बाँके र दाङको बिच खण्डमा अधुरो रहेको हुलाकी सडक निर्माण अगाडि बढाउन ठेक्का खोलिएको छ। हुलाकी राजमार्ग निर्देशनालयले बाँके र दाङको अधुरा क्षेत्रलाई अलग गरी पाँच अर्ब ६० करोड रुपैयाँ बराबरको ठेक्का खोलेको हो। हुलाकी सडक निर्देशनालय आयोजना कार्यालय नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारीका अनुसार बाँकेको राप्तीसोनारी– ३ नारायणपुरदेखि दाङको सीमा क्षेत्र हाटबाससम्मको ३६ किलोमिटर सडक निर्माण गर्न तीन अर्ब २० करोड र उक्त खण्डको विभिन्न खोलामा चारवटा ठुला पुल निर्माण गर्न ५० करोड रुपैयाँको ठेक्का खोलिएको छ।
यस्तै दाङको हाटबासदेखि राजपुर गाउँपालिकाको गंगदीसम्म अधुरो रहेको करिब २२ किलोमिटर सडक निर्माण गर्न एक अर्ब ४० करोड र सो क्षेत्रमा ६ वटा पुल निर्माण गर्न ५० करोड रुपैयाँ बराबरको ठेक्का खोलिएको आयोजना प्रमुख भण्डारीले जानकारी दिए। ‘बाँके र दाङको दुई खण्डमा बहुबर्सेअन्तर्गतको ठेक्का खोलिएको छ’, उनले नागरिकसँग भने, ‘ठेक्का नै खुलिसकेपछि बाँके र दाङको बिचमा हुलाकी सडक बन्ने निश्चित भयो।’
बाँकेको राप्ती सोनारी– ३ नारायणपुरदेखि दाङको राजपुर गाउँपालिकासम्मको सडक विस्तारसहितको काम आगामी तीन वर्षभित्र सम्पन्न गर्ने गरी केही महिनाअघि स्रोत सुनिश्चित गरिएको थियो। नेपालगन्ज हुँदै बाँकेको राप्ती सोनारी गाउँपालिका– ३ नारायणपुर र पूर्वबाट दाङ देउखुरीस्थित राजपुर गाउँपालिकाको गंगदीसम्म हुलाकी सडक निर्माण भए पनि बाँकी रहेको करिब ५८ किमि क्षेत्र अधुरो अवस्थामा रहेको छ।
हुलाकी राजमार्ग निर्देशनालयले बाँके–दाङ खण्ड निर्माण प्रक्रिया अगाडि बढाउन एक वर्षअघि पनि तयारी गरेको थियो। उक्त खण्डभित्र सडक निर्माण गर्दा रूख–बिरुवा धेरै काट्नुपर्ने भएपछि मुद्दा परेर काम बिचमै रोकिएको थियो। कर्मचारीका अनुसार गत वर्ष मुद्दासम्बन्धी विवाद हटेपछि निर्देशनालयले स्रोत सुनिश्चितका लागि अर्थ मन्त्रालयमा फाइल पेस गरेसँगै ठेक्का खोल्ने तयारी गरिरहँदा जेनजी आन्दोलनका कारण उक्त प्रक्रिया अनिश्चित बन्यो।
सरकारले यसपटक स्रोत सुनिश्चित गरेर अन्ततः ठेक्का खोलेको हो। उक्त खण्ड निर्माणका लागि निर्देशनालयले वातावरणीय प्रभाव मूल्यांकन गरिसकेको छ भने केही वर्षअघि नै गुरुयोजनासमेत निर्माण गरिसकेको बताइएको छ। गुरुयोजनाअनुसार सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्न ६ अर्ब रुपैयाँ बराबरको बजेट लाग्ने हुलाकी राजमार्ग निर्देशनालयको अनुमान छ।
