मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, सेल्फी रोडस्थित सामुदायिक वनमा बोरामा हालेर खाल्डोमा फालिएको अवस्थामा एक महिलाको शव भेटिएको छ।
शुक्रबार दिउँसो स्थानीयवासी च्याउ टिप्न जंगल पुगेका बेला सेतो बोरामा बाँधेर खाल्डोमा फालिएको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेका अनुसार सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक किशोर आचार्यको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो।
घटनास्थल सुरक्षित राखेर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली पनि परिचालन गरिएको काफ्लेले बताए।
प्रहरीका अनुसार बोराभित्र अन्दाजी ३० देखि ३२ वर्ष उमेरकी जस्तो देखिने महिलाको शव फेला परेको हो। मृतकको नाम, थर र ठेगाना भने अहिलेसम्म खुल्न सकेको छैन।
कानुनी प्रक्रिया पूरा गरी शव हेटौँडा अस्पतालमा ल्याइएको छ। घटनाको प्रकृति र मृतकको पहिचान खुलाउने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २२ श्रावण २०८३ १८:३४ शुक्रबार





