कालीकोटमा डाक्टर र नर्समाथि अस्पतालभित्रै हातपात भएको छ।
पताँला गाउँपालिका वडा–९ थिर्पुमा रहेको पताँला अस्पतालमा मेडिकल अफिसर डा.अली हैदर राईन र स्टाफ नर्स शान्ता गिरीमाथि आक्रमण भएको हो।
अस्पतालभित्र इन्टरनेट चलाउन आएका स्थानीय व्यक्तिहरूले शुक्रबार दिउँसो १ः५० बजेतिर आफूहरूमाथि हातपात गरेको डा.अलीले जानकारी दिए।
उनका अनुसार स्थानीय मैना बम, उनका दुई छोरा र अन्य स्थानीय समेतले आक्रमण गरेको हुन्। मैना बमका १४ र १५ वर्षका दुई छोराहरू अस्पतालको ओपीडी अगाडि बसेर मोबाइलमा भिडियो गेम खेलिरहेका थिए।
अस्पताल नजिकै घर भएकाले बमका उनीहरू वाईफाई चलाउन अस्पताल आइरहने गर्छन्। डा.अली र नर्स गिरीले उनीहरूलाई बाहिर गएर मोबाइल चलाउन भनेका थिए। त्यसो भनेपछि उनीहरू ‘यहीँ बसेर चलाउँछौँ कसले के गर्छ ?’ भनेर जङ्गिए।
त्यसपछि सुरक्षा गार्डले बाहिर निकाल्न खोज्दा उनीहरूसहित आमा मैना बम र अन्यले समेत आफूहरुलाई आक्रमण गरेको डा.अलीले बताए।
वाईफाई चलाउने बहानामा बनाएर उनीहरू नियोजित रुपमै आफूलाई आक्रमण गर्न आएको आरोप डा.अलीको छ।
प्रकाशित: २२ श्रावण २०८३ १८:४८ शुक्रबार





