गाउँमा थियो एकजना,
जसको मुखबाट जान्थ्यो अपशब्दहरूको पहिरो
र आजित भएर गाउँलेहरू एकस्वरमा भन्थे, ‘उसको थुतुनो!’
देशमा थियो एकजना,
जसको मुखबाट पोखिन्थ्यो
अश्लीलता, छेडखानी र घृणाको भारी वर्षात
जसले रुवाउन खोज्दा पेट मिचीमिची हाँस्थ्यो देश
हँसाउन खोज्दा बिलौना गर्दै रुन्थ्यो देश
र वाक्क भएर देशका नागरिकहरूले
एकस्वरमा भन्ने गर्थे, ‘यसको थुतुनो!’
संसारमा एउटा थियो,
जो दुनियाँलाई पागल बनाउने गरी
बर्बराउँथ्यो बेतुकका कुरा।
अंग्रेजीमा ‘बुल्सिट’ भने जस्तो
उसका वाहियात कुराले दिक्क मान्दै
दुनियाँले एकस्वरमा भन्ने गर्थ्याे, ‘त्यसको थुतुनो!’
उसको थुतुनो!
यसको थुतुनो!
त्यसको थुतुनो!
कति कठिन थियो-
थुतुनाहरूबाट
गाउँलेले पाएको सास्ती
नागरिकहरूले पाएको सास्ती
दुनियाँदारले पाएको सास्ती!
थुतुनाहरू ललिपप चुसेर बस!
अब पुग्यो
एक क्षणका लागि सही
हामीलाई त्यो पीडाले भरिएको धुन सुन्न देऊ,
जो अघिदेखि बजिरहेको छ!
प्रकाशित: ७ भाद्र २०८२ १२:२३ शनिबार





