फिल्म 'पेड्डी'लाई लिएर भइरहेको विवादबारे अभिनेत्री कंगना रनौटले प्रतिक्रिया जनाएकी छन्।
जुन ४ देखि प्रदर्शनमा आएको ‘पेड्डी’ मा जान्हवी कपुरले ‘अचियम्मा’ पात्रमा देखिएकी छिन्। उनको पात्रलाई प्रस्तुत गर्ने तरिकामाथि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। धेरै दर्शकहरूले केही दृश्य र क्यामेरा एङ्गलहरूले महिला पात्रलाई आवश्यकताभन्दा बढी ग्ल्यामरयुक्त र वस्तुजस्तो देखाएको आरोप लगाएका छन्। साथै, एउटा रोमान्टिक दृश्यमा सहमतिको चित्रणलाई लिएर पनि बहस चर्किएको छ।
पीटीआईसँगको कुराकानीमा उनले भनिन्, 'धेरै पटक निर्देशक वा निर्माता स्वयंलाई पनि उनीहरूले महिलालाई वस्तुजस्तो (अब्जेक्टिफाइ) गरेर प्रस्तुत गरिरहेका छन् भन्ने महसुस हुँदैन। तर यदि कुनै कलाकारलाई यस्तो भइरहेको जस्तो लाग्छ भने उसले खुलेर आफ्नो कुरा राख्नुपर्छ र विरोध जनाउनुपर्छ।'
कंगनाका अनुसार कलाकारहरूलाई आफ्ना सीमा निर्धारण गर्ने पूर्ण अधिकार हुन्छ। कुनै दृश्य, पोशाक वा पात्रको प्रस्तुतीकरणले असहज बनाउँछ भने त्यसबारे आफ्नो राय व्यक्त गर्न सकिन्छ। उनले चलचित्र उद्योगमा संवाद र आपसी सहमतिको महत्वमा जोड दिइन्।
विवाद बढेपछि निर्देशक बुच्ची बाबू सनाले आफ्नो उद्देश्य कसैको अपमान गर्ने नभएको स्पष्ट पारेका छन्। उनले दर्शकहरूको भावनाको सम्मान गर्दै माफी मागेका छन् र विवादित दृश्यहरूमा आवश्यक परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
हाल ‘पेड्डी’ लाई लिएर बहस जारी छ। एक पक्षले फिल्ममा महिलाको प्रस्तुतीकरणमाथि प्रश्न उठाइरहेको छ भने अर्को पक्ष फिल्मको पक्षमा उभिएको छ। यसबीच कंगना रनोटको अभिव्यक्तिले चलचित्रमा महिला पात्रहरूको चित्रण र कलाकारको सहमतिसम्बन्धी बहसलाई थप चर्चा दिएको छ।
प्रकाशित: २६ जेष्ठ २०८३ १२:३४ मंगलबार





