीतको रेकर्डिङ १९६५ सालमा पुरुष गायक सेतुराम श्रेष्ठ प्रधानबाट सुरु भयो भने १९९० सालपछि मेलवादेवीको आवाजबाट आधुनिक गीत रेकर्डिङ भयो ।
सेतुराम र मेलवादेवीको गायनमा २४ वर्षको फरक छ तर मेलवादेवीको आवाजमा जुन गम्य, गाम्भीर्य अनि स्वरको पराकाष्ठा छ, त्यसको तुलना अरू कुनै गायक वा गायिकासित गर्न सकिँदैन ।
मेलवादेवीको गायन चन्द्रशमशेरको दरबारबाट सुरु भयो तर उनको गायनले नेपाली सुगम सङ्गीतलाई शास्त्रीयताको पराकम्पन दियो । साथै ठुमरी र खयाल गायनमा नेपाललाई नयाँ पहिचान दियो ।
मेलवादेवीले नाटककार शास्त्री शुक्रराज जोशीको स्वरको द्वारका निम्ति रचित गीत ‘न घरलाई घर कहिन्छ’ सुन्ने हो भने आजको समयमा नारी जागरण र वुमन इम्पावरमेन्टको कुरा गर्ने पुस्तालाई उनको गीतले झकझकाउँछ ।
शुक्रराज जोशीले पछि साहित्यमा शास्त्री गरेर उनी एक क्रान्तिकारी भएर निस्के ।उनीसितको मेलवादेवीको निकटताका कारणपछि गायिका मेलवाले देश छोडेर परदेश जानुपर्यो । यसका पछाडि इतिहासगत त्रुटि वा गलत अध्ययन आफ्नै ठाउँमा होला, तर राष्ट्रले एउटा गरिमामय आवाज भएकी गायिकालाई चिन्न नसकेको र सम्मान गर्न नसकेको इतिहासको त्यो क्षणएउटा ठुलो भूल हो भन्न सकिन्छ ।राणाशासक चन्द्रशमशेरपछि उदाउँदै गरेका अर्का शासक जुद्धशमशेर राणाको कोप भाजनमा परेर मेलवाले देश त छोडिन् तर उनको आवाज यो देशको कुनाकुनामा गुन्जिरह्यो ।
जति बेला मेलवादेवी निर्वासनमा ठुमरीकी रानी भनेर चिनिँदै थिइन्, त्यतिबेला नेपालमा उनी करिब करिब प्रतिबन्धित नै थिइन् ।
जुद्धशमशेरको उदयकालमा उनका दुई गीतको भिनाइल रेकर्ड लिएर नेपाल आउँदै गरेका एचएमभीका डिलर देवनारायण मानन्धर एन्ड सन्स नेपाल पस्दै गर्दा भीमफेदीको उकालोबाटै भागेर भारत फर्कनुपरेको थियो भन्ने कथा यस कम्पनीका छोरा द्वारिकानारायण मानन्धर सम्झिन्छन् ।
शुक्रराज जोशीसितको निकटताका कारणपछि मेलवा देश छोडेर परदेश जानुपर्यो । यसका पछाडि इतिहासगत त्रुटि वा गलत अध्ययन आफ्नै ठाउँमा होला, तर राष्ट्रले एउटा गरिमामय आवाज भएकी गायिकालाई चिन्न नसकेको र सम्मान गर्न नसकेको इतिहासको त्यो क्षणएउटा ठुलो भूल हो।
गत वर्ष निधन भएका मानन्धरले भारतको कोलकाताबाट रेकर्ड गरेर ल्याएका मेलवादेवीका दुई गीत ‘बाबा म बम्बई जान्नँ’ र ‘पापी डुलुवा भँमरा’को रेकर्ड यसरी बाटैमा छाडेर भाग्नुपरेको इतिहास सुनाउँदा थाहा हुन्छ, मेलवामाथि देश कति सख्त भएको रहेछ ।
देवनारायण मानन्धर एन्ड सन्सका प्रोपाइटर तीर्थनारायण मानन्धरकै पहलमा मेलवादेवीका केही गीत पछि रेडियो नेपाललाई प्राप्त भयो– ‘सवारी मेरो रेलैमा’, ‘तानी तानी’, ‘आउ बसौं पियारी मिरमिरे झ्यालैमा’, ‘थापाथाली हे दरबार’, ‘न घरलाई घर कहिन्छ’ । यी गीतमार्फत नै मेलवादेवीको स्वरको पहिचान पछिसम्मै रह्यो ।
रेडियो सगरमाथाबाट बजेको मेलवादेवीको स्वर र गीत सुनेर वरिष्ठ गायिका दिलमाया खातीले एकपटक भनेकी थिइन्– यस्तो आवाज त दुर्लभै होला ।पचासको दशकमा मेलवादेवीको खनकदार आवाज सुनेर गायक, सङ्गीतकार एवं गीतकार हिरण्य भोजपुरेले आफ्नो नयाँ पुस्तकमा मेलवादेवीबारे व्यापक चर्चा गरेका छन् ।
