विश्वकपको अन्तिम १६ अन्तर्गत बुधबार स्विट्जरल्याण्ड र कोलम्बियाबीच प्रतिस्पर्धा हुँदैछ। भ्यानकुभरमा हुन लागेको खेल नेपाली समयअनुसार बुधबार बिहान १ः४५ बजेबाट सुरु हुनेछ।
दुवै टोली उत्कृष्ट लयमा रहेकाले खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ। समूहचरणमा स्विट्जरल्याण्डले क्यानडा र बोस्निया र हर्जगोभिनालाई हराउँदै र कतारसँग बराबरी गर्दै सात अंकसहित समूह बी को शीर्ष स्थानमा रह्यो।
उनीहरूले राउन्ड अफ ३२ मा अल्जेरियामाथि २–० को जित हासिल गर्दै १९३८ पछि पहिलो पटक विश्वकप नकआउट जित हासिल गरे।
कोलम्बियाले समूह के मा सात अंकसहित शीर्ष स्थानमा रहँदै राउन्ड अफ ३२ मा प्रवेश गरेको थियो। टोलीले उज्बेकिस्तान र डीआर कंगोलाई हराएको थियो भने पोर्चुगललाई बराबरीमा रोकेको थियो। राउन्ड अफ ३२ मा उनीहरूले घानालाई १–० ले पराजित गरेका थिए।
बलियो रक्षासँगै प्रभावकारी आक्रमणका कारण कोलम्बियालाई यस प्रतियोगिताको बलियो दाबेदार मानिएको छ।
यता, स्विट्जरल्याण्डले पनि उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। टोलीका २० वर्षीय मिडफिल्डर जोहान मान्जाम्बी प्रतियोगिताका उदीयमान खेलाडी बनेका छन्। उनले हालसम्म तीन गोल र दुई असिस्ट गर्दै टोलीको सफलतामा महत्वपूर्ण योगदान दिएका छन्। प्रशिक्षक मुरात याकिनले उनलाई टोलीका सबैभन्दा महत्वपूर्ण खेलाडीमध्ये एक बताएका छन्।
स्विस टोलीका ब्रील एम्बोलो, डान एनडोये, रुबेन वर्गास र मान्जाम्बीको आक्रमणलाई रोक्नु कोलम्बियाका लागि ठूलो चुनौती हुनेछ।
कोलम्बियाका प्रशिक्षक नेस्टर लोरेन्जोले आफ्नो टोलीको बहुमुखी क्षमता र खेलअनुसार रणनीति परिवर्तन गर्न सक्ने विशेषताको प्रशंसा गरेका छन्। ड्यानियल मुनोज र लुइस डियाज टोलीका मुख्य खेलाडी हुन्, जसले यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका छन्।
हेड–टु–हेड
स्विट्जरल्याण्ड र कोलम्बियाबीच अहिलेसम्म चार पटक भेट भएको छ। तीमध्ये तीन खेल मैत्रीपूर्ण थिए भने एक खेल १९९४ को विश्वकपमा भएको थियो। चारमध्ये तीन खेलमा कोलम्बिया विजयी भएको छ।
तथ्यांक विश्लेषण गर्ने ओप्टा सुपर कम्प्युटरले नियमित समयमा कोलम्बियाको जित्ने सम्भावना ४१.९ प्रतिशत रहेको जनाएको छ। स्विट्जरल्याण्डको जित्ने सम्भावना २८.२ प्रतिशत छ भने खेल अतिरिक्त समयमा जाने सम्भावना २९.९ प्रतिशत रहेको अनुमान गरिएको छ।
यस खेलको विजेताले क्वार्टरफाइनलमा अर्जेन्टिना वा इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ।
प्रकाशित: २३ असार २०८३ १६:५६ मंगलबार


-600x400.jpg)


