एसवाई इन्टरटेन्मेन्ट प्रालिद्वारा आयोजित ‘फेस अफ एसवाई २०८२’ को उपाधि मलैसा आचार्यले हात पारेकी छन्।
शुक्रबार साँझ राजधानीको बानेश्वरस्थित एभरेष्ट होटलमा सम्पन्न ग्रान्ड फिनालेमा आचार्यलाई विजेता घोषणा गरिएको हो।
नेपालकै सर्वाधिक धनराशि पुरस्कार रहेको दाबी गरिएको यस प्रतियोगितामा कुल दुई करोड रुपैयाँभन्दा बढीको पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिताको मुख्य विजेता बनेकी मलैसा आचार्यले ५ लाख रुपैयाँ नगद पुरस्कारका साथै एक करोड रुपैयाँ बराबरको एक वर्षको ‘ब्राण्ड एम्बेसडर कन्ट्र्याक्ट’ प्राप्त गरेकी छन्।
त्यस्तै, प्रतियोगितामा सारा लामा ‘फस्ट रनरअप’ र अपि योन्जन ‘सेकेन्ड रनरअप’ चयन भएका छन्। उनीहरूले क्रमशः ४ लाख र ३ लाख रुपैयाँ नगद पुरस्कारसहित ५० लाख र ३० लाख रुपैयाँ बराबरको कन्ट्र्याक्ट हात पारे।
यसबाहेक अन्तिम चरणमा पुगेका उत्कृष्ट सात जना प्रतियोगीलाई ‘पपुल्यारिटी अवार्ड’ स्वरूप जनही डेढ लाख रुपैयाँ प्रदान गरिएको छ।
पहिलो चरणबाट छनोट भएका उत्कृष्ट ५०० जनालाई दोस्रो चरणमा लगिएको थियो भने त्यसपछि उत्कृष्ट २५ जनालाई फाइनल अडिसनमा सहभागी गराइएको थियो।
अन्तिम विजेताको चयन सामाजिक सञ्जालको प्रभाव र निर्णायक मण्डलको मूल्यांकनका आधारमा गरिएको आयोजकले जनाएको छ।
प्रकाशित: ३ माघ २०८२ २०:२९ शनिबार





