खोटाङका साहित्यकार रामविक्रम थापालाई सम्मान गरिएकाे छ। दिक्तेल बजारस्थित श्री सरस्वती माध्यमिक विद्यालयले ७३ औं वार्षिक उत्सवकाे अवसरमा साहित्यकार थापालाई उत्कृष्ट सम्पादककाे रूपमा सम्मान अर्पिएकाे हाे।
‘सरस्वती-५’ का सम्पादक शिक्षक रामविक्रम थापालाई १० हजार रुपैयाँ र प्रशंसापत्रकाे साथ उत्कृष्ट सम्पादककाे रूपमा सम्मान अर्पिएकाे हाे।
शिक्षासेवी तथा विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवीप्रसाद रिजालकाे प्रमुख आतिथ्य र विद्यालय व्यवस्थापन समिति अध्यक्ष इन्दिरा बस्नेतको अध्यक्षतामा वार्षिक उत्सव भएकाे हाे।
उक्त कार्यक्रममा सम्मानित व्यक्तित्व शिक्षक रामविक्रम थापाले सम्पादन गरेकाे विद्यालयको वार्षिक मुखपत्र ‘सरस्वती-५’ काे पनि लाेकार्पण भएकाे छ। शिक्षासेवी रिजालले मुखपत्रकाे लाेकार्पण गरेका हुन्।
साहित्यकार नइन्द्र खत्रीले लाेकार्पित मुखपत्र ‘सरस्वती-५’ को समीक्षात्मक टिप्पणी गरेका थिए।
साहित्यकार थापाका पात्रहरू (लघुकथासंग्रह, २०५५), छरिएका कविता (कवितासंग्रह, २०५६) , बालपोष (बालकवितासंग्रह, २०६४), राम्रो बानी (बालकवितासंग्रह, २०७३) लगायतका दर्जनौ कृति प्रकाशित छन्।
शिक्षक चन्द्रकुमार श्रेष्ठको सञ्चालन गरेकाे कार्यक्रममा प्रधानाध्यापक शिवहरि ढकालले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा विभिन्न अतिथिले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
वार्षिकोत्सवका अवसरमा खेलकुद प्रतियोगिता, अन्तरसदनात्मक नृत्य प्रतियोगिता तथा नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता पनि भएको थियो।
नगरस्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रथम हुने दिक्तेल बहुमुखी क्याम्पसले १५ हजार, द्वितीय हुने सरस्वती माध्यमिक विद्यालयले १० हजार, तृतीय हुने पञ्च माध्यमिक विद्यालयले ७ हजार र सान्त्वना स्थान प्राप्त गर्ने माउन्ट एभरेष्ट बोर्डिङ स्कुलले ५१ सय रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए।
कार्यक्रममा अन्य विधाका पुरस्कारहरूका अतिरिक्त ३० वर्ष सेवा पुर्याएका विद्यालयका शिक्षक भगत राईलाई १० हजार रूपैयाँ नगदसहित दीर्घसेवा सम्मान अर्पिएकाे थियो।
उक्त सम्मान तथा पुरस्कार प्रमुख अतिथि रिजालले समर्पण गरेका थिए।
प्रकाशित: १४ माघ २०८२ १०:३४ बुधबार





