विराटनगरमा नक्कली नागरिकता बनाइदिने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूले विराटनगरको एक फोटो स्टुडियोलाई ‘प्रशासन कार्यालय’ बनाएर ‘नेपाली नागरिकता’ नक्कली बनाई मोटो रकम लिने गरेको खुलेको हो।
विराटनगरकी एक ३० वर्षीया महिला र उनको मामाको नागरिकता बनाइदिएपछि नक्कली नागरिकता बनाइदिने व्यक्ति र स्थान प्रहरीले फेला पारेको हो। आर्थिक अवस्था कमजोर भएकी २ सन्तानकी आमा मनिषा कामत (पीडित महिला) र उनको मामाको कसरी छिटो नागरिकता बनाएर ‘नागरिक बन्ने’ भन्ने थियो। तर, सरकारी प्रक्रियाको अज्ञानता र ‘छिटो काम हुने’ प्रलोभनका कारण उनी यस्तो गिरोहको फन्दामा परे, जसले एउटा फोटो स्टुडियोलाई नै ‘नक्कली प्रशासन कार्यालय’ बनाएर उनलाई ठगी गर्यो।
नागरिकता बनाइदिने बहानामा विराटनगर-११ का ६५ वर्षीय अशोककुमार श्रेष्ठले मनिषाबाट १ लाख ३० हजार रुपैयाँ असुले। मनिषाले वर्षौंदेखि मजदुरी गरेर जम्मा गरेको त्यो ठूलो रकम, आफ्नो फोटो र कागजात महेन्द्र चोक पुगेर श्रेष्ठलाई बुझाएकी थिइन्। कागजात बुझाएको मात्र तीन दिनमा श्रेष्ठले उनलाई नागरिकता थमाइदिएपछि मनिषा दङ्ग थिइन्। उनलाई लागेको थियो, ‘वर्षौँको झन्झट मेटियो।’
तर, मनिषाको त्यो खुसी तब टुक्रियो, जब उनी राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय मोरङ पुगिन्। राष्ट्रिय परिचयपत्र बनाउने काउन्टर (ठाउँ) मा रहेका कर्मचारीले मनिषाको नागरिकता ‘नक्कली’ भएको बताएपछि उनले पत्याइनन्। उनले उल्टै कर्मचारीलाई प्रश्न गरिन्, ‘तपाईंहरूले नै जारी गरेको नागरिकता कसरी नक्कली हुन्छ ?’ मनिषा र कर्मचारीबिच दोहोरो भनाभन भइरहेको समयमा आन्तरिक निरीक्षण गर्दै गरेका मोरङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) युवराज कटेल त्यहाँ पुग्छन्, घटनाका विषयमा बुझ्छन्।
प्रजिअ कटेलले स्वयं नागरिकताको सूक्ष्म जाँच गरेपछि त्यो पूर्णतः नक्कली भएको पुष्टि गरे। वर्षौँको मेहनत र रगत-पसिनाको कमाइ ठगिएको थाहा पाएपछि मनिषा छाँगाबाट खसेझैँ भइन्।
घटनाको गम्भीरता हेरेर प्रजिअ कटेलले तत्कालै प्रहरी टोली परिचालन गरे। प्रहरीले मुख्य अभियुक्त अशोककुमार श्रेष्ठलाई तत्कालै नियन्त्रणमा लियो। खानतलासीका क्रममा श्रेष्ठको साथबाट थप १० थान नक्कली नागरिकता फेला पर्यो।
अनुसन्धानका क्रममा यो धन्दामा विराटनगर-५ का ३८ वर्षीय धनदेव राजवंशीको संलग्नता खुल्यो। राजवंशीले विगत ६-७ वर्षदेखि महेन्द्र चोकमा ‘न्यु डोली फोटो सर्भिसेज’ नामक स्टुडियो चलाउँदै आएका थिए। सोही स्टुडियोलाई उनीहरूले नक्कली नागरिकता डिजाइन गर्ने र छाप्ने ‘अखडा’ बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
बरामद गरिएका नागरिकताहरूमा नेपाल सरकारको होलोग्राम, कार्यालयको छाप र जारी गर्ने अधिकृतको हस्ताक्षर यति दुरुस्त पारिएको छ कि सामान्य मानिसले सक्कली र नक्कली ठम्याउनै सक्दैनन्। ती नागरिकताहरूमा विक्रम संवत् २०६८ देखि २०८२ सम्मको मिति राखिएको छ, जसमा हाल कार्यरत र सरुवा भइसकेका अधिकृतहरूको हस्ताक्षरसमेत किर्ते गरिएको पाइएको छ।
प्रहरीले राजवंशीको स्टुडियोबाट जन्मदर्ता, नागरिकता र राष्ट्रिय परिचयपत्रका सरकारी फारम र वडाका नक्कली सिफारिस पत्रहरूसहित महत्त्वपूर्ण उपकरणहरू बरामद गरेको छ। मोरङका प्रजिअ कटेलले यसलाई गम्भीर सङ्गठित अपराधको सङ्ज्ञा दिएका छन्। उनले भने, ‘होलोग्राम, हस्ताक्षर र लेमिनेसन समेत दुरुस्त बनाएर सोझा जनतालाई ठग्नु अक्षम्य अपराध हो। यसमा संलग्नहरूलाई कडा कानुनी कारबाही गरिनेछ।’
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङको जिम्मा लगाइएको छ। यस गिरोहमा अन्य व्यक्तिहरूको पनि संलग्नता हुन सक्ने आशंकामा अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ।
प्रकाशित: २४ असार २०८३ २१:३४ बुधबार





