२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

‘तेरे इश्क में’ चलचित्र: प्रेममा ‘मुक्ति’ होइन, मृत्यु !

के प्रेमले मान्छेलाई पूर्णता दिन्छ ? वा शून्यतामा धकेल्छ ? आनन्द एल राय निर्देशित नवीनतम चलचित्र ‘तेरे इश्क में’ ले दर्शकलाई यही दार्शनिक र मनोवैज्ञानिक प्रश्नको भुमरीमा छाडिदिन्छ।

हिन्दी सिनेमामा प्रेमलाई प्रायः पूजा, त्याग वा मिलनको रूपमा देखाइन्छ। तर रायले प्रेमको त्यो ‘गुलाबी’ चस्मा फुकालेर फ्याँकिदिन्छन् र दर्शकलाई ‘रातो’ यथार्थसँग साक्षात्कार गराउँछन्।

राँझनाको करिब एक दशकपछि आनन्द एल. राय र धनुषको जोडी पुनः एकपटक पर्दामा आएको हो। तर, यो पटक धनुष राँझनाको कुन्दन होइन, शंकर बनेर आएका छन्। आक्रामक र जिद्दी भएर।

नामले सामान्य कथाबस्तु बोकेपनि यो चलचित्र सामान्य भने छैन। सामान्य ‘लभ स्टोरी’ मा मात्र सिमित रहँदैन। परम्परागत ‘लभ स्टोरी’ मा परिवार वा समाज बाधक बन्छन्। तर यस चलचित्रमा प्रेम स्वयं नै पीडा र विनाशको कारण बन्छ।

चलचित्रको कथा दिल्लीको एक प्रतिष्ठित विश्वविद्यालयको प्राज्ञिक माहोलबाट सुरु हुन्छ। जहाँ मुक्ति (कृति सेनन) नामकी एक छात्रा आफ्नो थेसिस प्रस्तुतिमा व्यस्त छिन्।

उनको थेसिसको विषय नै अनौठो र महत्त्वाकाङ्क्षी छ। उनी मान्छिन्– ‘मान्छेको दिमागलाई नियन्त्रण गर्न सकिन्छ। संसारको जस्तोसुकै हिंसालाई पनि प्रेमको स्पर्शले शान्तिमा बदल्न सकिन्छ।’

मुक्ति आफ्नो यो सिद्धान्तमा अडिग छिन्। तर, यथार्थ उनको कक्षाकोठा बाहिरै ताण्डव मच्चाइरहेको हुन्छ। बाहिर विद्यार्थी गुटहरूबिच झडप भइरहेको छ र त्यसको नेतृत्व गरिरहेका छन्– शंकर (धनुष)।

शंकरको बाल्यकाल ट्रमा (आघात) मा बितेको छ। ऊभित्र एउटा कहिल्यै ननिभ्ने आगो छ। ऊ बोल्दैन, ऊ जाइलाग्छ। ऊ सोच्दैन, ऊ प्रहार गर्छ।

कथामा पिटाइबाट बच्न एक युवक मुक्तिको कक्षाकोठासम्म लुक्न आउँछ र उसलाई लखेट्दै शंकर त्यहाँ पुग्छ। सबैको अगाडि शंकरले मच्चाएको वितण्डालाई रोक्न मुक्तिले उसको हात समाउँछिन्।

अनौठो कुरा– जसलाई कसैले रोक्न सकेन, उसलाई मुक्तिको एक स्पर्शले शान्त बनाइदिन्छ। पहिलो भेटमै शंकरको आँखामा मुक्तिको तस्बिर बस्छ।

यहीँबाट कथामा स्वार्थ र समर्पणको खेल सुरु हुन्छ। आफ्नो थेसिस पूरा गर्न ‘केस स्टडी’ को रूपमा मुक्तिलाई शंकरभन्दा उपयुक्त पात्र अर्को लाग्दैन। उनी शंकरसामु प्रस्ताव राख्छिन्– आफूलाई सहयोग गर्न। तर, सर्त स्पष्ट हुन्छ ‘म यो मेरो कामको लागि गर्दै छु, तिमी यो सब मायाको लागि गर्नू।’

शंकर प्रेमको भोको छ। उसले त्यो सर्त स्वीकार्छ। मुक्तिको सङ्गत र प्रेमको आसमा हिंस्रक शंकर बिस्तारै शान्त बन्दै जान्छ। उसको रूपान्तरण देखेर मुक्तिको थेसिस पास हुन्छ। विश्वविद्यालयले वाहवाही गर्छ। तर, जब शंकरले आफ्नो ‘प्रेम’ को इनाम माग्छ, मुक्तिले आफूलाई अलग गर्छिन्।

शंकरका लागि जुन जीवन थियो, मुक्तिका लागि त्यो केवल एउटा प्रोजेक्ट।

यही अस्वीकृतिले शंकरभित्र सुतेको जनावरलाई फेरि ब्युँताउँछ। उसले चेतावनी दिन्छ ‘म प्रेममा परें भने पूरै दिल्ली सहरमा आगो लगाइदिन्छु।’ र, साँच्चै उसको प्रेमको आगोले उसलाई मात्र होइन, वरपरको परिवेशलाई पनि जलाउन सुरु गर्छ।

एउटा सडकछाप गुन्डा कसरी आफ्नो रिस, पीडा र पागलपनलाई इन्धन बनाएर इन्डियन एयर फोर्सको फाइटर पाइलटसम्म बन्छ। तर कसरी ? यत्र चित्रचित्रको कथा यसै विषयमा केन्द्रित छ।

