३२ असार २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युक्रेन र युरोपेली संघबिच ड्रोन सम्झौता भएलगत्तै किभमा रुसको भीषण आक्रमण

युरोपेली संघ (ईयू) र युक्रेनबिच ड्रोन निर्माणसम्बन्धी नयाँ सम्झौता भएलगत्तै रुसले युक्रेनको राजधानी किभमा ठूलो आक्रमण गरेको छ। रुसले बिहीबार बिहान किभलाई लक्षित गरी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो।

किभका मेयर भिटाली क्लिट्स्कोले स्व्यातोशिन्स्की जिल्लाको एउटा गोदाम र डार्नित्स्की जिल्लाको गैर-आवासीय भवनमा आगलागी भएको बताएका छन्। उनले भने, ‘खसेको क्षेप्यास्त्रको भग्नावशेष डार्नित्सियाको गैर-आवासीय क्षेत्रमा पनि परेको छ, जसले गर्दा आगलागी थप फैलिएको छ।’

घटनास्थलमा आपतकालीन सेवाहरूले आगो निभाउने प्रयास गरिरहेका छन्। युक्रेनको वायुसेना कमान्डले करिब एक घण्टापछि खतरा टरेको जानकारी दिएको छ।

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले किभको भ्रमण गरी नयाँ ‘ड्रोन सम्झौता’ घोषणा गरेको केही घण्टाभित्रै यो आक्रमण भएको हो। उक्त सम्झौताले युक्रेनको युद्ध अनुभव र युरोपको औद्योगिक क्षमतालाई मिलाएर ड्रोन उत्पादन बढाउने लक्ष्य राखेको छ।

समारोहमा बोल्दै भोन डेर लेयनले भनिन्, ‘यो सम्झौताले युक्रेनी प्रतिभा र युरोपको औद्योगिक स्तरलाई एकसाथ ल्याउनेछ।’ उनले इयु ले युक्रेनलाई ठूलो प्राविधिक क्षमता र सुरक्षित उत्पादन स्थलहरू उपलब्ध गराउने बताइन्। 

युक्रेनमा रुसी आक्रमण सुरु भएको चार वर्षभन्दा बढी समय बितिसक्दा पनि युद्ध रोकिने संकेत देखिएको छैन। पछिल्ला केही महिनायता दुवै पक्षबाट आक्रमण तीव्र हुँदा सर्वसाधारणको ज्यान जाने क्रम बढेको छ।

बुधबार मात्रै रुसले देशभर गरेको बमबारीमा १३ जनाको मृत्यु भएको थियो भने करिब ५० जना घाइते भएका थिए। रुसी आक्रमणले विशेष गरी औद्योगिक प्लान्ट र स्वास्थ्य सेवाका संरचनाहरूलाई निशाना बनाएको छ। ओडेसा र सुमी सहरमा पनि रुसले भीषण आक्रमण गरेको अधिकारीहरूले बताएका छन्। एजेन्सी

प्रकाशित: ३२ असार २०८३ १०:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App