२९ असार २०८३ सोमबार
image/svg+xml
राजनीति

पार्टीभित्रको नाटक बन्द गरौं, १० मिनेटमै विवाद टुङ्गिन्छ: सिटौला

फाइल।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीभित्रको आन्तरिक कलह, कार्यशैली र महाधिवेशनको अन्योललाई तत्काल चिर्न नेतृत्वलाई आग्रह गरेका छन्।

आइतबार विराटनगरमा संस्थापनइतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले अनावश्यक नाटक बन्द गरी विवाद समाधानका लागि साहस देखाउन नेतृत्वको ध्यानाकर्षण गराएका हुन्।

नेता सिटौलाले महाधिवेशनका नाममा भइरहेको ढिलासुस्ती र आन्तरिक असमझदारीप्रति असन्तुष्टि जनाए। उनले सभापति थापालाई लक्षित गर्दै भने, ‘विवाद के होला भनेर नडराउनुस्, १० मिनेटमै कुरा टुङ्गिन्छ। यो साहस तपाईंको हृदयबाट आउनुपर्छ। लेख्ने र मेटाउने शक्ति तपाईंहरूसँगै छ, अब एकमुस्ट निर्णय गरेर अघि बढ्नुस्।’

उनले विगतका नवौँदेखि चौधौँ महाधिवेशनसम्मका नजिरहरूलाई स्मरण गर्दै सोहीअनुसार आगामी महाधिवेशन सम्पन्न गर्न सुझाव दिए। पार्टी नेतृत्व र पदाधिकारीहरूलाई प्रश्न गर्दै सिटौलाले जे निर्णय गर्ने हो, त्यो समयमै र पारदर्शी ढङ्गले गर्नुपर्नेमा जोड दिए।

पार्टीभित्र आफ्नै सहयात्रीहरूमाथि भएको व्यवहारलाई उनले निन्दनीय र अमानवीय भने। ‘हामी लोकतन्त्रवादी हौं, हामीमा मानवता हुनुपर्छ। शत्रु पक्षलाई त त्यस्तो व्यवहार गरिँदैन भने आफ्नै साथीहरूमाथि भएको त्यो व्यवहार निन्दनीय छ,’ उनले भने, ‘जस्तोसुकै अपराधीलाई पनि कानुनी प्रक्रिया अपनाइनुपर्छ भन्ने मान्यतामा हामी विश्वास गर्छौं, तर हिजो पार्टीभित्रै जे देखियो त्यो अनौठो थियो।’

देशको वर्तमान राजनीतिक अवस्थाप्रति बोल्दै नेता सिटौलाले नेपाल तर्सनेहरूको देश भएको बताए। उनले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको मर्मविपरीत चालेका कदमहरूले मुलुकमा त्रासको वातावरण सिर्जना गरेको उल्लेख गरे।

‘राष्ट्रपति नै तर्सिनुभएको छ, आन्दोलन भयो, प्रतिनिधिसभा विघटन गरिदिनुभयो, प्रधानमन्त्री नियुक्त गरिदिनुभयो, संविधानमा त्यो कल्पना छैन,’ उनले भने, ‘यो डराउने र तर्साउने सिलसिला कांग्रेसले रोक्नुपर्छ।’

संविधानको आधारभूत संरचना परिवर्तन हुन नसक्ने उल्लेख गर्दै सिटौलाले शासकले जनताको मनमा पारेको भ्रम चिर्ने काम कांग्रेसकै भएको दाबी गरे। उनले मनदेखि खण्डित भएको कांग्रेसले जनताको भय मेटाउन नसक्ने भन्दै पार्टीलाई एकताबद्ध बनाउन र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर निर्णय लिन नेतृत्वलाई आह्वान गरे।

संस्थापन पक्ष जिम्मेवार भएर अघि बढेमा मात्रै देशको विद्यमान सङ्कट समाधान हुने उनको ठहर छ।

प्रकाशित: ३१ जेष्ठ २०८३ १६:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App