निर्देशक चन्द्र पन्तको आगामी चलचित्र ‘आ बाट आमा २’ मा अभिनेत्री मलिका महत अनुबन्धित भएकी छन्। आइतबार निर्देशक पन्तले मलिकासँग औपचारिक सम्झौता सम्पन्न भएको जानकारी दिएका हुन्।
गत वर्ष प्रदर्शनमा आएको अभिनेता पल शाह अभिनीत चलचित्र ‘आ बाट आमा’ को सिक्वेलका रूपमा निर्माण हुन लागेको यस चलचित्रमा मलिकाको प्रवेशसँगै प्रमुख कलाकारहरूको लाइनअप पूरा भएको निर्माण पक्षले जनाएको छ।
म्युजिक भिडियोमार्फत चर्चा कमाएकी मलिका पछिल्लो पटक चलचित्र ‘महाभोज’ मा देखिएकी थिइन्। निर्माण टिमका अनुसार ‘आ बाट आमा २’ ले पहिलो श्रृंखलाको कथालाई निरन्तता दिनेछ।
चलचित्रमा पल शाह, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट र नरेन खड्का यसअघि नै अनुबन्धित भइसकेका छन्।
चलचित्रको कथा तथा पटकथा निर्देशक चन्द्र पन्त स्वयंले तयार गरेका हुन्। नेपालमा चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआरले प्राप्त गरेको छ।
‘आ बाट आमा २’ आगामी असोज ३० गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको निर्माण पक्षले जनाएको छ।
प्रकाशित: १७ जेष्ठ २०८३ १६:४७ आइतबार





