गीतकार डा. रमिल अधिकारीले पोखरा–२८, माझठानास्थित रत्नशोभा माविका विद्यार्थीका लागि आर्थिक सहयोग प्रदान गरेका छन्।
गीतकार प्रतिष्ठान, नेपालको समन्वयमा डा. अधिकारीले आफ्ना छोरा अंश अधिकारीको जन्मदिनको अवसर पारेर विद्यालयका विद्यार्थीहरूका लागि ११ हजार १११ रुपियाँ प्रदान गरेका हुन्।
विद्यार्थीलाई ३० रुपियाँमा खाना खुवाइएको समाचारबाट प्रभावित भएर उनले छोराको जन्मदिनमा नगद हस्तान्तरण गरेको डा. अधिकारीले बताए। डा. अधिकारी हाल न्युजिल्यान्डमा चिकित्सा क्षेत्रमा संलग्न छन्।
गीतकार प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीले जन्मदिनमा अनावश्यक खर्च गर्नुभन्दा यस्ता पवित्र कार्यमा सहयोग गर्नु प्रभावकारी हुने बताए। अनावश्यक तडकभडक त्यागेर रचनात्मक कार्य गर्नेतर्फ लाग्ने संस्कार स्थापित गर्नेतर्फ प्रतिष्ठान लागिरहेको पनि अधिकारीले बताए।
कार्यक्रममा प्रधानाध्यापक कृष्णप्रसाद पौडेललाई रकम हस्तान्तरण अर्पिएको थियो। प्रधानाध्यापक पौडेलले विद्यार्थीका लागि गरिएको सहयोगप्रति धन्यवाद ज्ञापन गरे।
शिक्षक ऋषिराम रानाभाटले सञ्चालन गरेकाे कार्यक्रममा मादी भगवती ल फर्मका सञ्चालक बुद्धिप्रसाद सुवेदी र विद्यालय व्यवस्थापन समिति शिक्षक प्रतिनिधि पूर्णबहादुर खत्रीले शुभकामना दिएका थिए।
प्रकाशित: २१ माघ २०८२ १०:२२ बुधबार