त्यति राम्री गायिका मेलवादेवी चन्द्रशमशेरको दरबारबाट निकालिएको एक प्रसङ्मा सङ्गीत अन्वेषक मनोहरगोपाल गुरुवाचार्य लेख्छन्– दरबारिया षड्यन्त्रले मेलवादेवीलाई सिंहदरबार निष्काशन गरी सजायस्वरूप भद्रकाली मन्दिरमा आफ्नो इच्छाविपरीत सरसफाइको काममा लगाउनुपरेको थियो । मेलवादेवी चन्द्रशमशेरकी प्रिय गायिका थिइन् । उनको गायनको रसास्वादन नगरी चन्द्रशमशेरको दैनिक कामकाज सुरु हुँदैनथ्यो । मेलवादेवीलाई पनि थाहा थियो कि बिहान चन्द्रशमशेरलाई तिनको गायन नसुनी मुड ठिक हुँदैन । अतः मेलवादेवी भद्रकाली मन्दिरमा कुचो लगाउँदै राग देशमा गाउँथिन् र चन्द्रशमशेर सिंहदरबारको पश्चिमी तर्फबाट बरन्डामा बसेर तिनको गायन सुनेर आनन्द लिन्थे । यसबाट थाहा हुन्छ, चन्द्रशमशेर र मेलवादेवीको सम्बन्ध कति गहिरो थियो । अनि यसबाटै स्पष्ट हुन्छ, मेलवादेवीको आवाजको घनत्व ।
चन्द्रशमशेरको दरबारमै हुँदा मेलवादेवीले दरबारकै खजान्ची कृष्णमानका छोरा उस्ताद भगतकृष्ण मानन्धरसित आफ्नो निकटता र सान्निध्य बढाइसकेकी थिइन् । उस्ताद भगतकृष्णकै सङ्गीतमा उनले केही नेवारभाषाका भजन र ख्याली पनि गाइसकेकी थिइन् ।
भगतकृष्णसितको वैवाहिक जीवन सुरु भएपछि उनी सानो छाउनी अर्थात् विजयेश्वरीमा बस्न थालिन् । तर, विवाहित भगतकृष्णकी दोस्री अनि विजातीय पत्नीका रूपमा पाएको त्यो परिचय त्यागेर उनी एकदिन भारततिर पलायन भइन् ।
भारतमा मेलवादेवीको यात्रा इलाहावाद, पटना अनि कोलकतामा निरन्तर चलिरह्यो । इलाहाबादमा ‘प्रेमको ढुँढने आई प्रेम न पाई’ बोलको ठुमरी गाएर प्रतियोगितामा प्रथम भइन् र ‘ठुमरीकी रानी’ पदवी नै पाइन् ।
छोरी शान्ति र विमला अनि कहिलेकाहीं पतिको साथ पाइरहेकी मेलवाको जीवनको अन्त्यकाल कोलकाताको नर्थ स्ट्रिटमा एक्लै बिताउनुपर्ने अवस्था आयो । दुवै छोरीको विवाह र पतिको नेपाल पुनरागमनपश्चात् उनी एक्ली भइन् ।यही एक्लोपनमा उनी धनी मारवाडी परिवारका बच्चालाई सङ्गीतको ट्युसन पढाएर रोजगारी गर्दै थिइन् ।
२०११ सालमा कोलकत्ताको नर्थ स्ट्रिटको डेरामा एकदिन स्टोभ पड्केर उनको अज्ञात रूपमा निधन भयो । निधन भएको खबर पनि परिवारले ढिलो मात्र पायो ।
समयको कुचक्रमा मेलवादेवीलाई पति र परिवारसित भेट्न नलेखिएको देखिन्छ, जसरी चन्द्रशमशेरसित छुट्टिनु परेपछि उनले एउटा गीत रचेकी थिइन्–
‘झन् पर जान्छु लैलै झन् माया लाग्छ बरिलै
सवारी मेरो रेलैमा’
उनको यो गीतको रेकर्ड हजारौंप्रति बिक्री भएको कुरा उनकी छोरी विमला दीक्षितले नागरिक दैनिकमै उल्लेख गरेकी थिइन् । उनकी छोरी विमला दीक्षित नेपाल आउँदा त्यस समय नागरिक दैनिकमा मदनमणि दीक्षितले मेलवादेवीमाथि लेखेको लेखमा असन्तुष्टि जनाउँदै प्रतिक्रिया लेखेकी थिइन् । संयोगले ती दुवै लेख नागरिक दैनिकमै छापिएका थिए ।