राष्ट्रिय सडक सञ्जालसँग अहिलेसम्म नजोडिएका राप्तीपारिका स्थानीय वासिन्दा हुलाकी सडक बन्ने आशाका साथ व्यग्र प्रतीक्षामा बसेका छन्। सडक सञ्जालको पहुँच नहुँदा यहाँका नागरिकले राप्ती नदीमा हरेक वर्ष डुंगा र झोलुंगे पुलबाट वारपार गर्नुपर्छ। राप्तीपारी क्षेत्रमा भरपर्दो सडक निर्माण नहुँदा यहाँका स्थानीय घन्टौं समय पैदल हिँडेर गन्तव्यमा पुग्न बाध्य छन्। स्थानीयका अनुसार चुनावको समयमा उम्मेदवारहरू राप्तीपारिका गाउँमा पुगेर सडक र राप्ती नदीमा पक्की पुल बनाइदिने आश्वासन बाँड्ने गर्छन्।
विगतमा डुंगाबाट वारपार गर्ने क्रममा राप्तीपारि गाउँका थुप्रै स्थानीयको नदीमा डुबेर ज्यान गयो। पछिल्लो केही वर्षयता नदीमा झोलुंगे पुल निर्माण भएपछि थोरै राहत मिलेको छ, तर हुलाकी सडक विस्तार र नदीमा पुक्की पुल नबन्दा अझै पनि अनेक समस्यासँग यहाँका स्थानीय जुधिरहेका छन्। हुलाकी सडक विस्तार हुने बाँकेको राप्ती सोनारी गाउँपालिका– १ स्थित राप्ती नदीपारि भम्का, अमुवा, तितिनघारी, भवानियापुर, खुटी, चुनाहा, सुनखरे, खोकरीलगायत दर्जन बढी गाउँ रहेका छन्। यी गाउँबाट राप्तीवारि महेन्द्र राजमार्गसम्म आइपुग्न राप्ती नदीमा पक्की पुल छैन भने हुलाकी सडक निर्माण कार्य पनि अहिलेसम्म सुरु भएको छैन।
अधुरो हुलाकी सडकका लागि ठेक्का खुलेसँगै स्थानीय जनजीवन, कृषि, व्यापार, शिक्षा, स्वास्थ्य तथा समग्र आर्थिक विकासमा महŒवपूर्ण योगदान पु¥याउने विश्वास लिइएको स्थानीय अगुवा पोषण केसी बताउँछन्। हुलाकी सडक निर्माण सम्पन्न भएपछि लामो समयदेखि सहज सडक पहुँच अभावमा कठिन जीवन बिताइरहेका राप्ती सोनारी– १ का हजारौं नागरिक प्रत्यक्षरूपमा लाभान्वित हुने उनको विश्वास छ। ‘महेन्द्र राजमार्गको विकल्पका रूपमा रहेको हुलाकी राजमार्ग निर्माण गर्ने प्रयास धेरै पहिलादेखि नै भएको थियो, तर विगतमा बजेट अभाव, राजनीतिक संक्रमणकाल, वन क्षेत्र विवादलगायत विविधि कारणले काम रोकिए पनि अब भने सडक बन्ने निश्चित भएको छ, यो खुसीको कुरा हो’, हुलाकी सडकका लागि पहल गर्दै आएका कांग्रेस क्षेत्र नं १ बाँकेका सभापति केसीले भने।
राप्ती सोनारी गाउँपालिका– १ का वडाध्यक्ष यमबहादुर खड्काले हुलाकी सडक निर्माण भएपछि उत्पादन भएका कृषिवस्तु बजारसम्म पु¥याउने, बिरामीलाई सहजरूपमा आवतजावत गराउनेलगायत धेरै कुरामा सहजता आउने विश्वास गरे। ‘राप्ती सोनारी– १ नं वडालाई राप्ती नदीले दुई भागमा विभाजन गरेको छ, राप्ती नदीको दक्षिणतर्फ अहिलेसम्म बाटो छैन, हुलाकी राजमार्गको नामकरणले अल्झिरहेको अवस्था छ’, वडाध्यक्ष खड्काले भने, ‘हुलाकी सडक निर्माण भएपछि जनतालाई ठुलो राहत मिल्ने छ।’
प्रकाशित: ३२ असार २०८३ १०:०८ बिहीबार





