२९ असार २०८३ सोमबार
image/svg+xml
राजनीति

दुर्गा प्रसाईंसँग जोडिएका धवल शमशेरले भने: राप्रपाले राष्ट्रवादी शक्तिको आवश्यकता पूरा गर्न सकेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका धवलशमशेर राणाले मुलुकमा एउटा मजबुद राष्ट्रवादी शक्तिको आवश्यकता महसुस भएकाले नयाँ राजनीतिक शक्ति निर्माणको अभियान अघि बढाइएको बताएका छन् ।

प्रस्तावित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै राणाले राप्रपाले राष्ट्रवादी शक्तिको आवश्यकता पूरा गर्न नसकेको दाबी गरे । उनले पछिल्ला उपनिर्वाचन तथा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले पनि त्यसलाई स्पष्ट पारेको बताए ।

उनले भने, ‘यो मुलुकमा एउटा मजबुत राष्ट्रवादी शक्तिको खाँचो सबैले महसुस गरेका छौँ । त्यो खाँचोलाई परिपूर्ति गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले सकेन । त्यसको परिणाम गएका उपनिर्वाचनहरू र अहिले भर्खरै भएको प्रतिनिधिसभाको निर्वाचनले स्पष्ट पारिसकेको छ ।’

उनले सनातन धर्म, बौद्ध तथा किराँत धर्मलाई समेट्ने सनातनी हिन्दू अधिराज्यको एजेन्डालाई जनताले अस्वीकार गरेको भन्ने टिप्पणी सत्य नभएको उल्लेख गरे । राणाले जनताले तिरस्कार गरेको विषय राप्रपाको कार्यशैली भएको जिकिर गर्दै नेपाली जनताले विगत ३५ वर्षमा पटक–पटक उक्त एजेन्डा स्थापित गर्न राप्रपालाई समर्थन गरेको बताए ।

उनले भने, ‘धेरै व्यक्तिले के भन्न थाले भने हामीले जुन मूल्य र मान्यता तथा बोकेको एजेन्डा छ–सनातन धर्मसापेक्ष, बौद्ध र किराँत धर्मलाई समेटेको सनातनी हिन्दू अधिराज्यको एजेन्डालाई जनताले तिरस्कार ग¥यो भनेर कुराहरू आइरहेका छन्। यो कुरा सत्य होइन । जनताले तिरस्कार गरेको त राष्ट्रिय प्रजातन्त्र पार्टीको क्रियाकलाप हो नि । अहिले होइन, पार्टी जन्मेकै बेलादेखि अहिलेसम्म ३५ वर्ष भयो । नेपाली जनताले पटक–पटक राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एजेन्डा स्थापित गर्न, राजसंस्था स्थापित गर्न र हिन्दू अधिराज्य स्थापित गर्न सहयोग गरेकै हुन् तर हरेक पटक सहयोग गरेपछि माथिका नेताहरू त्यो एजेन्डाप्रति इमानदार र बफादार भएनन् । बरु आफ्नो व्यक्तिगत स्वार्थका लागि सबैजसो प्रधानमन्त्रीअन्तर्गत उपप्रधानमन्त्री भइदिए । गर्दागर्दै सभामुख पनि खाइदिए ।’

राणाले प्रस्तावित नयाँ पार्टी सहमति र लोकतान्त्रिक विधिबाट सञ्चालन हुने बताए । उनले पार्टीमा अनुशासनको नाममा दण्डात्मक शैली अवलम्बन नगरिने र सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

 

प्रकाशित: ३१ जेष्ठ २०८३ १५:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App