२१ पुस २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

ढुङ्गाले कुँदिएको जीवन

सङ्घर्ष कथा

२५ वर्षअघिको घटना सम्झेर उनका आँखा अझै इन्द्रावती बनेर ओइरिन्छन्। त्यो दिन आउला भन्ने उनले कहिल्यै सोचेका थिएनन्, जसले उनलाई जीवनकै सबैभन्दा ठुलो चोट दियो।

विवाहित जीवन हाँसीखुसी चल्दै थियो। सगरमाथा चौधरी आँखा अस्पतालमा फिल्ड वर्करको जागिरबाट परिवारमा खुसी थियो। अचानक कान कम सुन्न थाल्यो। फिल्डको काममा जाँदा बच्चाहरूले बोलाएको आवाज उनको कानले सुन्न छोड्यो। घरपरिवारलाई यो कुरा सुनाउँदै पत्याउँदैनथ्यो।

एक दिन गाउँका बच्चाहरू उनीमाथि ढुंगा हान्न थाले। सधैं आफूसँग हाँसखेल गर्ने बच्चाहरूले अचानक ढुंगा हानेको घटनाले उनलाई निकै पिरोल्यो। पछि बुझ्दै जाँदा आफूले बोलाउँदा जवाफ नफर्काएपछि बच्चाहरूले रिसाएर ढुंगा हान्न थालेका रहेछन्।

कान नसुन्ने भएपछि मान्छे उनलाई हेलाको नजरले हेर्न थाले, ‘बहिरा’ भनेर हेप्न थाले। बहिरो भएर सहज जीवन जिउनु सजिलो थिएन। लालाबाला पाल्नुपर्ने जिम्मेवारीको भारी बोक्नु नै थियो। त्यसमाथि ‘बहिरा’ भनेर दैनिक हेपाइ खेप्नुपर्ने तर उनले हरेस खाएनन्। समाजसँग जुध्दै जीवनको गति अघि बढाइरहे।

घरबाट बाहिर निस्कियो कि गाउँलेले उनको कुरा काट्न थालिहाल्थे तर उनी त्यसलाई वास्ता गर्दैनथे। बरु, आफूलाई सम्हाल्दै पाइला अगाडि बढाउँथे। उनलाई हिम्मत दिन्थे प्राध्यापक हर्षनारायण धोवडेलले। संसारभरका हिम्मतिला मानिसहरूको उदाहरण दिएर गंगारामलाई अघि बढ्न हौसला बढाउँथे धोवडेल। उनले दिएको हिम्मतको बलमा जीवनलाई गति दिँदा त्यही समाजका केही मानिस सहयोगी बने। हौसला बढाउने सहयोगीकै कारण उनका पाइला डगमगाएनन्।

गंगाराम बहिरा भए पनि बहिराका विविध क्रियाकलापबारे अनभिज्ञ थिए। बहिराको विविधता अनुभूति गर्न उनी काठमाडौं पुगे। त्यहाँको बहिरा संघमा बसेर आवाजको दुनियासँग बेखबरहरूको विविध पक्षबारे अध्ययन गरे। त्यहाँ उनको आत्मबल पनि बढ्यो।

संसारमा म मात्र बहिरो होइन, अरू धेरै छन्। उनीहरूमा विविध समस्या छन्। त्यहाँको बसाइँले उनमा सिरहा फर्केर बहिरा संघ खोल्नुपर्छ भने सोच पलायो। यस भेगका बहिराहरूको समस्या पहिचान गरी उनीहरूको जीवनमा उमंग भर्ने अठोटका साथ उनी घर फर्के। उनी गाउँगाउँ पुगेर स्कुलहरूबाट बहिराहरूको खोजी अभियान सुरु गरे। केही दिनमै उनले तीन सय जना बहिरा बालबालिका खोजी गरे तर यी बालबालिकालाई कहाँ, कसरी पढाउने? उनले सिरहामा दुई वटा कोठा भाडामा लिएर कामअघि बढाउने निर्णयमा पुगे। र, काम अघि बढाए।

केही दिनपछि २०५२ सालमा उनले राष्ट्रिय बहिरा तथा सुस्त श्रवण संघ, काठमाडौंबाट ५० जनाका लागि सांकेतिक भाषा सञ्चालन गर्न दश महिने कार्यक्रम पाए। प्रशिक्षकका रूपमा कुमार रेग्मीलाई दाता संस्थाले नै पठाइदिए। सांकेतिक भाषा, सिपमूलक तालिम, क्षमता अभिवृद्धि तालिम, बहिरा अपांग तथ्यांक संकलन कार्यक्रम द्रुत गतिमा अघि बढ्यो।

२०५३ सालमा दुई वर्षका लागि सगरमाथा चौधरी आँखा अस्पताल र युनिसेफले दृष्टिविहीन र श्रवणशक्ति गुमाएका बहिराहरूका लागि समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम सम्झौता गर्‍यो।

