१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

मेरो छातीमा टेकेर मायाको गहिराइ सोध्नुहुन्छ!

मुक्तक

१) गजल

आँखामा सपनाहरू कतिपय बोकेर हिँडेको छु

म तिमीलाई माया गर्ने हृदय बोकेर हिँडेको छु।

सिङ्गै युग दौडिएको छ यहाँ विज्ञानको जसरी

उसैगरी म पनि आज समय बोकेर हिँडेको छु।

समय हराउन सक्छ अनि बाटो बदलिन् सक्छ

त्यसैले तिमीसम्म आउने परिचय बोकेर हिँडेको छु।

एकलव्य भएर वाल्मीकि जस्तै अचेल म पनि

तिमीलाई पाउन जीवनको लय बोकेर हिँडेको छु।

पढेर तिम्रा प्रेमिल आँखाको भावहरू दिनहुँ जसो

आफ्नै हुनुको मिठो आशय बोकेर हिँडेको छु।।

२) गजल

मलाई त नजिक बनाएको हो उसको विचारले

भाग्य पनि खै कस्तो लिएर आयो यो निधारले

अचेल मान्छेहरूलाई पनि संवेदनाको खाँचो छ

थाहा छैन यहाँ मानवता किन बेचिरहेछ बजारले।

जसले काँधमा बोकेर शिखर पुर्याएको थियो

उही भन्छ एक्लै माथि पुगेको हुँ हतारहतारले।

भित्तामा झुण्डिएको गुडियाले नि यसो भन्दैछ

कसरी बुझ्छन् यार तिम्रो नियत यो संसारले।

समयले सँधैभरि तिम्रो साथ दिँदैन बुझिराख

आफैंलाई तमाशा बनाउँछ आफ्नै अखबारले।

राम्रो चिज पनि देखिनै छाड्यो बजारमा अचेल

एकदिन पक्कै फसाउनेछ तिम्रो त्यो व्यापारले।

यहाँ हचुवामा चलेको रैछ देश बल्ल थाहा भयो

जसरी सज्जनलाई  नि कैदी बनायो सरकारले।

३) गजल

भन्नुस् न हजुर किन सधैं मेरो कमाई सोध्नुहुन्छ

मेरो छातीमा टेकेर मायाको गहिराई सोध्नुहुन्छ।

जसलाई आफ्नै प्रगतिको आयतन थाहा नै हुँदैन

फेरि पनि किन मेरो जिन्दगीको उचाई सोध्नुहुन्छ।

आफै छातीमा कुल्चिनुहुन्छ र  घाउ बनाउनुहुन्छ

अनि फेरि कस्तो छ तिमीलाई दुखाई सोध्नुहुन्छ।

परिवार पाल्नकै लागि ऊ देश छोडेर खाडी गएपछि

एक्लो जीवन भोगेकी श्रीमतीको भोगाई सोध्नुहुन्छ।

यसरी प्रतीक्षामा राखेर मलाई हजुरले जिन्दगीभर

पर्खाइको महसुस थाहा नपाएझैँ पर्खाई सोध्नुहुन्छ।

४) गजल

खोजी गर्नुपर्छ यहाँ माटोमा पनि जीवन भेटिन्छ।

जसरी मेरो छातीमा छाम्दा तिम्रो धड्कन भेटिन्छ।

पुनर्लेखनमा छु म यतिखेर आफ्नै जीवनकथाको।

भन्नेले भन्थे उमेर ढल्केपछि फेरि बचपन भेटिन्छ।

के राखिदियौ फेरि मेरो हिँड्ने बाटोभरि तिमीले?

जहाँ सल्लाह र गुनासाको बाधाअड्चन भेटिन्छ।

जान त जाऊ केही छैन आज दुखाएर मेरो यो मन।

तर बुझ्नु अन्त कहाँ मेरोजस्तै कोमल मन भेटिन्छ।

बा भन्नुहुन्थ्यो अँध्यारोका विरुद्ध अब उठ्नुपर्छ।

अनि मात्र हाम्रो देशमा सायद कुनै परिवर्तन भेटिन्छ।

रुपियाँसँग साटिन थालेदेखि मान्छेका शरीरहरू।

आजभोलि हरेक बाकसभित्र मुनाको मदन भेटिन्छ।

सत्तामा बसेर मानवताको हत्या गर्नेलाई के थाहा?

मर्नुजस्तै यहाँ बाँच्नुको पनि कुनै कारण भेटिन्छ।

५) गजल

बिहान सधैं बा जानुहुन्छ तरकारी बोकेर खर्पनमा।

छोरा भने खाएर दगुर्छ दिनभरि नै आन्दोलनमा।

वर्षौदेखि देश रोएको छ चिच्याएका छन् नागरिक।

परेर कहिले न्यायालय कहिले सरकारको दमनमा।

तिमी त पहिल्यै गएकी थियौ मलाई छोडेर अन्तै कतै

आज किन आयौ फेरि बस्छु भनेर मेरो यो धड्कनमा।

कर्णालीले अझै कतिन्जेल सम्म पर्खनुपर्ने हो कुन्नि

उज्यालो ल्याइदिन्छु भन्ने हजुरको त्यो आश्वासनमा।

बाआमालाई सन्तानको हरेक कुरा प्यारो लाग्थ्यो।

थिए हरेक कुराहरू अबोध हिजोको त्यो बचपनमा।

बिरानो बनेर वर्षौं पहिले हराएको थियो तिम्रो यादहरू

ऊ फेरि किन फर्केर आएको होला बिर्सेर यो मनमा

सानै निहुँमा पनि सडकमा पोखिने गर्छ अचेल जोश

भन्नुहोस् त कसले राख्न सक्ला आफ्नो खटनपटनमा?

तिमी त प्रशंसा गर्‍यो ठानेर मुसुक्क हाँस्न पो थाल्यौ।

मैले त सोधेको थिएँ आज केके पकायौ भोजनमा?

उहिले त लाग्ने गर्थ्यो कुनै गजल सुनेजस्तै मीठो मिठो

कहाँ भेटिन्छ र त्यस्तो मीठास अचेल यो भाषणमा? 

आज चारैतिर निराशा र आक्रोश मात्र देखिए पनि।

पर्खनुहोस् केही त होला फरक अवश्य हाम्रो शासनमा

काँडासँगै उभिएको सुहाउँछ यो फुलवारीमा सधैंभरि

चुडेर पुष्प लाई नराख्नुहोस् कृपया तिम्रो सिंहासनमा।

  -गजलगृह भरतपुर, चितवन।     

प्रकाशित: ९ फाल्गुन २०८२ १०:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App