२४ असार २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

'ककाकिकी'को पहिलो झलक सार्वजनि

माया इन्टरटेन्मेन्टको प्रस्तुतिमा 'कमेडी दरबार' टिमले बनाएको फिल्म 'ककाकिकी' को पहिलो झलक सार्वजनिक गरिएको छ। जसमा मुख्य कलाकारहरू आफ्नो गाउँका लागि केही गर्न खोजेको देखिन्छ। अभिनेत्री गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र अभिनेता महेश त्रिपाठीले एउटा डाँडामा बसेर योजना बनाइरहेका छन्।

उनीहरु 'कुलेबारी' नामको गाउँमा छन्, उक्त गाउँका लागि केही गर्ने योजनामा छन्। सार्वजनिक झण्डै तीन मिनेटको झलकमा अभिनेत्री रेखाले भनेकी छन्ः 'गाउँका लागि यो काम गर्दा केही भइहाल्यो भने के हुन्छ होला है?'

यस्तै अभिनेत्री गौरीले 'एउटा सालिक त बलाउलान् नि हरामीहरूले।' भनेको देखिन्छ तर अर्की अभिनेत्री तृप्तिले भने 'सालिक त बनाउँदैन होला, अब हामी नै मिस्त्री भएपछि कसले आएर बनाइदेला त सालिक ?' भन्दै जवाफ फर्काउँछिन्।

आगामी भदौ १९ मा प्रदर्शनमा आउने 'ककाकिकी' को निर्माण टिमले पहिलो झलक सार्वजनिक गरेसँगै आफ्नो प्रचारप्रसारको काम औपचारिक रुपमा सुरु भएको जानकारी गराएको छ। फिल्मका निर्देशकद्वय बिक्की अगरवाल र श्रृद्धा प्रसाईंले आफूहरूले मिहिनत गरेर बनाएको फिल्म अब दर्शकको हातमा छाडिदिन लागेको र जस्तो प्रतिक्रिया आउँछ त्यसमा आफूहरू सन्तुष्ट रहने बताउँछन्। निर्देशक बिक्की भन्छन्ः 'हामी अहिलेनै हामीले यस्तो उस्तो फिल्म बनाएका छौं भन्दैनौं, राम्रो बनाउने कोशिस गरेका छौं बाँकी दर्शकको हातमा छ।'

यस्तै निर्देशक श्रृद्धा सम्पुर्ण कलाकार तथा प्राविधिक टिमले आफूहरुलाई निकै साथ दिएकाले पनि फिल्म राम्रो बनेकोमा ढुक्क छिन्।

पहिलो झलक सार्वजनिक कार्यक्रममा उपस्थित अभिनेत्री गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, दिया मास्के, अभिनेता महेश त्रिपाठी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, सुवास गजुरेल, रेअर राई, खड्ग बहादुर पुन मगर (खबपु), पवन खतिवडा (म्याकुरी) लगायतले फिल्ममा काम गर्दाका अनुभव साटेका थिए।

फिल्ममा माउत्से गुरुङ, मनोज गजुरेल, मुकुन्द मैनाली, रामबाबु रेग्मी, सिडी बिजय अधिकारी, सरोज भण्डारी, सुजना श्रेष्ठ, बिश्वास तिमल्सिना (बिटी कान्छा), एलिसा भोग, सुवर्ण थापा, कमल देवकोटा लगायतको पनि अभिनय छ।

फिल्मको लेखन निर्देशक बिक्कीसँगै सरोज भण्डारी र बिकाश अर्यालले गरेका हुन्। फिल्मको निर्माता श्रृद्धा प्रसाईं र सुमित्रा थापा हुन्। यस्तै कन्सेप्ट सुमन अग्रवालको हो भने स्क्रिप्ट डक्टरकोकाम विश्वास तिमल्सिना (बिटी कान्छा)ले गरेका छन्। सुदिप बरालको डिओपी रहेको फिल्ममा मुख्य सहायक निर्देशक अनिश बुढाथोकी हुन् भने सहायक निर्देशक विशाल राई हुन्। मेकअपमा अनिस तामाङ, कस्टुम डिजाइनमा सुमन परियार, प्रोडक्सन हेड अरुण रेग्मी रहेका छन्। फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलसँग छ भने अन्तर्राष्ट्रिय रिलिज अधिकार सेभेन सिज इन्टरनेशनलले लिएको छ। 

प्रकाशित: २२ असार २०८३ ०६:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App