हेमन्तले छुँदा धर्ती, थाल्याे चिसिन सुस्तरी
विरह वेदना बाेल्छे वियाेगी काेइली चरी।।
कठाङ्ग्रिए वृक्ष सारा, मुर्झाए नव पल्लव
सुनसान भयाे माैन, काेलाहल हट्याे सब।
फाेस्रियाे फूलकाे रङ्ग, पैयुँमा फूल फक्रियाे
चिसिए रविका रश्मी, भेउ हेमन्तले दियाे।
सिरेटाेकाे बढ्याे शक्ति शितकाे राज फर्कियाे
शरदले सजाएकाे वनकुञ्ज उजाडियाे।।
सुके पात झरे फूल, नाच्दैन चिडिया रमी
हेमन्तले गर्याे शासन् चर्काे बजाइ दुन्दुभि।।
खाली खेत खलीहान, बारीटारी खुला भए
उठाएर नयाँ बाली फुर्सदिला किसान् भए।।
खाेजी न्यानाे झरे पन्छी, फर्किए जब गाैथली
भयाे धरा समाधिस्त, हेमन्ती गाेदमा गली
माैन वर्ति महात्मा झैं उभिए हिम टाकुरी
शिरमा हिउँकाे सेताे, शिरपाेस गुथेसरी ।।
अगेनाकाे डिलै प्याराे, आनन्द रापले छुँदा
जाडाे हेमन्तकाे भाग्छ न्यानाे समिपमा हुँदा ।।
लामा रात तुसाराेले ठण्डी बढेर लेकमा
चिसाे बतासले चिल्दा परे जीवात शाेकमा।।
पुस लाग्याे बढ्याे जाडाे, शीत सिसा सरी भयाे
खाेकिलामा मुठी राखी दीनदुखी कठाङ्ग्रियाे।।
पूर्व दिशा नियालेर सूर्य दर्शन खातिर
मुठी कसी बसेका छन् असहाय दिगम्वर।।
कठाङ्ग्रिने चिसाे हावा फेराे मारेर डुल्दछ
चाँदीसरि चुली राम्रा हेमन्तले बटुल्दछ।।
गयाे ठण्डा बिदा मागी उदाए जब भाष्कर
न्यानाे खाेजी कुनाबाट निस्किए जीव लस्कर।।
बित्याे दिन भयाे सन्ध्या बिदा भए दिनाकर
ब्युँझिएर उठ्याे सर्दी, ठाँटाे छरी निरन्तर।।
तुसाराेभित्र मुस्कान छरेर फूल हाँस्दछ
डण्डा कठाेर हेमन्त उसैमाथि बजार्दछ।।
मुर्झाए फूलका डाली तुसाराे जब बर्सियाे
शिशिर हिउँ छम्कन्दै उन्मत्त भइ हर्षियाे।।
वृक्ष नाङ्गा भए डाली पात झरे जमीनमा
वनकुञ्ज उजाडिए शिशिरका अधीनमा।
चिनी छरेर सेताम्मे सजायाे रातले जिमी
शाेक धुन बजाएर हेमन्तले बिदा लिनी।।
पुर्लुक्क शीतका थाेपा पल्टिदा फूल पातमा
पर्खिएर शशी बस्छिन् चुपचाप सन्नाटमा।।
प्रकाशित: १ असार २०८३ ०८:२१ सोमबार





