५ श्रावण २०८३ मंगलबार
image/svg+xml
अर्थ

अबको प्राथमिकता सुशासन र शून्य भ्रष्टाचार हुनुपर्छ: संथापक ज्ञावाली

नेपाली रिपब्लिक मिडियाकी संथापक शोभा ज्ञावालीले मुलुकको दिगो विकासका लागि सुशासन र शून्य भ्रष्टाचारसँगै आर्थिक सशक्तिकरणको पाटोलाई तीव्र रूपमा अघि बढाउनुपर्नेमा जोड दिएकी छन्।

बुधबार नेपाल रिपब्लिक लिमिटेडद्वारा आयोजित ‘पावर नेपाल कन्कलेभ २०८३’ को उद्घाटन सत्रमा स्वागत मन्तव्य राख्दै संथापक ज्ञावालीले ऊर्जा क्षेत्रको विकासलाई देशको समग्र अर्थतन्त्रको मेरुदण्डका रूपमा बढाउनुपर्ने बताएकी हुन्।

नेपालको जलविद्युत क्षेत्रमा हालसम्म करिब १३ खर्ब रुपैयाँ लगानी भइसकेको तथ्याङ्क प्रस्तुत गर्दै उनले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य मुलुकको अर्थतन्त्रका लागि अत्यन्तै सकारात्मक भएको उल्लेख गरिन्।

उनले भनिन्, ‘उत्पादनको यो लक्ष्य आफैंमा ऐतिहासिक छ, तर उत्पादित ऊर्जालाई घरेलु चुलोदेखि ठुला उद्योगसम्म खपत गराउन एउटा सुदृढ ‘इकोसिस्टम’ निर्माण गर्नु आजको मुख्य आवश्यकता हो।’

नेपाल रिपब्लिक मिडियाले ऊर्जा क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालाहरूलाई एउटै थलोमा ल्याएर यस बहसको सुरुवात गरेको बताउँदै उनले यस कन्कलेभले मुलुकको ऊर्जा क्षेत्रका नीतिगत र व्यवहारिक समस्या सुल्झाउन ‘कङ्क्रिट’ र इम्प्याक्टफुल सोलुसन दिने विश्वास व्यक्त गरिन्।

कार्यक्रममा ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ, भारत सरकारका पूर्व सचिव अनिल स्वरुप लगायत मुलुकका विशिष्ट लगानीकर्ता, उद्यमी र नीति निर्माताहरूको उपस्थिति रहेको थियो।

प्रकाशित: २४ असार २०८३ २२:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App