कता यात्रा जति अविश्वसनीय लाग्छ, पर्दामा त्यति नै पीडादायी देखिन्छ।

यस चलचित्र पूर्ण रूपमा धनुषको काँधमा अडिएको छ। शंकरको भूमिकामा उनले जुन अभिनय गरेका छन्, त्यसलाई उत्कृष्ट भन्नु कम हुन्छ। उनी संवाद कम बोल्छन्, तर उनका आँखाले हजारौं शब्द भन्छन्।

थेसिसको प्रयोग पात्र बन्दाको निर्दोषता होस् वा धोका पाएपछिको त्यो डरलाग्दो उन्माद, धनुषले हरेक दृश्यमा दर्शकको मुटु हल्लाउँछन्। विशेष गरी दोस्रो भागमा, जहाँ उनी आफैँसँग लडिरहेका हुन्छन्, त्यहाँ उनको शारीरिक भाषा हेर्न लायक छ।

कृति सेननले मुक्तिको भूमिकामा राम्रो प्रयास गरेकी छिन्। चलचित्रको पहिलो भागमा उनी एक बलियो, स्वतन्त्र र आधुनिक युवतीको रूपमा देखिन्छिन्। तर, पटकथाले दोस्रो भागमा उनको चरित्रलाई न्याय गर्न सकेको छैन।

मदिराको लत र गिल्टमा फसेको उनको चरित्र अझ गहिरो हुन सक्थ्यो। यद्यपि, धनुषजस्तो पावर हाउसको अगाडि उनले आफ्नो उपस्थिति कतै पनि कमजोर हुन दिएकी छैनन्।

शंकरको बुवा राघवको भूमिकामा प्रकाश राजको अभिनय छोटो भए पनि सशक्त छ। बाबु–छोराको सम्बन्धलाई प्रकाश राजले मार्मिक ढङ्गले प्रस्तुत गरेका छन्।

निर्देशक आनन्द एल. रायको विशेषता नै साना सहर र गल्लीका कथालाई भव्यताका साथ प्रस्तुत गर्नु हो। ‘तेरे इश्क में’ मा पनि उनले बनारसका घाट, दिल्लीको कोलाहल र लद्दाखको शून्यतालाई कथाको पात्रकै रूपमा प्रयोग गरेका छन्।

उनले प्रेमलाई कोमल होइन, एक आगोको रूपमा स्थापित गर्न भगवान् शिवको विम्ब प्रयोग गरेका छन्, जुन अर्थपूर्ण लाग्छ।

तर, चलचित्र दोषमुक्त भने छैन। पहिलो भाग जति कसिलो र प्रवाहपूर्ण छ, मध्यान्तरपछि कथा केही बरालिएको महसुस हुन्छ। विशेषगरि शंकर एयर फोर्समा भर्ना हुने प्रक्रिया र त्यहाँका घटनाक्रमहरू अलि हतारमा देखाइएको छ।

प्रेम त्रिकोणको प्रवेशले कथाको मूल प्रवाहलाई केही बाधा पुर्‍याएको छ। लेखक हिमांशु शर्माले संवादमा जादु भरेका छन्, तर पटकथाको कसावटमा अझै काम गर्न सकिन्थ्यो।

यदि अभिनय शरीर हो भने, प्राविधिक पक्ष यो चलचित्रको आत्मा हो। ए.आर. रहमानको सङ्गीतले कथाको मुडलाई अर्को उचाइमा पुर्‍याएको छ। ‘तेरे इश्क में’ को शीर्ष गीत होस् वा पृष्ठभूमि सङ्गीत, हरेक धुनले शंकरको पीडालाई दर्शकको मनसम्म पुर्‍याउँछ।

छायाङ्कनकार तुषार कान्ति रेले पर्दामा जादु गरेका छन्। बनारसको गङ्गा आरतीको दृश्यमा बलेको दियो र शंकरको मनमा बलेको आगोलाई उनले एकै फ्रेममा प्रतिकात्मक रूपमा देखाएका छन्।

नेभी वार र हवाइ दृश्यहरूमा प्रयोग गरिएको भीएफएक्सले चलचित्रलाई ठूलो पर्दाको अनुभव दिएको छ। ‘तेरे इश्क में’ ले दर्शकलाई सजिलो मनोरञ्जन दिँदैन। यो चलचित्रले तपाईंलाई असजिलो बनाउँछ, प्रश्न गर्न बाध्य बनाउँछ र अन्त्यमा एउटा गरुङ्गो मन लिएर हलबाट बाहिर पठाउँछ।

के प्रेम भनेको पाउनु मात्र हो ? यो चलचित्रले भन्छ– होइन। कहिलेकाहीँ प्रेम आफैँमा श्राप बन्न सक्छ। यदि तपाईं परम्परागत लभ स्टोरीको खोजीमा हुनुहुन्छ भने यो चलचित्र तपाईंका लागि होइन। तर, यदि तपाईं प्रेमको पागलपन, मानवीय मनोविज्ञानको जटिलता र धनुषको अविश्वसनीय अभिनय हेर्न चाहनुहुन्छ भने, ‘तेरे इश्क में’ एउटा महत्त्वपूर्ण चलचित्र हो।

अन्त्यमा, बनारसको घाटमा गुन्जिएको त्यो संवाद– ‘प्रेममा मृत्यु छ, मुक्ति छैन’ ले नै चलचित्रको सम्पूर्ण सार बोकेको छ। यो हेर्ने मात्र होइन, महसुस गर्ने सिनेमा हो।

प्रकाशित: १६ मंसिर २०८२ १२:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App