आगामी वर्षा याममा खोलामा गाडी गुडाउन नपर्ने गरी बिपी राजमार्गको पुनर्निर्माण भइरहेको छ।
सडक डिभिजन भक्तपुरका अनुसार हाल बिपी राजमार्गको पुनर्निर्माणको काम करिब २० प्रतिशत सकिएको छ। ‘तोकिएको समयभित्र बिपी राजमार्ग पुनर्निर्माणको काम पूरा गर्छौं। आगामी वर्षासम्म कमसेकम खोलामा गाडी गुड्नु नपर्ने गरी काम भइरहेको छ’, सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशले भने, ‘पिच भने अलिपछि हुन्छ। कालोपत्रे नभए पनि आगामी वर्षासम्म गाडी खोलाभन्दा माथिबाटै गुड्ने छन्। खोलाभित्रबाट गाडी गुडाउनु पर्दैन।’ हाल बेला बिपी राजमार्ग भएर गुड्ने गाडी ठाउँ ठाउँमा खोला भएर गुड्ने गरेका छन्।
२०८१ असोज ११ र १२ गते आएको अविरल वर्षाका कारण भत्किएको बिपी राजमार्गको पुनर्निर्माणको काम यतिबेला भइरहेको छ। त्यसमध्ये एक खण्डको काम जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले पुनर्निर्माण गर्ने भएको छ तर काम भने अझै सुरु भएको छैन।
सडक विभागका अनुसार जाइकाले बिपी राजमार्गको बर्खे खोलादेखि पिप्लेसम्मको ३.२ किमी सडक पुनर्निर्माण गरिदिने सहमति गरेको छ। ‘बिपी राजमार्गमा भत्किएको सडकमध्ये ५.५ किमी सडक खण्ड पुनर्निर्माण गर्न जाइकालाई भनेका थियौं। जाइकाका प्रतिनिधिहरूले भने हामीसँग ३.२ किमी सडक मात्र पुनर्निर्माण गरिदिन सक्छौं भनेका छन्। उनीहरूले बाँकी २.३ किमी सडक निर्माण गर्ने पैसा पुग्दैन भनेपछि हामी आफैंले पुनर्निर्माण गर्न लागेका छौैं’, योगेशले भने, ‘तर जाइकाले अझै काम सुरु गरेका छैन। हामीले भने धमाधम काम गरीरहेका छौं।’
विभागका अनुसार जाइकाले तीन अर्ब रुपैयाँ खर्च गरेर बर्खे खोलादेखि पिप्लेसम्मको सडक पुनर्निर्माण गर्ने भएको छ। जाइकाले गत जेठमै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग बिपी राजमार्गको एक खण्ड पुनर्निर्माण गर्न सहमति गरेको थियो तर अहिलेसम्म काम अघि बढेको छैन।
बिपी राजमार्गको निर्माण जाइकाले नै गरेको थियो। १६० किलोमिटर बिपी राजमार्ग निर्माण गर्न जापान सरकारलाई २० वर्ष लागेको थियो। यो राजमार्ग निर्माण गर्न जापानले २६ अर्ब येन खर्च गरेको थियो। राजमार्ग बनाउन २०५२ सालमा सुरु गरिएको थियो। २०७२ सालको भूकम्पले बिपी राजमार्गको केही भागमा क्षति पुगेको थियो। क्षतिग्रस्त भाग पुनर्निर्माण गर्न १८ महिना लागेको थियो।
विभाग स्रोतका अनुसार गत असोज ११ र १२ गते आएको अविरल वर्षाले बिपी राजमार्ग ठाउँठाउँमा भत्किएको समाचार आएपछि जाइकाले चासो राखेको थियो। जाइकाका प्रतिनिधिहरू बिपी राजमार्ग पुनर्निर्माण गर्ने विषयमा गत कात्तिक ११ र १२ गते स्थलगत अध्ययन तथा अनुसन्धान गर्न सिन्धुली पुगेका थिए। स्थलगत अध्ययनपछि उनीहरूले एउटा प्रतिवेदन तयार गरेका थिए। सडक डिभिजन भक्तपुरका अनुसार भत्किएको खण्ड पुनर्निर्माण गर्न जाइका आफैंले डिजाइन र सर्भे गर्नेछ। ‘हामीले गरेको डिजाइन र सर्भे जाइकालाई दिएका छौं। जाइकाले भने आफैं सर्भे गर्ने भनेको छ’, योगेशले भने। उनका अनुसार जाइकाले पुनर्निर्माण गर्ने सडक दुई लेनको हुने छ। यसअघि जाइकाले बिपी राजमार्ग एक लेनको बनाएको थियो। अब पुनर्निर्माण हुने सबै सडक खण्ड दुई लेनको हुने छ।
सडक डिभिजन भक्तपुरले २५ किमी र सडक डिभिजन सिन्धुलीले पाँच किमी सडक पुनर्निर्माणको काम गरीरहेका छन्। सडक डिभिजन भक्तपुरका अनुसार भक्तपुर डिभिजनले तीन प्याकेजमा र सडक डिभिजन सिन्धुलीले एक प्याकेजमा बिपी राजमार्गको पुनर्निर्माणको काम गरीरहेका छन्। डिभिजन प्रमुख योगेशका अनुसार पहिलो प्याकेजमा चारसयबेसीदेखि भकुण्डेबेसीसम्म ११ किमी सडक पुनर्निर्माण गर्न सडक डिभिजन भक्तपुरले एक अर्ब १४ करोड रुपैयाँमा लामा नव–कान्तिपुर जेभिसँग सम्झौता गरेको छ। यो सडक ठेकेदार कम्पनीले दुई वर्षभित्र पुनर्निर्माण गरिसक्ने छ।
दोस्रो प्याकेजमा बिपी राजमार्गको डालाबेसीदेखि चारसयबेसीसम्म ८.५ किमी सडक पुनर्निर्माण गर्न सडक डिभिजन भक्तपुरसँग थानी कमलजीत ए वान जेभिसँग एक अर्ब २२ करोड रुपैयाँमा सडक डिभिजन भक्तपुरले सम्झौता गरिसकेको छ। ठेकेदार कम्पनीले यो सडक खण्ड दुई वर्षभित्र पुनर्निर्माण गर्ने भएको छ। सडक डिभिजन भक्तपुरले तेस्रो प्याकेजमा २.३ किमी सडक पुनर्निर्माण गर्न ठेकेदारसँग सम्झौता गरिसकेको छ।
यसैगरी सडक डिभिजन सिन्धुलीले नेपाल थोकदेखि बर्खे खोलासम्म पाँच किमी सडक पुनर्निर्माण गर्न सम्झौता गरेको छ। सडक डिभिजन सिन्धुलीसँग क्षितिज थिसिङ निर्माण सेवा कम्पनीले ६२ करोड रुपैयाँमा सडक डिभिजन सिन्धुलीसँग सम्झौता गरेको छ। सम्झौता अनुसार ठेकेदार कम्पनीले दुई वर्षभित्र बिपी राजमार्ग पुनर्निर्माण गरिसक्ने जनाएको छ।
प्रकाशित: ६ फाल्गुन २०८२ ०९:५३ बुधबार