२०५४ सालमा कार्यरत कर्मचारीहरूको पारिश्रमिकबाट केही रकम सहयोग स्वरूप बहिरा संघले संकलन गर्न सुरु गर्‍यो। जसको एउटै उद्देश्य थियो - दाताको सहयोग नहुँदा पनि अभियान बन्द नहोस्। कार्यक्रम गरेवापत बचत भएको रकमबाट गंगारामले संस्थाका लागि २०५४ सालमा १४ कट्ठा जग्गा खरिद गरे।

२०५७ सालमा बहिरा संघका केही कर्मचारी शिक्षण अस्पताल महराजगन्जबाट कान रोग उपचारसम्बन्धी तालिम लिए। इम्प्याक्ट नेपालको सहयोगमा कान जाँच गर्न चाहिने उपकरण उपलब्ध भएपछि बहिरा संघ सिरहाले कान रोग उपचारको सेवासमेत सञ्चालन गर्‍यो। बहिरा संघले २५ वर्षमा तीन लाखभन्दा बढी कानका बिरामीको उपचार गरेको तथ्यांक छ। बहिरंग सेवा अन्तर्गत दुई लाख ९९ हजार पाँच सय ६० जनाको कान जाँच गरेको छ भने ८९ हजार आठ सय ७७ जनाको श्रवण परीक्षण गरेको छ।

शिक्षा, सिप, सशक्तीकरणको माध्यमबाट बहिरा बालबालिकाको जीवनमा परिवर्तन ल्याउने गंगारामलाई अहिले समाज सम्मानको दृष्टिले हेर्न थालेको छ।

शालीन स्वभाव तथा कम बोल्ने बानीले उनी समाजमा अगुवा भूमिकामा अग्रसर भए। आफैं बहिरा भनेर हिंसापीडित गंगाराम  आत्मनिर्भर बने मात्र बहिराहरूको सशक्तीकरण सम्भव हुन्छ भने राम्ररी बुझेका छन्। त्यसैले, बहिराहरूलाई संगठित बनाएर आत्मनिर्भर अभियान अगुवाइ गर्ने अभियान चलाएका छन्।

संस्थालाई यो उचाइमा पुर्‍याउन गंगारामले घर परिवारको समेत  समेत पर्वाह गरेनन्। ‘अरूमाथि निर्भर समाजका बहिराहरू अहिले आत्मनिर्भर हुँदै छन्,’ उनी भन्छन्, ‘मेरा लागि यो नै ठुलो सन्तुष्टि हो।’

अहिले उनलाई हेर्ने समाजको नजर पनि बदलिएको छ, ‘पहिले मलाई आँखी बनाएका मानिसहरू अहिले सम्मानको आँखाले हेर्छन्,’ गंगाराम भन्छन्, ‘निष्ठा र लगनपूर्वक गरेको कामले अवश्य फल दिँदोरहेछ।’ गंगाराम यादव अचेल गाउँमा गंगाराम ‘सर’ नामले परिचित छन्।

सामाजिक अवहेलनाको बाबजुद पनि सिरहा नगरपालिका–१६ का गंगाराम यादव ५५, जीवनका चुनौती सामना गर्दै अगाडि बढिरहे। अदम्य साहस र हिम्मतले उनी आफू मात्र अगाडि बढेनन्, समाजका बहिरा र बोल्न नसक्नेको जीवनमा आवाज भरेर आत्मनिर्भरसमेत बनाएका छन्।

२५ वर्षअघि ‘बहिरा’ गंगारामको अगुवाइमा सुरु गरिएको बहिरा संघ सफलता चुम्दै अगाडि बढेको छ। उनले कान नसुन्ने र बोल्न नसक्नेहरूको सशक्तीकरण, शिक्षा र उपचारको कामलाई निरन्तर अघि बढाउँदै छन्।

२०५१ माघ १० गते बहिरा संघ दर्ता गराएर समाजका बहिराहरूलाई एकत्रित गरेर सशक्तीकरण गर्न गंगारामले बहिरा खोजी अभियान चलाउँदा  सामाजिक परिवेशले उनको यो बाटोमा प्रशस्त काँडा ओछ्याइदियो। बहिरा सशक्तीकरण अभियान रोक्न समाजका केही मानिस खुलेरै लागे तर उनको दृढ अठोट र इच्छाशक्तिका अगाडि सबै अवरोध पन्छिँदै गयो।

२०५४ सालमा स्थापित बहिरा विद्यालयमा कक्षा ८ सम्म पढाइ हुन्छ। ७८ छात्र र १७ छात्रा छन्। यहाँबाट थुप्रै विद्यार्थी पढेर स्वरोजगारमार्फत आत्मनिर्भर बनेका छन्। अरूमाथि निर्भर समाजका बहिराहरू अहिले आत्मनिर्भर हुँदै छन्। अहिले उनलाई हेर्ने समाजको नजर पनि बदलिएको छ।  

प्रकाशित: १९ पुस २०८२ ०७:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App