भगतकृष्णसितको वैवाहिक जीवन सुरु भएपछि उनी सानो छाउनी अर्थात् विजयेश्वरीमा बस्न थालिन् । तर, विवाहित भगतकृष्णकी दोस्री अनि विजातीय पत्नीका रूपमा पाएको त्यो परिचय त्यागेर उनी भारततिर पलायन भइन् । इलाहाबादमा ‘प्रेमको ढुँढने आई प्रेम न पाई’ बोलको ठुमरी गाएर प्रतियोगितामा प्रथम भएपछि ‘ठुमरीकी रानी’ पदवी नै पाइन् ।
मेलवादेवीले गाएका कैड्ढयन गीतमा नारी संवेदना, विद्रोहको उद्घोष र जातीय चेतनाको भावभङ्गिमा भेटिन्छ तर उनी आफैं पनि विद्रोही स्वभावकी भएको कारण उनले चयन गरेका गीतमा ती विद्रोहका विम्ब सजिलै भेटिन्थे ।
शास्त्री शुक्रराज जोशीले लेखेको गीतमा नारीलाई राजलक्ष्मी, राजमन्त्री, मोती माणिक र नारीलाई नै दरबार र स्वर्गको द्वारका रूपमा व्याख्या गरिएको छ ।
मेलवादेवी समकालिकताप्रति पनि चिन्तित रहने एक अभियन्ता थिइन् । विक्रमाब्द नब्बेको दशकमा आएको महाभूकम्पको चिन्तामा उनले गाएको नेवारभाषाको गीत ‘भ्वखाः ब्वया मनू जक सितः’ मा उनले सतर्कता, सचेतना अनि पीडाको स्वर एकसाथ पोखेकी छिन् ।
गायनका हिसाबले उनका हरेक गीत उत्कृष्ट र पहिचानदार छन् । उनको गायकीबारे उनका शिष्य सङ्गीतप्रवीण नरराज ढकालका पुत्र प्रभुराज ढकाल भन्छन्–नेपालमा जन्मीहुर्की यति मिठो आवाज भएकी गायिका नेपालमा बिरलै छन् ।
मेलवादेवीले केही गीत आफ्नै सङ्गीतमा पनि गाइन्, केही गीत उनका पति उस्ताद भगतकृष्ण मानन्धरको सङ्गीतमा पनि गाइन्। ती सबै गीतको सर्वोच्चतामा उनकै आवाज सुन्न पाइन्छ ।
उनको आवाजलाई लिएर सङ्गीतका गुरु ललितकला क्याम्पसका पूर्वप्रमुख रमेश पोखरेल भन्छन्– नेपाली संगीतमा त्यो किसिमको गायकी, तालिम र दानेदार गला हालसम्म खट्केको अवस्था छ ।अहिले थाहा हुन्छ, त्यो आवाज कति दह्रो र शक्तिशाली रहेछ ।
नेपाली, नेवारी, हिन्दी र भोजपुरी भाषामा गीत गाएर भारतमा समेत प्रसिद्ध मेलवादेवीको भारतमा राखिएको नाउँ सुमलन्दादेवी हो भनेर संस्कृतिविद् रामशरण दर्नालले पुष्टि गरेका छन् ।
मेलवादेवीका गीत गाउँदा अझै पनि धेरै मिहेनत र अभ्यास गर्नुपर्ने कुरा गायिका रोजी श्रेष्ठले व्यक्त गरेकी छिन्, जो यसपालि मेलवादेवीलाई श्रद्धाञ्जली अर्पण गर्दै ‘आऊ बसौंपियारी मिरमिरे झ्यालैमा’ गाउँदैछिन् ।त्यसैगरी अन्य दुई गायिका एन्जेला श्रेष्ठ सिंह र रश्मी अमात्यले पनि मेलवादेवीका गीत त्यही मञ्चमा प्रस्तुत गर्दैछन् ।यसअघि मेलवादेवीका गीत सपनाश्री परियार, मीना पोखरेल निरौलाले रेकर्ड गराइसकेका छन् ।
श्रद्धेय गायिका मेलवादेवीले ‘नेपालै सहर जान्छु’ भन्ने गीत सुनेपछि मास्टर रत्नदासप्रकाशलाई बधाइ दिएकी थिइन् तर पछि दुई बिचमा केही कुरामा असमझदारी भएपछि सहकार्य हुन सकेन ।
मेलवाले नेपाली संगीतको जग बसालेको कोलकत्तामा पछि गोपाल श्रेष्ठ, उर्मिलाकुमारी श्रेष्ठ आदिले निरन्तरता दिइरहे, मेलवालाई सम्झेर ।
नेपालको पूर्वी भूभाग रुम्जाटारमा हुर्केकी मेलवादेवीको जन्म गोरखाको सौरपानीमा भएको कुरा अन्वेषक डिआर पोखरेलले उद्धृत गरेका छन् तर पहिल्यैदेखि प्रचारमा आएअनुसार अहिले रुम्जाटार नै जन्मस्थान मानेर त्यहाँ मेलवादेवीको प्रतिमा बनाइएको छ ।
प्रकाशित: ५ मंसिर २०८२ २१:०७ शुक्रबार





