२१ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

विराटनगरमा मैथिली लोकगीत प्रतियोगिता हुने

मैथिली लोकगीतको संरक्षण गर्ने उद्देश्यले विराटनगरमा मैथिली लोकगीत प्रतियोगिता आयोजना गरिने भएको छ।

मैथिली विकास अभियान विराटनगरले लोप हुन लागेको परम्परागत लोकगीतको संरक्षण गर्ने उद्देश्यले गीत नादः (मैथिली लोकगीत) प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ।

बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी मैथिली विकास अभियान विराटनगरका अध्यक्ष नविनचन्द्र कर्णले आधुनिकताको बढ्दो प्रभावका कारण लोप हुन लागेको मैथिली लोक गीतहरुलाई जीवन्त राख्न र एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए।

मिथिलाका महिलाहरूले समूहमा गाउने परम्परागत लोकगीतहरू संस्कार र पहिचानको मेरुदण्ड रहेको छ। तर,अहिले यी लोकगीतहरू लोप हुने संघारमा पुगेकाले यसको संरक्षण र सम्बद्ध गर्न प्रतियोगिता आयोजना गर्न लागिएको उनको भनाइ छ।

जेठ ३० गते विराटनगरको आरोहण गुरुकुलमा आयोजना गर्न लागिएको फाइनल प्रतियोगिताका लागि जेठ २३ गते अडिसन राखिएको छ।

हालसम्म ३० भन्दा बढी समूह सम्पर्कमा आइसकेको र अडिसनबाट १२ वटा उत्कृष्ट समूह छनोट गरेर फाइनल प्रतियोगितामा सहभागी गराइने जनाइएको छ।

प्रतियोगितामा प्रथम हुनेले १५, दोस्रो हुनेले १० र तेस्रो हुनेले ७ हजार रुपैयाँ पुरस्कार र प्रमाण–पत्रप्राप्त गर्नेछन्। साथै सामाजिक सञ्जाल समूहबाट टिकटकमा उत्कृष्ट हुनेलाई ५ हजार नगद सहित प्रमाण–पत्र प्रदान गरिने जनाइएको छ।

प्रकाशित: २० जेष्ठ २०८३ १९:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App