राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्माले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी छिन्।
राजीनामा पत्रमा उनले पार्टीमा युवा पुस्ता र योग्यतालाई प्राथमिकता दिने नाराले प्रेरित भएर योगदान दिएको तर अहिलेको निर्वाचन पद्धति, निर्णय र कार्यशैली मूल मूल्य, विधान र प्रतिबद्धताविपरीत भएको बताएकी छिन्।
उनले क्षमतावान कार्यकर्ताको मूल्यांकन नभएको, विधानविपरीत क्रियाकलाप, सिद्धान्त कार्यान्वयन नहुने र मुख्य रूपमा आर्थिक अनियमितताबाट निर्णय प्रभावित भएको आरोप लगाइन्।
आत्मसम्मानमा आँच आएकाले मौन रहन नसकेको पत्रमा उल्लेख छिन्।
उनले भनेकी छन्, ‘यी सबै क्रियाकलापहरुको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु। त्यसकारण आजकै मितिदेखि लागू हुने गरी म यस पार्टीको साधारण सदस्य समेत नरहने गरी आफ्नो राजिनामा पेश गर्दछु।’
हेर्नुस् उनको पत्र
मिति:- २०८२/११/६
केन्द्रीय कार्यालय
राष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौं, नेपाल।
विषय: साधारण सदस्यबाट समेत नरहने गरी राजीनामा सम्बन्धमा।
श्रद्धेय,
म रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति तथा वर्तमानमा केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्यको हैसियतले २०७९ श्रावण १० गतेदेखि आजसम्म आफ्नो योग्यता, क्षमता, दक्षता र समय समर्पित गर्दै पार्टीप्रति निस्वार्थ भावले निरन्तर योगदान पुर्याउँदै आएकी छु।
“राजनीतिमा युवा पुस्ता आउनुपर्छ” र “जान्नेलाई छान्ने” भन्ने मूल नाराले प्रेरित भई म यस पार्टीमा आबद्ध भएकी थिएँ। तर आसन्न फागुन २१ गतेको निर्वाचन सम्बन्धित पार्टीले अवलम्बन गरेको पद्धति, पार्टीको निर्णय तथा कार्यशैली रास्वपाको स्थापनाकालीन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठिक विपरीत भएको अनुभव गरेकी छु।
संगठनमा दिनरात खटिएका क्षमतावान् घण्टी मित्रहरूको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधान विपरीत क्रियाकलापहरू भएको , पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको र मूलतः आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मूल्यहरू माथि आँच आउने परिस्थिति बनेको छ; यी सबै क्रियाकलापहरूको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु।
त्यसकारण आजकै मितिदेखि लागू हुने गरी म यश पार्टीको साधारण सदस्य समेत नरहने गरी आफ्नो राजीनामा पेस गर्दछु।
यस अवधिसम्म पार्टीले दिएको अभिभावकत्व, सहकार्य र अवसरका लागि हार्दिक आभार व्यक्त गर्दछु।
धन्यवाद।
भवदीय,
ममता शर्मा
बारा, मधेस प्रदेश
प्रकाशित: ६ फाल्गुन २०८२ १०:१२ बुधबार





