नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ का ५५ वर्षीय श्याम गिरी नृत्यकलामा अत्यन्तै रुचि राख्छन्। यहाँ कुनै औपचारिक कार्यक्रम होस् कि उनी प्रायः आफ्नो कला देखाउन पुगिहाल्छन् । कारण हो, ‘योगा डान्स’मार्फत विश्व कीर्तिमान कायम गर्ने उनको सपना।
विगत ७ वर्षदेखि डान्स विधामा कडा मेहनत गरिरहेका छन् उनी। नृत्यकलामार्फत विश्वसामु नेपाल राष्ट्र र आफूलाई चिनाउन ‘गिनिज बुक अफ वल्र्ड’मा नाम लेखाउने सपनासाथ अगाडि बढेको उनी बताउँछन्।
कुनै समयमा रेडियो कार्यक्रममार्फत आम स्रोतामाझ ‘रेडियोप्रेमी वान’को उपनामले परिचित बनेका गिरी ‘टु लेग फिंगर फ्रन्ट टु ब्याक योगा डान्सर’को परिकल्पनाकार हुन्। सामाजिक सञ्जाल फेसबुक र टिकटकमा श्याम गिरीको ‘टु लेग फिंगर फ्रन्ट टु ब्याक योगा डान्स’ पछिल्लो समयमा भाइरल बनिरहेको छ। कडा मेहनत गरेर ‘योगा डान्स’ गर्ने गिरी फेसबुक र टिकटकमा नेपाली मात्रै होइन, विदेशी नागरिकले पनि उनको नृत्यलाई अत्यधिक मन पराइरहेका छन्।
लामो प्रयासपछि गिरीले सिर्जना गरेका ‘न्यु योगा हर्ट’, ‘टु लेग फिङगर’, ‘फ्रन्ट टु ब्याक, वेटिङ स्केल’, ‘राउन्डिङ स्विट’, ‘वन लेग फिंगर’जस्ता डान्स स्टेपहरू सामाजिक सञ्जालमा चर्चामा रहेका छन्। ‘अनेक संघर्षलाई पार गर्दै मैले डान्सका स्टेपहरू सिकेको हुँ, नेपाली तथा विदेशी नागरिकहरू मेरा फ्यान बन्नुभएको छ,’ उनी नागरिकसँग भन्छन्।
टिकटकमा ‘रेडियो प्रेमी वान’बाट चर्चित भएका गिरीले ‘मेरो डान्स सिजन–२’मा पनि योगा डान्स प्रस्तुत गरेका थिए। उक्त सिजनमा बाँकेबाट छनोट भई काठमाडौंमा पुगेर आफ्नो प्रस्तुति देखाउँदा निर्णायकहरू दिलीप राइमाझी, मिथिला शर्मा, शंकर बिसीलगायतले उनको प्रशंसासमेत गरेका थिए। निर्णायकहरूले गिरीको ‘योगा डान्स’का स्टेपहरूको प्रशंसा गर्दा थप उत्साहित भए।
उनी भन्छन्, ‘संसारकै नौलो नृत्य सिर्जना गरेर विश्वमा चिन्न सफल भएँ, धेरै मेहनत गरेर यहाँसम्म आएको हुँ, सात वर्षदेखि लगातार कडा परिश्रम गरेर मैले सिर्जना गरेको नृत्यलाई चिनाउन सफल भएँ।’
योगा डान्स शैलीमा उनले आफैं सिर्जना गरेका नृत्यहरू ‘न्यु योगा हर्ट’, ‘टु लेग फिंगर’, ‘फ्रन्ट टु ब्याक’, ‘वेटिङ स्केल’, ‘राउन्डिङ स्विट’ र ‘वान लेग फिंगर’ हुन्। यी नृत्य स्टेपहरूले आफूलाई नेपाल मात्र होइन, विश्वस्तरमै चिनाउन मद्दत गरेको गिरीको दाबी छ। गिरीको नृत्ययात्रा सजिलो थिएन। उमेर, चुनौती र अवसरको अभावजस्ता अनेक अवरोध पार गर्दै उनी यहाँसम्म आइपुगेका हुन्। ‘रुचि र लगाव भए उमेरले कहिल्यै रोक्दैन,’ उनी भन्छन्।
गिरीले आफ्नो प्रतिभा ‘मेरो डान्स सिजन–२’ जस्तो राष्ट्रिय स्तरको मञ्चमा प्रस्तुत गर्ने अवसर प्राप्त गरेसँगै उनको आत्मविश्वास बढेर गएको हो। त्यही आत्मविश्वासले उमेर, स्थान र अवसरभन्दा परिश्रम र लगाव ठुलो हुन्छ भन्ने सन्देश दियो। साधारण जीवनबाट असाधारण पहिचान बनाउन सकिन्छ भन्ने गरेका गिरी अहिले त्यही नृत्यकलामार्फत नेपाललाई विश्वसामु चिनाउन लागिपरेका छन्। अहिले घरमै बसेर नृत्यका नयाँ स्टेप सिक्ने, अभ्यास गर्ने र सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्ने उनको दैनिकीजस्तै बनेको छ।
गिरीको नृत्य गर्ने जोस कहिल्यै घटेन, बरु उनी निरन्तर नृत्य साधनामा उत्साहित भएर लागिरहेका छन्। उनी थप्छन्, ‘रुचि र लगाव निरन्तर भइरहे उमेरले नछेक्ने रहेछ, नृत्य क्षेत्रमा मेरो रुचि भएकै कारणले नयाँ स्टेप गर्न गाह्रो छैन।’
सरकारी जागिर छाडेर घरमै बस्ने गरेका गिरी सामाजिक सञ्जालमा आफूले नृत्यका नयाँ तरिकाहरू सिर्जना गरिरहेका छन्। जुनसुकै गीतहरूमा पनि सहजै विभिन्न विधाका भिन्न प्रकारका नृत्य तथा अभिनय प्रस्तुत गर्न सक्ने गिरीलाई टिकटकमा धेरैले पछ्याइरहेका छन्। गिरी देश–विदेशबाट आफ्नो प्रशंसा भएकोमा खुसी व्यक्त गर्दै यसले आफूलाई नृत्य प्रस्तुत गर्न थप हौसला मिलेको बताउँछन्। उनले आफ्नै शब्द रचना तथा स्वरमा गीति एल्बमसमेत निकालेका छन्।
केही वर्षअघि मात्र लैंगिक तथा सामाजिक विभेद अन्त्यका लागि विधिपूर्वक ‘मित–मितिनी’ को सम्बन्ध जोडेर गिरीले चर्चा बटुलेका थिए। यिनै गिरी नृत्य कलामार्फत राष्ट्र र आफूलाई विश्वमा चिनिने सपनामा छन्। ‘म आफ्नो यो नृत्यकलालाई ‘गिनिज बुक अफ वल्र्ड’मा दर्ज गराएर विश्वसामु नेपाललाई चिनाउन चाहन्छु, यो भिन्न प्रकारको नृत्यकलाबाट नेपाललाई विश्वसामु चिनाउँदा नेपाल राष्ट्रको छवि उच्च हुनेछ,’ उनी भन्छन्।
प्रकाशित: १२ वैशाख २०८३ १०:२१ शनिबार





