चन्द्र पन्तको निर्देशनमा निर्माण थालेको चलचित्र ‘आबाट आमा’ को २५ दिनमै छायांकन सकिएको छ।
चलचित्रको छायांकन सकिएलगत्तै निर्देशक पन्त र अभिनेता पल शाहलाई अर्को अनटाइल चलचित्रका लागि अनुबन्ध गरेका छन्। निर्देशक चन्द्र पन्तले केही दिनमै चलचित्रको नाम र अन्य कलाकारबारे जानकारी दिने बताए।
अहिलेलाई अभिनेताका रूपमा पललाई लिएको र पहिलो जस्तै दोस्रो सहकार्य पनि दमदार हुने उनले बताए।
निर्देशक पन्तले चलचित्र ‘आबाट आमा’ को छायांकन २५ दिनअघि तनहुँको गलेश्वर मन्दिरमा शुभ मुहूर्तसँगै चितवनबाट छायांकन थालेका थिए। एक महिनाको सेड्युलमा छायांकन थाले पनि कलाकार तथा प्राविधिक पक्षको मेहनतले ५ दिनअघि नै चलचित्रको सुटिङ सकिएको निर्देशक पन्तले बताए।
चितवन, काठमाडौं लगायत विभिन्न स्थानमा खिचिएको यस चलचित्रमा पल शाह, प्रदीप रावत, विपना थापा, गजित विष्ट, साइग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती लगायतले अभियनयमा मुख्य भूमिकामा निर्वाह गरेका छन्। चलचित्रले आमा र सन्तानको मायाममता तथा स्नेहको कथा बोल्ने छ।
चलचित्रको छायांकन सकिएपछि अभिनेता पल शाहले आफू यो चलचित्रबाट निकै आशावादी रहेको बताए। उनी भन्छन्, ‘म आशावादी छु, तपाईं भगवानरूपी दर्शकहरूले ‘आबाट आमा’ लाई पनि सधैं जस्ताे माया र समर्थन गर्नु हुनेछ र अझै उत्कृष्ट सिर्जना गर्न प्रेरणा दिनुहुनेछ।’
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको डिओपीमा नवराज उप्रेती र चलचित्रको संगीतमा कोसिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतम छन्।
यो चलचित्रको विदेश प्रदर्शन अधिकार बिक्री भइसकेको छ। निर्माण पक्षकाे अनुसार अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार विक्री भएको हो। हिमारु इन्टरटेन्मेन्ट प्रालिले दुवै देशका अधिकार खरिद गरेको निर्माण पक्षले जनाएको छ।
नेपालमा चलचित्रको प्रदर्शन अधिकार आरआर फिल्म्सले गर्दैछ भने यो चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।
प्रकाशित: १२ आश्विन २०८२ १०:०२ आइतबार





